Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLEकोरोनाले उब्जाएका प्रश्नहरु…

कोरोनाले उब्जाएका प्रश्नहरु…

रोशन गुरुङ / अहिले विश्वभरी कोरोना भाइरसको त्रास फैलिरहेको अवस्था छ। एकातर्फ सावधानी अपनाउन जरुरी छ भने अर्कातर्फ यसबाट गम्भीर पाठ सिक्न पनि जरुरी छ।

 विश्व मानव जगतमा कोरोनाले के–कस्ता प्रश्नहरु उब्जाएका छन्? हाम्रो जस्तो विविधताले भरिपुर्ण देश नेपालले कस्तो पाठ सिक्न जरुरी छ? यो लेखमा केलाउने प्रयास गर्ने छु।

विश्वप्रति प्रश्न

हामी प्रकृतिको उपज हौं, यस विरुद्ध जान सक्दैनौं। रोग भनेको के हो? रोग कसरी लाग्छ? रिचार्ड लाइबानका अनुसार रोग भनेको प्रकृतिसँग हाम्रो अनुकुल व्यवहारको मापन हो। जति प्रकृतिसँग अनुकुल भयो, उति हामी स्वस्थ हुन्छौं। जति प्रतिकुल भयो, उति रोगी हुन्छौँ। प्रकृतिसँग हाम्रो व्यवहार कस्तो छ? ठीक छ या छैन रोगले संकेत गर्छ। जति वातावरणलाई बिगार्छौं, उति हामी अस्वस्थ हुन्छौँ। रोग अनुकुलताको मापन हो।

कोरोना देखिनु प्रकृति अथवा वातावरणसँग हाम्रो सम्बन्ध अनुकुल छैन भन्ने संकेत हो। सन्तुलनमा छैन भन्ने संकेत हो। वातवरणमा हामीले गडबढी गरिरहेका छौँ भन्ने स्पष्ट संकेत हो। यो गडबढी सबै के को लागि भएको छ? उत्तर हो– विकासको लागि।

के साँच्ची हामीले विकास गरेका छौँ? विकासको बाहनामा विनाश त भइरहेको छैन? विश्वसामु कोरोनाले प्रश्न उब्जाएको छ। विकासको नाममा तछाड्मछाड् हाम्रो व्यवहारप्रति गम्भीर प्रश्न खडा भएको छ। भाइरसको कारण विश्वमा यतिको त्रास यो भन्दा पहिले कहिल्यै थिएन।

अकल्पनीय लकडाउन छ। प्रत्येक घरहरु जेलमा परिणत छन्। मानौँ हामी कैदी हौँ, प्रकृतिमा अत्याचार गरेको सजाय भोगीरहेका छौं। विज्ञान र प्रविधिले ठुलो फड्को मारेको छ। तैपनि सुरक्षित महशुस छैन। के प्रविधिको विकास मात्र सर्वेपरि हो? कोरोनाले प्रश्न उब्जाएको छ। विकासको नाममा हामी कतै दृष्टिविहीन त भएका छैनौँ? खोक्रो हुँदै त छैनौँ? कोरोनाले यो पनि प्रश्न उब्जाएको छ।

आजभन्दा लाखौं वर्ष अघि ढुंगे युग थियो। त्यो युगमा अहिलेको जस्तो विज्ञान र प्रविधिको कुनै विकास थिएन। तैपनि मानिसहरु अहिलेका भन्दा कयौं गुणा स्वस्थ थिए। विकास बाँच्नको लागि हो। विकासले हाम्रो स्वास्थ्य त खोसेको छैन? गम्भीर प्रश्न उब्जाएको छ।
मानवशास्त्री मार्शल शालीनका अनुसार ढुङ्गे युगमा मानिसहरु अहिले भन्दा धेरै समृद्धिशाली थिए। विश्वमा विकास भएको छ कि विनाश? कोरोनाले प्रश्न उब्जाएको छ।

