श्याम रानामगर /17, Jeth, 2076
‘म बिना कसै कसैलाई मुस्किल छ, पोखरामा
म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा…’
एकताका यो गीत निकै चर्चित बन्यो । चर्चित मात्रै बनेन, सबैको मुखैमा झुन्डियो । उसो त यो गीतको चर्चा अझै सेलाएको छैन । ‘पोखरा…’ शब्द सुन्ने बित्तिकै जो कोहीले यो गीत झल्यास्स सम्झिन्छन् । अनि, गुनगुनाउँन थाल्छन्, ‘म बिना कसै कसैलाई मुस्किल छ, पोखरामा…’
यो गीतले जसरी चर्चा पायो । यस्का गायक, सर्जक, कम्पोजरले पनि उत्तिकै चर्चा पाए । अझ यो गीतका गायक प्रमोद खेरलले त आफ्नो साँगीतिक करियरलाई सायदै पछाडि फर्केर हेर्नु परेको छ । त्यस्तो कुनै स्टेज प्रोग्राम हुन्न । जहाँ उनले यो गीत अनि सर्जक र कम्पोजरको नाम छुटाउँन् । छुटाउँन खोजे पनि उनको धरै हुन्न । यही गीतको डिमान्ड आइ हाल्छ ।
तर, यो गीतका सर्जक शीतल गिरी भने गुमनाम जस्तै छन् । त्यसपछि उनका गीत खासै सुनिएका छैनन् ।
एउटा गीत चल्नुमा धेरैको हात हुन्छ । लिरिक्स मात्रै राम्रो भएर हुँदैन । कम्पोजिसन राम्रो भएर मात्र पुग्दैन । गायकले राम्रो गाउँनु पर्छ । सर्जकले राम्रो सिर्जना गर्नु पर्छ । कम्पोजरले राम्रो कम्पोज गर्नु पर्छ । सबैको कम्बिनेसन मिल्नु पर्छ । राम्रो प्रमोसन हुनुपर्छ । मिडियामा बज्नु पर्छ । धेरै मान्छेहरु माँझ पुग्नु पर्छ । अनि, पो गीत चर्चित हुन्छ ।
‘म बिना कसैकसैलाई…’को मेकिङ अनुभुति सुनाउँदै उनले भने, ‘यि सबैको राम्रो कम्बिनेसनले नै गीत हिट भएको हो । म बिना कसै कसैलाईको प्रमोसन स्टार्टटेजि नै फरक खालको थियो । त्यसैले पनि राम्रो भयो ।’
‘म बिना कसै कसैलाई..’ रचना गर्भ छुट्टै छ । उच्च शिक्षा अध्ययनका लागि किर्तिपुरमा थिए, उनी । घरदेखि टाढीनु पर्दा घरपरिवार, माया गर्ने मान्छेलाई धेरै मिस गरे । परिवारसँगको त्यही बिछोडलाई उनले शब्दमा उतारे । गीत चर्चित बन्छ भन्नेमा विश्वास थियो, उनलाई । तर, यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन । ‘राम्रो बनेको छ भन्नेमा त ढुक्क थिए । तर, यति धेरै चर्चित हुन्छ भन्ने लागेको थिएन,’ उनले भने ।
सुरुमा त उनलाई यो गीत बनाउँनुपर्छ भन्ने पनि लागेको थिएन । एकाध गजल बाचन कार्यक्रममा बाचन पनि गरे । सबैबाट राम्रो छ भन्ने प्रतिक्रिया पाए । कोही कोहीले गीत बनाउँनुपर्छ भनेर सुझाउँथे पनि । त्यस्तै, ०६२÷६३ तिरको कुरा संगीतकार महेश खड्का र एकजना दाईसँग उनी जन्म घर पोखरा महानगरपालिका २४, कास्कीकोट राती करिब ११ बजेतिर पानीमा भिज्दै पुगे । पुराना दिन सम्झिदै उनले भने, ‘दाईले नै शीतलसँग यस्तो खालको गजल छ भनेर कुरा निकाल्नु भयो महेश दाईले सुनौ न भन्नुभयो । मैले सुनाए । सुनिसकेपछि गीत मन पराउनु भयो । टेबललाई तबला बनाएर म्युजिकको कन्सेप्ट पनि त्यही तयार पार्नुभयो, भिडियो पनि यस्तो यस्तो बनाउँने भनेर कन्सेप्ट बनाउनु भयो ।’
