हङकङ — नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस हङकङमा भव्यताका साथ सम्पन्न भएको छ। विभिन्न नेपाली आदिवासी जनजाति समुदायको मौलिक संस्कृति, पहिचान, भाषा, परम्परा र अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा हङकङमा रहेका विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, कलाकार तथा नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो।
आइतबार, २३ अगस्ट २०२६ मा जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्ट एन्ड बार, २३३–२३९ नाथन रोड मा आयोजित कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष एम.बी. थापा मगरले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रेम येक्तेन लिम्बू रहनु भएको थियो। येक्तेन किरात याक्थुङ चुम्लुङका केन्द्रीय निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार, लिम्बु विद्यार्थी मञ्चका पूर्व अध्यक्ष, राजनीति शास्त्रमा एम.ए. गोल्ड मेडलिस्ट, त्रिभुवन विश्वविद्यालयका सहायक उपप्राध्यापक तथा राजनीति शास्त्रका पीएचडी स्कलर हुनुका साथै नो कोशी आन्दोलनका अग्रणी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ।
कार्यक्रममा नेपाल सरकारका हङकङस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत शतिस गुरुङ, डिस्ट्रिक्ट काउन्सिलर बेनी योङ, डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ, गैरआवासीय नेपाली संघ हङकङका प्रतिनिधि विश्वनाथ घिसिङ, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष शशि मदन राई, नेपाली महासंघ हङकङका प्रतिनिधि भवेन्द्र थाम्सुहाङ लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ हङकङका संरक्षक भूपेन्द्र चेम्जोङ, कार्यक्रम संयोजक दुर्गा गुरुङ ‘मिलन’, संस्थाका सल्लाहकार तथा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष खड्कबहादुर राई, इन्डियन भूतपूर्व सैनिक संघका अध्यक्ष दुर्यधन ओख्राबु, नव बुद्ध धर्म सेन्टर गुम्बा हङकङका अध्यक्ष पदमकुमार गुरुङ, उर्गेन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टर हङकङका अध्यक्ष कमला गुरुङ तथा सम्बोधि ज्ञान प्रभा धर्म संघ हङकङका अध्यक्ष भवेश घिसिङ लगायतको सहभागिता थियो।
कार्यक्रममा हङकङमा सक्रिय विभिन्न आदिवासी जनजाति संस्थाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो। किरात राई यायोक्खा हङकङ, तमु ट्हो ह्युला हङकङ, किरात याक्थुङ चुम्लुङ हङकङ, तामाङ घेदुङ संघ हङकङ, शेर्पा किदुक हङकङ, किरात याक्खा छुम्मा हङकङ, सुनुवार समाज हङकङ, दुरा समाज हङकङ, थकाली समाज हङकङ, नेवार समाज हङकङ तथा आदिवासी जनजाति युवा संघ हङकङका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष प्रेम लामाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सह–उद्घोषण हाङ चेम्जोङले गर्नुभएको थियो। कार्यक्रममा आदिवासी जनजाति समुदायको मौलिक पहिचान, संस्कृति र अधिकारको संरक्षणका विषयमा शुभकामना तथा मन्तव्यहरू प्रस्तुत गरिएको थियो।
समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। आदिवासी वर्ष चेली २०२५ का रूपमा श्रीकुमारी गुरुङ (माया) आदिवासी वर्ष पुरुष २०२६ का रूपमा हरिशंकर श्रेष्ठ तथा आदिवासी महिला वर्ष चेली २०२६ का रूपमा उषा तुलाचन लाई सम्मान गरिएको थियो। साथै नेपाल सरकार, नेपाली महावाणिज्यदूतावास हङकङका कार्यवाहक महावाणिज्यदूत शतिस गुरुङलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रेम येक्तेन लिम्बू सहित अन्य विशिष्ट व्यक्तित्वहरूको सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले आदिवासी जनजाति समुदायको सामाजिक, सांस्कृतिक तथा सार्वजनिक क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई प्रोत्साहन र सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित लोकदोहोरी गायिका चिना थापा मगर र लोकगायक ओम गुरुङले सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूको प्रस्तुति तथा विभिन्न जातीय समुदायका मौलिक भेषभूषा र सांस्कृतिक झाँकीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र सांस्कृतिक रूपमा समृद्ध बनाएको थियो।
विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको पहिचान, अधिकार, भाषा, संस्कृति, परम्परा र आत्मसम्मानको संरक्षण तथा प्रवर्द्धनका लागि साझा आवाज उठाउने अवसर प्रदान गर्दै आएको छ। हङकङमा आयोजित यस कार्यक्रमले पनि विभिन्न आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक सद्भावलाई थप मजबुत बनाएको आयोजकको विश्वास छ।
नेपाल आदिवासी जनजाति महासंघ हङकङले आगामी दिनमा पनि हङकङमा रहेका नेपाली आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरणका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
यस लाई भब्य रुपमा सम्पन्न को लागि नेपाल आदिवासी जनजाती महासंघ हङकङका सल्लाहकार दुर्गा गुरुङ (मिलन) ले यस कार्यक्रम लाई संयोजक रुपमा संयोजन गर्नु भएको थियो ।