नेपालले सिक्नु पर्ने पाठ

नेपाल विभिन्न जातजातीले भरिपुर्णू देश हो। सबै जातिका आ–आफनै संस्कृति छन्। प्रकृति र मानिसलाई जोड्ने काम संस्कृतिले गर्छ। विकासको नाममा हामी आफ्नो संस्कृति मेटिइरहेका छौं। यसको असर गम्भीर छ। संस्कृति हराउँदा के हुन्छ? बुझ्नुपर्ने कुरा, संस्कृति हराउँदा वातावरणसँगको अनुकूलता गुम्छ। जब अनुकूलता गुम्छ, संकट पैदा हुन्छ। तथाकथित विकासको लागि संस्कृति नाश गर्नु हुँदैन।

गाऊँमा अहिले विकासको लागि घर घरमा डोजर पुगेको छ। डोजरले वातावरणमा कति प्रतिकुल असर गरेको छ हामीलाई हेक्का छैन। नयाँनयाँ प्रविधि भित्रिरहेका छन्। संस्कृतिलाई कस्तो असर गरेको छ, हामीलाई कुनै ख्याल छैन। भविष्यमा कोरोना जस्ता संकटहरुबाट बच्न विविधतायुक्त संस्कृति संरक्षण गर्दै लानुपर्दछ।

यो लेख पढिरहदा पाठकवृन्दमा लाग्न सक्छ, संस्कृतिले वातावरण कसरी संरक्षण गर्छ? म एउटा उदाहरण पेश गर्न चाहन्छु। भांग्रा गुरुङहरुको मौलिक पोसाक हो। सामन्यतः यो झोलाजस्तै सामान राख्न, ओसार्न प्रयोग गरिन्छ। यो भांग्रा नाई पोलो(हिमाली भेगको सिस्नु) ले बनेको हुन्छ।

यो सिस्नु वर्षैपिच्छे जति काट्यो, उति राम्रो पलाउँछ। गुरुङहरुले यो सिस्नु जुन बेला पनि काट्दैनन्। वर्षको एकचोटी दिन हेराएर काट्ने चलन छ। त्यो दिन सबै गाऊँलेहरुलाई काट्न खुल्ला गरिन्छ। अन्य दिनमा निषेध गरिन्छ। यसो गर्दा, एकतर्फ सिस्नु झन् राम्रो भएर हुर्किन पायो। अर्कातर्फ जनसंख्या बढ्दा आवश्यक भांग्रा पनि बनाउन सकियो। जनसंख्या बढ्यो तर वातावरणमा असर परेन। झन संरक्षण भयो।

अन्त्यमा

माथिको केवल एक उदाहरण हो। नेपालका हरेक जातजातिका प्रत्येक संस्कृतिभित्र प्रकृतिलाई संरक्षण गर्ने ज्ञान, सीप, कलाहरु छन्। सबै संस्कृतिभित्रका ती ज्ञान, कलाहरु खोज्नु आजको आवश्यकता हो। प्रकृतिविरुद्धको विकास दिगो हुँदैन। प्रकृति नरहेर मानिस रहने भन्ने हुँदैन। जति हामी प्रकृतिलाई नाश गछौँ, उत्ति प्रकृतिले हाम्रो नाश गर्छ।

कोरोनाले हामीलाई यही पाठ सिकाएको छ। यसको अर्थ, विकास आवश्यक छैन भन्ने होइन। विकासलाई संस्कृतिमैत्री, वातावरणमैत्री बनाउनु पर्दछ भन्ने हो। सबैले आ–आफनो संस्कृति संरक्षण गरौँ। विकासको लागि विनाश नगरौँ। कोरोनाजस्ता संकटबाट टाढा रहौँ।

(लेखक रोशन गुरुङ मानवशास्त्री हुन्)

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

धेरै लोकप्रिय समचार

भर्खरै टिप्पणी गरेको समाचार

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments