पर्वत जिल्लामा निशुल्क आँखा शिविर सञ्चालन सहयोगार्थ हङकङमा दोश्रो पर्वत साँझ २०२४ हुने !
१२ बैशाख २०८१, पोखरा ।
यहि २१ अप्रिल आइतबार किँरात याख्थुङ चुम्लुङ हिम (बुढो पार्क) जोर्डनको सभा हलमा आयोजित जानकारी सभा मार्फत पर्वत जिल्लामा निशुल्क आँखा शिविर सञ्चालन सहयोगार्थ हङकङमा दोश्रो पर्वत साँझ कार्यक्रम हुने भएको छ ।
पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ (मिलन) को अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई प्रमुख अतिथी संस्थाका पूर्व सल्लाहकार संयोजक मिन बहादुर गुरुङ र विशेष अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङद्धारा संयुक्तरूपमा दीप प्रज्ववलन गरी उद्घाटन भएको हो ।
कार्यक्रममा विशेष अथितीको रुपमा हङकङ नेपाली महासंघ हङकङका अध्यक्ष रिता गुरुङ, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बिशन गुरुङ, काजी कुमार गुरुङ, श्याम प्रसाद गुरुङ, सल्लाहाकारहरुमा धर्म गुरु देवीरास गुरुङ, तिर्थ राज गुरुङ, मनोज गुरुङ, नेपाली जनप्रगतिशिल मञ्च हङकङका अध्यक्ष हरि प्रसाद गुरुङ “हरिन्द्र”, पर्वत क्लव हङकङका अध्यक्ष काजीमान गुरुङ लगायत हङकङमा रहेका पर्वतेली बिभिन्न संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु, आर्थर डाँडाखर्क सहयोग सेवा समितिका अध्यक्ष सुरेन्द्र गुरुङ, चार भञ्ज्याङ तमु समाज हङकङका अध्यक्ष तारा प्रसाद गुरुङ, पंचासे सहयोग समिति हङकङका अध्यक्ष तिलक गुरुङ, पैयुँखोला समाज हङकङका प्रतिनिधी खुम गुरुङ, दुर्लुङ सम्पर्क मंच हङकङका प्रतिनिधी देव राजन गुरुङ, देउपुर देउराली समाजका अध्यक्ष स्वर्ग गुरुङ, भुक समाज हङकङका अध्यक्ष पदम बहादुर गुरुङ, बाजुङ समाजका अध्यक्ष गोपाल गुरुङ, पर्वत पुन मगर समाज हङकङका अध्यक्ष समरस पुनमगर, तमु समाज हङकङका संस्थापक अध्यक्ष तथा संरक्षक सफल युवा ब्यवसायी कमल गुरुङ (स्याङजाली कान्छा), क्लाइमेक्स आर एवं चलचित्रका नायक तथा निर्देशक सुवास गुरुङ, तमु समाजका अध्यक्ष नरेन्द्र गुरुङ, तनहुँ समाजका प्रथम उपाध्यक्ष रोशन गुरुङ, लाङघाली कल्याण समाज हङकङका अध्यक्ष निलम थापा, गुरुङ चलचित्र निर्माता मार्कलीका रक्षा गुरुङ, गुरुङ फिल्म एशोसियसन हङकङका उपाध्यक्ष नायक कलाकार ओम गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघका प्रतिनिधी सुर्य गुरुङ, मगर संघ हङकङका अध्यक्ष याम बहादुर बुढाथोकी मगर लगायत अथितीहरुको उपस्थिती रहेको उक्त जानकारी सभालाई उपाध्यक्ष तथा कार्यक्रम संयोजक भिम गुरुङ (कान्छा) ले स्वागत र महासचिव आश गुरुङले सञ्चालन गरेका थिए ।
गत आइतबार आयोजित जानकारी सभामा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ “मिलन” ले आफू सचिव हुँदा सन २०१२ मा पनि यस्तै कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको स्मरण गराउँदै अहिले १२ वर्षपछि पुनः कार्यक्रम हुन लागेको निशुल्क आँखा शिविर सञ्चालन सहयोगार्थ दोश्रो पर्वत साँझ २०२४ कार्यक्रम पनि मानव कल्याणका लागि आयोजना गरिने हुँदा हङकङ लगायत विश्वभर छरिएर रहेका पर्वतेहरुलाई सहभागी जनाइ कार्यक्रमलाई सफल पारिदिन अपिल गरेको छ ।
प्रमुख अतिथी संस्थाको पूर्व संयोजक, वर्तमान सल्लाहकार मीन बहादुर गुरुङले आम नागरिकको बृहत्तर हितका लागि कार्यक्रमको आयोजना गर्न लागिएकोमा प्रशंसा गर्दै सबै पर्वतेहरुलाई तन, मन र धनले सहयोग गरिदिनुहुन अनुरोध गरेको छ ।
त्यस्तै विशेष अतिथी हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङले यस संस्थाले विगतदेखी नै यस्तै सामाजिक कार्य गर्दै आएकोले यसपटक पनि सफल हुनेमा विश्वास प्रकट गरेकी छिन ।
पर्वत मञ्च हङकङका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भिम बहादुर गुरुङ “कान्छा” को अनुसार उक्त जानकारी सभामै १ लाख ४० हजार हङकङ डलर संकलन भएको बताएको छ ।
पर्वत मञ्च हङकङको आयोजनमा हुने दोश्रो ”पर्वत साँझ २०२४” कार्यक्रम तालिका सहित नेपालबाट आउने कलाकारहरुमा भ्वाईस अफ नेपालका कोच चर्चित गायिका मिलन नेवार, चर्चित लोक गायक बिमलराज क्षेत्री, गायिका एवम् डान्सर पार्वती थापा र गायक जीत बहादुर पुर्जा पुनको प्रस्तुति रहनेछ । त्यसैगरी स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने कुरा आयोजकले बताएको छ ।
तस्बिर : एस के दर्पण, हङकङ
कार्यक्रम ;
मिति : ०९ जुन २०२४
समय : ६:०० बजे (साँझ)
स्थान : यामा ताइ कम्युनिटी हल, हङकङ
आयोजक : पर्वत मञ्च हङकङ ।