गीत त तयार भयो । तर, समस्या के भई दियो भने कम्पोज अनुसार गाउँन कोही पनि गायक तयार भएनन् । गीत तयार भएको २÷३ वर्षसम्म त यस्सै थन्कियो । पछि, प्रमोद खरेलसम्म कुरा पुगि सकेपछि भोकल गर्न तयार भए । कम्पोजअनुसार भोकल पनि भरे ।
तपाईंको वास्तविक जीवनसँग मेल खाने गीत त होईन नि! रातोपाटीको प्रश्नमा मुस्कुराउँदै उनले भने, ‘म एकदम स्पष्ट बोल्ने मान्छे, तपाईंलाई नलाग्न पनि सक्छ । गीत हिट भई सकेपछि पहिलो पटक बिग एफएममा इन्टरभ्यूको लागि बोलाइएको थियो, मेरो पहिलो इन्टरभ्यू लिने मान्छे सम्झना गिरीसँग मेरो विवाह भयोे ।’
कसैको सिर्जनलाई महिलाको प्रेमसँग मात्र दाँज्न नहुने धारण राख्छन्, शीतल । शीतल आफू भने गीत गाउँदैनन् । तर, गीत÷संगीतको प्रभाव सानै देखि परेको छ । आमाले जाँतो पिन्दा निस्केको आवाज उनलाई संगीतको धुन जस्तै लाग्थ्यो । आमा अबेरसम्म जाँतो पिन्थिन् । उनी जाँतोको आवाज सुनेर निदाउँथे । सायद, त्यही आवाजको मोहले उनलाई सिर्जनको बाटोतर्फ डो¥यायो कि!
रमाईलो प्रसंग त के छ भने रेडियो अन्नपूर्णले त्यतिबेला ‘खोजी प्रतिभा’को भन्ने कार्यक्रम चलाउथ्यो । लहै लहैमा अडिसन दिए । फ्याट्ट, सेलेक्ट पनि भए । तर, उनकै एक जना राम्रो गाउँने साथी भने अडिसनबाटै आउट भए । ‘लहै लहैमा अडिसन दिन गए,’ उनले भने, ‘फ्याट्टै अडिसनमा पनि पास भई हाले । म भन्दा राम्रो गाउँने साथी भने अडिसन पास भएन ।’ यो सबै संयोग जस्तो लाग्छ उनलाई । मान्छेलाई भगवानले नै यो काम गर भनेर पहिलै त्यो किसिमको प्रतिभा दिएर पठाएको विश्वास राख्छन् उनी ।
किर्तिपुरमा केही समय संगीत सिक्छु भनेर पनि कस्सिए । तर, उनले हार्मोनियमको किबोर्ड चलाउँन सकेनन् । जति उनी डायरीका पानामा कलम चलाउँन सक्थे ।
गिरी अचेल बैंकमा जागिरे छन् । तर, सिर्जनशिल क्षेत्रबाट पनि अझै अवकाश लिएका छैनन् । संग्रह नै निकाल्न पुग्ने गीत तयार छन् उन्का । केही समय अघि मुक्तक संग्रह ‘सालिक’ बजारमा ल्याएका छन् । आख्यानमा पनि कलम चलाउँछन् उनी । एउटा आख्यानको पाण्डुलिपि तयार पारि सकेका छन् । सबै क्षेत्रमा कलम चलाए पनि उनलाई सन्तुष्टि मिल्ने विधा भनेको गीत नै हो । उनी स्वय आफूलाई गीतकार भन्न रुचाउँछन् ।
फेरि, यो क्षेत्रमा फर्किन सुझाउँने धेरै छन् उनलाई । ‘फेरि यही क्षेत्रमा फर्किनुपर्छ भन्ने धेरे हुनुहुन्छ,’ उनले भने, ‘आफ्नो करियर पनि हेर्नुपर्यो । गीतसंगीतमा लागेर मात्र पनि पुगेन । तर, अब चाहि छिट्टै कमब्याक गर्ने योजनामा छुँ ।’