नेपाल ह्याण्डबलको राष्ट्रिय टिमको हाई अल्टिच्यूड ट्रेनिङ म्याग्दीमा सम्पन्न
टोड्के हिल /मणी गुरुङ /१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुने नेपाली राष्ट्रिय ह्याण्डवल खेलाडी टोलीले म्याग्दीको टोड्के हिलमा २४०० मिटर हाई अल्टिच्यूड ट्रेनिङ गरेको छ । सागमा सहभागि हुने नेपाली राष्ट्रिय टिमका महिला तथा पुरुषका ह्याण्डवल खेलाडीहरुको टोलीलाई ४ दिनको लागि म्याग्दीको टोड्केमा हाई हल्टिच्यूट ट्रेनिङ गरेको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङ बताए ।

पोखरामा बन्द प्रशिक्षणमा रहेको उक्त टोली विहिबार पोखरा देखि पर्वत हुदै म्याग्दी प्रस्थान गरेको हो । उक्त टोलीलाई ७५ प्रतिशत मानसिक रुपमा मनोविज्ञान सम्बन्धि र २५ प्रतिशत शारीरिक रुपमा प्रशिक्षण गराएको अध्यक्ष गुरुङले जनाए ।
महिला र पुरुषतर्फ १६/१६ जना खेलाडी, प्रशिक्षक, व्याबस्थापक, अध्यक्ष गुरुङ र फोटो पत्रकार मणी गुरुङ सहितको ४३ जनाको टोली म्याग्दी सिंगाको तातोपानी हुदै टोड्केमा प्रशिक्षण गर्ने म्याग्दी प्रस्थान गरेको थियो । नेपाल ह्याण्डबल संघका उपाध्यक्ष जिवन बस्नेत, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, बरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, प्रशिक्षक कृष्ण शाक्य लगायतका टोलीमा सहभागि भएका थिए।
खेलाडीहरुको टोलीलाई भिजनरी इन्टरनेश्नलका प्रमुख कार्यकारी अधिकृत एवं मनोविज्ञ इन्द्र बहादुर गुरुङले मनोविज्ञान सम्वन्धि प्रशिक्षण गराएको थियो । उनको साथमा क्लिनिकल साइकोलोजीष्ट राजेश्वरी श्रेष्ठ (गुरुङ) ले समेत खेलाडीहरुको मानसिक रुपमा मजबुद पार्न प्रशिक्षण गराएकी थिईन ।
खेलाडीहरुको लागि शारीरिक रुपसंगै मानसिक रुपमा तयारी हुन अति नै आवश्यक भएको मनोविज्ञ इन्द्र बहादुर गुरुङले बताए । नेपाली धेरै खेलाडीहरुमा आफुमा रहेको मानसिक तनावलाई व्यबस्थापन गर्ने कलाको अभाव भएको उनले जनाए । खेलाडीसंगै अन्य मानिसहरुमा समेत तनाव हटाउने कला आवश्यक भएको मनोविज्ञ गुरुङले जनाए ।
आउँदो मंसिर १५ देखि २४ गते सम्म पोखरामा १३ औं साग अन्तरगत ह्याण्डबल महिला र पुरुष सहित ९ वटा खेलहरु हुने भएकाछन् ।
उक्त ४३ जना खेलाडी र प्रशिक्षकहरुको समुहलाई टोड्के हिलमा खाना, बस्न र प्रशिक्षणका ब्यबस्थापन टोड्के हिल रिसोर्टले गरेका थिए | प्रशिक्षणको अन्तिम दिनमा रिसोर्टका अध्यक्ष मिन बहादुर पाइजा मगर र निर्देशक भीम शेरचनले म्याग्दी जिल्लामा ५० बर्ष उमेर पुगेका भूपू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई स्वागत तथा सम्मान गरेका थिए | झी गाउँका स्थानीय बासीहरुले खेलाडीहरुलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए | उक्त सांस्कृतिक कार्यक्रममा राष्ट्रिय महिला ह्यान्डबल खेलाडीहरुले पनि आफ्ना सामुहिक नृत्य प्रस्तुत गरेका थिए |
