Homeसमाचार | NEWSनेपाल | NEPALतमू (गुरुङ) सञ्चारकर्मी संघले सुरु गर्याे आपत्कालिन कोष

तमू (गुरुङ) सञ्चारकर्मी संघले सुरु गर्याे आपत्कालिन कोष

पाेखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपाल (एटजोन) ले कोभिड १९ महामारीबाट समस्यामा परेका आफ्ना सदस्यहरुलाई सहयोग गर्ने उदेश्यले आपत्कालिन कोषको स्थापना गरेको छ ।

सोमबार भएको एटजोन कार्यसमितिको भर्चुअल बैठकले कोभिड १९ महामारीबाट आफ्ना सदस्यहरुमा परेको समस्याको पहिचान गरी आवश्यक्ताअनुसार सहयोग गर्ने निर्णय गरेको हो । कोषका लागि सोमबार नै तमू बौद्ध सेवा समितिले २० हजार सहयोग प्रदान गरिसकेको छ ।

बैठकले कोषमा एटजोनको तर्फबाट थप २० हजार थप्ने निर्णय पनि गरेको छ । यससँगै एटजोनले स्थापना गरेको आपत्कालिन कोषमा ४० हजार जुटिसकेको छ ।

कोषका लागि थप आर्थिक सहयोग जुटाउन इच्छुक संघ संस्था र व्यक्तीहरुमा आह्वान गरिने अध्यक्ष रबिन गुरुङले जानकारी दिए । ‘कोभिड १९ महामारीबाट अहिले सबै क्षेत्र संकटमा छ । पत्रकारिता क्षेत्रमा पनि यसको गहिरो संकटको संकेत देखिन थालेको छ’, उनले भने, ‘हामी गुरुङ कूलमा जन्मिएर पत्रकारिता पेसामा संलग्न पत्रकारहरुको छाता संगठन भएका नाताले पनि हाम्रा सदस्यहरुलाई यो संकटको समयमा सहयोग गर्ने उदेश्यले कोष स्थापना गर्ने निर्णय भएको छ । कोषमा केही रकम जुटिसकेको छ । अझ बढाउन इच्छुक संघ संस्था र व्यक्तित्वहरुमा आह्वान गर्ने छौं ।’

एटजोनले आफ्ना सदस्यहरुलाई तत्काल र दिर्घकालिन रुपमा सहयोग गर्ने गरी सहयोग संकलन सुरु गरिएको जनाएको छ । ‘कोभिड १९ महामारीको यो संकट चाढै समाप्त हुने अवस्था छैन’, एटजोनका उपाध्यक्ष लाला गुरुङले भने, ‘त्यसलै हामीले तत्काल समस्या ब्यहोरिरहेका र दिर्घकालमा आउन सक्ने समस्याका लागि सहयोग पु¥याउने गरी अभियान सुरु गरेका छौं ।’

एटजोनले कोषमा रकम बृद्धि गर्ने अभियानसँगै समस्यामा परेका पत्रकारहरुको पहिचानको काम पनि थालिएको जनाएको छ । त्यसका लागि अध्यक्ष रबिन गुरुङकै नेतृत्वमा कार्यसमितिका सबै पदाधिकारी रहने गरी समिति बनाइएको छ ।

‘अध्यक्ष ज्यू कै नेतृत्वमा रहेर कार्यसमितिका सबै पदाधिकारीहरुले समस्यामा परेका पत्रकारहरुको सूची तयार पार्ने छौं’, एनजोनकी महासचिव रोश्नी गुरुङले भनिन्, ‘हामी सबै जिल्ला र सबै मिडियामा कार्यरत रहनु भएका पत्रकारको अवस्था बुझ्ने प्रयास गर्ने छौं । यदि कसैलाई समस्या परेको छ भने स्वत स्फूर्त रुपमा हामीलाई खबर गर्न पनि अनुरोध गर्दछौं । त्यसपछि उहाँहरुलाई सहयोग उपलब्ध गराउने छौं ।’ एटजोनले कोभिड १९ महामारीबाट सिर्जित यो संकटको अवस्थामा आफ्ना सदस्यहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा आफ्ना सल्लाहकार, पूर्वअध्यक्षहरु र अन्य अग्रज पत्रकारहरुसँग परामर्श गरेको थियो । उहाहरुसँगको परामर्शअनुसार नै सहयोग अभियान सुरु गरिएको एटजोनले जनाएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments