बेलायतमा रामबाबु गुरुङ निर्देशित कबड्डी ४ प्रदर्शन गरिने
लन्डन ८ मे २०२२ । २७ मेदेखि विश्वव्यापी प्रदर्शन हुन लागेको रामबाबु गुरुङ निर्देशित नेपाली सिक्वेल मूभी ‘कबड्डी ४’ बेलायतमा प्रदर्शन गरिने भएको छ ।
बेलायतका लागि आधिकारिक वितरक जी ९ इन्टरटेनमेन्ट्स, हयाब अ मोमेन्ट र के टु एसले ल्याएको कबड्डी ४ अल्डरसटस्थित प्रिन्सेस हलमा २७ मे दिउँसो प्रिमियर शो हुँदैछ । फिल्मको अत्यधिक डिमाण्डका कारण सोही दिन दुई शो राखिएको आयोजक प्रशान्त राईले जानकारी दिए । दिउसो ४ बजे शुरु हुने पहिलो शोको टिकट सोल्ड आउट भइसकेको छ । दोश्रो शो सांझ ८ बजेबाट शुरु हुनेछ ।
कोभिड महामारीपछि बेलायतमा हलमै नेपाली फिल्म प्रिमियर शो हुन लागेको यो पहिलो हो । राईले दर्शकहरुलाई थप मनोरन्जन दिलाउन शोपछि ‘आफ्टर पार्टी’ समेत राखिएको बताए । वाटरमेलन मोर्गेजेज यूकेको मुख्य प्रायोजक छ । बेलायतका अन्य शहरमा पनि उक्त फिल्म देखाउने आयोजकको योजना छ ।
चौथो सिक्वेलमा निर्माण भएको कबड्डी ४ लाई ‘द फाइनल म्याच’ भनिएको छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, माओत्से गुरुङ, कमलमणी नेपाल र स्व. जयनन्द लामाको मुख्य भूमिका छ । नायिका मिरुना र गौमाया बेलायतवासी कलाकार हुन् । विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले फिल्म निर्माण गरेका हुन् । लेखन निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको छ ।