पोखरा: मादी गाउँपालिका वडा नं १ अन्तर्गत रहेको सुन्दर पर्यटकीय गाउँ खिलाङको चिनारी म्युजिक भिडियो विमोचन गरिएको छ । पोखरा ११ फुलबारीमा रहेको खिलाङ तमु समाज घरमा बुधवार मादी गाउँपालिका प्रमुख वेद बहादुर गुरुङ ‘श्याम’ ले म्युजिक भिडियोको विमोचन गर्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका प्रमुख गुरुङले यस किसिमका चिनारी म्युजिक भिडियोको निर्माणले ग्रामिण पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने बताउनुहुदै निर्माण समितिलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो ।
गुरुङले ५/६ मिनेटको भिडियोमा समग्र खिलाङ गाउँको मौलिक सांस्कृति, प्राकृतिक सौन्दर्य, कृषि लगायत सम्पूर्ण विषयलाई समेट्ने प्रयास गरिएको भन्दै भिडियो निर्देशक नौ जंग गुरुङको तारिफ गर्नुभयो । उहाँले भन्नुभयो ” ५/६ मिनेटको भिडियोमा हरेक व्यक्तिको अनुहार हेर्न थालिएमा अनेक त्रुटी भेटिन्छन तर यस भिडियोले समग्र खिलाङको मौलिकता, प्राकृतिक सौन्दर्य लगायत सम्पूर्ण विषय समेट्ने प्रयास भएको छ यसका लागि म निर्देशक नौ जंग गुरुङ, सहित सम्पूर्ण टिमलाई बधाई दिन चाहान्छु ।
फरक प्रसङ्गमा उहाँले खिलाङ गाउँको विकासका लागि संघ, प्रदेश तथा स्थानीय गरि तिनै तहको सरकार लागि परेको दावी गर्नुभयो । सो अवसरमा उहाँले हाल काहुँखोला सिक्लेस ग्रामिण सडक अन्तर्गत विजयपुर खोलादेखि थाकको उकालो सम्म १० किमी सडक कालोपत्रेका लागि काम अघि बढिरहेकोमा फेरी संघ र प्रदेश सरकारको समपुरक बजेट मार्फत अर्को १० किमीका लागि पनि बजेट पारित भएको जानकारी दिनुभयो । गाउँपालिका प्रमुख गुरुङले सोंधा, क्रिशी हुदै खिलाङ गाउँसम्म पुग्ने शाखा सडकका लागि पनि गाउँपालिका मार्फत यस वर्ष पनि काम हुने बताउनुभयो ।
कार्यक्रममा मादी १ का वडा सदस्य टिकाराम गुरुङले गाउँ चिनारी गीत निर्माणले खिलाङ गाउँलाई देश विदेशमा चिनाउन मद्दत गर्ने बताउनुहुदै निर्माण टिमलाई बधाई दिनुभयो । वडा सदस्य गुरुङले आफु स्वयम खिलाङवासी नै भएकाले यस गाउँमा पर्यटन प्रवर्धनका लागि तिनै तहका सरकारबाट भएका प्रयासहरु बारे जानकारी सहित धन्यवाद व्यक्त गर्नुभयो ।
चिनारी म्युजिक भिडियो निर्देशक नौ जंग गुरुङले आफ्नै जन्म गाउँको प्रचारप्रसारका लागि निर्मित भिडियो निर्देशन गर्ने अवसर पाएकोमा खुशी लागेको बताउनुहुदै भिडियो निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।
यस अघि कार्यक्रममा भिडियो निर्माण टिमका सदस्यहरुलाई प्रशंसापत्र र खादाले सम्मान गरिएको थियो । चिनारी गीतमा शब्द संगीत कृष्ण कुमार गुरुङ, स्वर रजनी रिदम राई, म्युजिक भिडियो निर्देशन नौ जंग गुरुङ, नृत्य निर्देशन गोरे गुरुङ, सह नृत्य निर्देशन युवराज गुरुङ, छायांकन तथा सम्पादन सन्तोष कोन्मे, सह छायांकन टेकमान गुरुङ, मुख्य मोडेल सिर्जना गुरुङ र मुख्य लाइट मेन आशिस गुरुङ, रहेको निर्देशक नौ जंग गुरुङले जानकारी दिनुभयो । गीत रेकार्डिंग भकारी फ्लिम्समा गरिएको हो । निर्देशक गुरुङका अनुसार म्युजिक भिडियो युट्युबमा कोन्मे इन्टरटेन्मेंटको च्यानलमा राखिने छ ।