कास्कीमा अपाङ्गता भएका युवतीहरूलाई एक दिने नेतृत्व प्रशिक्षण
३ जेठ २०८२
एक्सेस प्लानेट संस्थाले कास्कीका अपाङ्गता भएका युवतीहरूलाई सशक्तिकरण गर्न एक दिने नेतृत्व प्रशिक्षण सञ्चालन गरेको छ। गण्डकी प्रदेश परियोजना अन्तर्गत यो प्रशिक्षण आयोजना गरिएको हो भनी परियोजना संयोजक सजना गुरुङले जानकारी दिनुभयो।
वैशाख महिनाको दोस्रो साता आयोजना गरिएको यस प्रशिक्षणमा अपाङ्गता भएका युवतीहरूलाई नेतृत्व क्षमता र कानुनी साक्षरतासम्बन्धी ज्ञान दिइएको थियो। प्रशिक्षकहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नुभयोः रोमी गुरुङले नेतृत्व र समूह निर्माण, मनिका थापाले लैङ्गिकता र लैङ्गिक पहिचान, बन्धना गुरुङले महिलावाद र अन्जु बरालले अपाङ्गता भएका व्यक्तिको अधिकार (संविधान र ऐन २०७४) बारे प्रशिक्षण दिनुभयो।
यस कार्यक्रममा विभिन्न कलेजका छात्राहरू सहभागी भएका थिए। उनीहरूले यस्ता प्रशिक्षणहरू नियमित रूपमा आयोजना गर्न सरकारको पनि दायित्व रहेको बताउँदै आवश्यकतामा यस्तै कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
एक्सेस प्लानेट संस्थाले आत्मनिर्भर बन्न विभिन्न प्रशिक्षणहरू र नेतृत्व विकासका कार्यक्रमहरू निरन्तरता दिँदै आएको छ र भविष्यमा पनि यसलाई जारी राख्ने योजना रहेको छ।
