दोहोरी गीत प्रतिष्ठानको शुभकामना आदान प्रदान
श्याम कुवँर / पोखरा, २८ असोज
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले विजया दशमीको अवसरमा बुधबार शुभकामना आदानप्रदान बधाई ज्ञापन तथा सम्मान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कलाकार कल्याणकारी कोषको लागि १ लाख ७१ हजार प्रदान गर्ने प्रतिष्ठानका सल्लाहाकार चन्द्र खत्री, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, युनाइटेड क्लब पोखराका अध्यक्ष राजु श्रेष्ठ, नेपाल केम्पो खुकुरी मार्सल आर्ट्सका उपाध्यक्ष दिलमाया गुरुङ, गुरुङ, केन्द्रीय सचिव सुरेन्द्र गुरुङ, फिल्म एशोशिएशनका अध्यक्ष भोजबहादुर गुरुङ लगायतलाई सम्मान तथा बधाई ज्ञापन गरिएको हो । ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकालीकोतर्फबाट दृष्टिबिहीन २०जना कलाकारलाई दशै खर्च स्वरुप जनही ३ हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरियो । पोखरामा भएको प्रतिष्ठानको ७ औ केन्द्रीय महाधिवेशनलाई आर्थिक सहयोग गर्ने महानुभावलाई समेत कदरपत्र वितरण गरियो । कार्यक्रममा एभरेष्ट पोखरा लोक दोहोरी ताराका विजेता मिना बुढाथोकी लगायतका कलाकारलाई सम्मान समेत गरिएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले लोक दोहोरी कलाकारहरुलाई समय परिस्थिति अनुसार चल्न सुझाव दिए । सिंहदरबार समेत छिर्न नपाएको अवस्थामा अग्रज कलाकारहरुलाई राजपत्रांकित सरहको परिचयपत्र प्रदान गर्न थालेको जानकारी दिदै उनले मान्यताप्राप्त संगीतालय खोल्ने देखि प्रतिष्ठानलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न लागेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीले गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले बनाउने संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा क्षमतावान कलाकारलाई स्थान दिनु पर्ने सुझाव दिए । उनले कल्याणकारी कोषमा नीतिगत व्यवस्था गरेर संस्थागत रुपमा कलकारलाई सम्बोधन गर्ने जानकारी दिए ।
प्रतिष्ठानका गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले प्रदेश समितिले कलाकार कल्याणकारी कोषलाई बढाएर ११ लाख ३२ हजार पुर्याएको बताए । उनले प्रतिष्ठानले ३ चरणमा गरेर १ सय ५३ कलाकारलाई ७ लाख बराबरको राहत वितरण गरेको जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष पुर्ण परियार, सचिव राजन कार्कीले प्रतिष्ठानले दोहोरीका चुनौती, विकृति विसंगति न्युनिकरण देखि जग्गा खरिद गरेर भवन निर्माण गर्न लागेको बताए ।
कार्यक्रमका सम्पूर्ण फोटोहरु हेर्न
मणी गुरुङ भिडीयो एण्ड फोटोग्राफी(Mani Gurung Video & Photography)
फेसबुक पेजमा जानु होला |