पोखरा । यहि वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विभिन्न पालिका प्रमुखमा २३ जना र उपप्रमुखमा २९ जना तमूहरु निर्वाचित भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको ७५३ वटा स्थानीय तहको निर्वाचन मत परिणाम अनुसार दुई दर्जन भन्दा बढि तमूहरु विभिन्न पालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्।
मतपरिणाम अनुसार प्रमुखमा सबैभन्दा बढि गण्डकी प्रदेशमा १५ जना तमूहरु पालिका प्रमुखमा निर्वाचित भएका छन् भने त्यसपछि बागमती र कर्णाली प्रदेशमा ३÷३ जना र प्रदेश नं. १ मा २ जना तमूहरु पालिका प्रमुखमा निर्वाचित भएका छन्। अन्य प्रदेशमा भने पालिका प्रमुखमा तमूहरु निर्वाचित भएको देखिदैन।
पार्टीगत रुपमा हेर्दा सबैभन्दा बढि नेपाली काँग्रेसबाट १२ जना तमूहरु निर्वाचित भएका छन् भने एमालेबाट १२ जना, माओवादी केन्द्रबाट २ जना र स्वतन्त्रबाट १ जना तमूले निर्वाचन जितेको छ ।
यद्यपी पालिका प्रमुखमा १ जना पनि तमू महिलाले निर्वाचन जितेको देखिदैन ।
यसैगरी मतपरिणाम अनुसार उपप्रमुखमा सबैभन्दा बढि गण्डकी मै २० जना तमूहरु निर्वाचित भएका छन् भने त्यसपछि प्रदेश नं. १ मा ३ जना, बागमती, कर्णाली र लुम्बिनी प्रदेशमा २÷२ जना तमूहरु पालिका उपप्रमुखमा निर्वाचित भएको देखिन्छ ।
पार्टीगत रुपमा हेर्दा उपप्रमुखमा सबैभन्दा बढि नेकपा एमालेबाट १५ जना तमूहरु निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट ८ जना, नेपाली कांग्रेसबाट ४ जना, नेकपा एकिकृत समाजवादी र स्वतन्त्रबाट १÷१ जना तमूले निर्वाचन जितेको छ ।
मतपरिणामलाई नियाल्दा उपप्रमुखमा २४ जना तमू महिला र ५ जना तमू पुरुषहरुले निर्वाचन जितेको देखिन्छ ।
यसैबिच वडाध्यक्षमा १७९ जना तमूहरु निर्वाचित भएको देखिन्छ भने सबै गरेर देशभर करिब ६ सय जना भन्दा बढि तमूहरु जनप्रतिनिधिमा निर्वाचित भएको देखिन्छ ।