Homeसमाचार | NEWSप्रबास | NRNसहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीप गुरुङ एमबीई अवार्डबाट सम्मानित

सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीप गुरुङ एमबीई अवार्डबाट सम्मानित

लन्डन २४ असोज । सहारा यूकेका पूर्वअध्यक्ष एवं समाजसेवी दिलीपकुमार गुरुङ अर्डर अफ् द ब्रिटिस एम्पायर (एमबीई) अवार्डबाट सम्मानित भएका छन् ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदान पुर्‍याएबापत पूर्वगोर्खा सैनिक गुरुङ शुक्रबार साँझ सम्मानित हुने सूचीमा परेका हुन् । इन्टेक १९८३ मा भर्ती भएका आर्मी नम्बर २११६५८१८ कलर सार्जेन्ट गुरुङले २० वर्ष सेवा गरेका थिए । उनी २/२ गोर्खा राइफल्स हुन् ।

सैनिक सेवाबाट अवकाशपछि सामाजिक सेवामा खटिरहेका गुरुङ कोल्माबहाकोट समाज यूकेका अध्यक्षसमेत बनिसकेका छन् । उनी पोखरास्थित सहारा नेपालका पनि मानार्थ सदस्य छन् । मड्किन भञ्‍ज्याङ कल्चर म्युजियमको डाइरेक्टर दिलीप गुरुङ द गोर्खा होटल रेस्टुरेन्ट एन्ड पप ब्ल्याक पुलका म्यानेजिङ डाइरेक्टर छन् ।

द गोर्खा होटल रेस्टुरेन्टबाटै उनले कोरोना भाइरस नियन्त्रणका लागि बेलायतभर लगाइएको लकडाउनमा भिक्टोरिया हस्पिटल ब्ल्याक पुलमा दुई महिनासम्म नि:शुल्क खाना खुवाएका थिए । अहिलेसम्म पनि एनएचएसका सबै सदस्य र कर्मचारीलाई दिलीप गुरुङले आफ्नो रेस्टुरेन्टमा विशेष छुट दिइरहेका छन् ।

करिब १५ वर्षदेखि ब्ल्याक पुलमा सामाजिक काम सक्रिय गुरुङ स्थानीय समुदाय र काउन्सिलमा प्रख्यात छन् । उनले ब्ल्याक पुलमा १० किलोमिटरको च्यारिटी दौडमा पनि १० पटकभन्दा बढी भाग लिइसकेका छन् । ब्ल्याकपुलमा सानोदेखि ठूला च्यारिटीमा सधैं सक्रिय उनी डोनाज्स ड्रिम हाउस च्यारिटीमा पनि सक्रिय थिए भने आफ्नै रेस्टुरेन्टमा पनि पटक-पटक च्यारिटी गर्दै आइरहेका छन् ।

नेपालमा स्याङ्जा जिल्ला कोल्मा बहाकोट पुर्ख्यौली घर भई हाल बेलायतमा व्यवसायरत गुरुङलाई ‘बेलायत र बाहिर रहेका नेपाली समुदायको सेवाका लागि’ सो सम्मान दिइएको हो । उनले आफ्नो निजी लगानीमा स्याङ्जास्थित आफ्नै घरमा सांस्कृतिक संग्रहालय स्थापना गरेका छन् । गाउँघरमा पुराना सामग्रीहरुको संकलन गरिएको सो संग्रहालयमा प्रवेश नि:शुल्क गराइएको छ । स्याङजामै उनले युवा वर्गलाई सक्रिय राख्न फुटसल स्थापना गरेका छन् । पहाडमा ठूला ठूला मैदानको अभाव हुने भएकाले फुटसल प्रभावकारी हुने उनको बुझाइ छ । यस्तै, बिरुवा गाउँपालिका ओरष्टेमा स्वास्थ्य केन्द्र पनि निर्माण गरिरहेका छन् ।

महारानीको जन्मोत्सवका अवसरमा कुल १ हजार ४९५ जनालाई दिइएको सम्मानमा पर्ने उनी एक्लो नेपाली मूलका व्यक्ति हुन् । बेलायत सरकारकाअनुसार यस वर्ष ५३७ जनालाई ब्रिटिस एम्पायर मेडल (बीइएम), ५६१ जनालाई मेम्बर अर्डर अफ ब्रिटिस एम्पाएर (एमबीई) र २६० जनालाई अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (ओबीई) दिइएको छ ।

 संभार : Gurkha Media

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments