स्व. प्रेमा गुरुङको ४९ दिनको पूण्य तिथीमा क्यान्सर पिडितहरुलाई सहयोग
पोखरा | माघ १२ । भूतपूर्व खेलाडी मञ्चका आजिवन सदस्य तथा तमु धीं यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरुङकी धर्मपत्नी स्व. चन्द्रा माया गुरुङ (प्रेमा)को ४९ दिनको पूण्य तिथीको कार्यमा विभिन्न क्यान्सर पिडितहरुलाई नगद सहयोग प्रदान गरिएको छ ।
पोखरा रामघाट स्थित वौद्ध अघौं सदनमा आयोजित कार्यक्रममा क्यान्सर पिडितहरुलाई सहयोग गरिएको हो । तमु धीं युकेकी सल्लाहाकार समेत रहनु भएकी प्रेमाको क्यान्सर रोगका कारण ५० वर्षको उमेरमा वेलायतमा निधन भएको थियो । उहाँको स्मृतीमा आज पोखरामा आयोजित एक कार्यक्रममा काठमाडौं स्थित मुस्कान सेवा केन्द्र अनाथ आश्रमलाई नगद १ लाख प्रदान गरिएको छ ।
त्यसैगरी कास्की मादी १ सिक्लेस निवासी क्यान्सर पिडितहरु बखत बहादुर गुरुङलाई ५० हजार, लमजुङ कर्पुटारका पूर्ण सिंह गुरुङलाई ५० हजार, धादिङका धन वहादुर घलेलाई ५० हजार नगद सहयोग प्रदान गरिएको छ । त्यस्तै वौद्ध अघौं सदन पोखरा शिक्षालयको अक्षयकोषका लागि नगद १८ हजार ७ सय प्रदान गरिएको छ ।
नगद सहयोग गरिएको रकम तमु धीं युके आमा समुहले २ जना क्यान्सर पिडितलाई नगद ५०–५० हजार, अनाथ आश्रमका लागि एक लाख र वौद्ध अर्घाैं सदनको शिक्षलायका लागि १८ हजार ७ सय गरि २ लाख १८ हजार ७ सय प्रदान गरेको छ । उक्त रकम तमु धीं युके आमा समुहकी अध्यक्ष मञ्जु गुरुङको पहलमा दिदी बहिनीहरुबाट संकलन गरिएको हो । त्यस्तै एकजना क्यान्सर पिडितलाई भने स्व. चन्द्राका श्रीमान मिन प्रसाद गुरुङले ५० हजार प्रदान गर्नुभएको छ ।
सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सांसद मान बहादुर गुरुङ, तमु धीं युके आमा समुहकी सल्लाहाकार लक्ष्मी गुरुङ, वौद्ध अर्घौं सदनका प्रमुख लामा श्रीलामा गुरुङ लगाएतले प्राप्त सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा स्व.प्रेमा प्रती श्रद्धाञ्जली व्यक्त गर्नुका साथै उहाँले सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष वेद बहादुर गुरुङ, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङ, सहारा क्लवका अध्यक्ष केशव बहादुर थापा लगाएत अन्य विशिष्ट महानुभावहरुको उपस्थिती रहेको थियो । – पोखरा स्पोर्टस