नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष एवं कान्तिपुर संवाददाता आश गुरुङ सम्मानित
लमजुङ — पत्रकारिताको माध्ययमबाट ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष एवं कान्तिपुर संवाददाता आश गुरुङलाई सम्मान गरिएको छ ।
गुरुङलाई क्व्होलासोंथर गाउँपालिका ४ पर्यटकीय गाउँ भुजुङमा सोमबारदेखि सुरु भएको भुजुङ पर्यटन महोत्सव २०७६ को उद्घाटन सत्रमा सम्मान गरिएको हो ।
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार गुरुङलाई सम्मानपत्र हस्तान्तरण गर्नु भयो भने क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङले क्रेगी (फेटा) गुथाएर सम्मान गरिन् ।
गुरुङ को सबै भन्दा ठुलो गाउँ भुजुङ ग्रामीण भेगमा जन्मिएर देशविदेशमा पर्यटकीय गाउँको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याएको भन्दै महोत्सवका अवसरमा पत्रकार गुरुङलाई सम्मान गरिएको भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक एवं पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताउनु भयो ।
गाउँको विकास, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा योगदान पुर्याएको भन्दै भुजुङ घर भई हाल हङकङमा रहेका समाजसेवी एवं भुजुङ पर्यटन महोत्सव २०७६ को मुख्य प्रायोजक रामबहादुरलाई क्रेगी (फेटा) गुथाउनुका साथै अल्लोबाट निर्मित सुरुवाल र भेडाको उनद्धारा निर्मित राडी र सम्मानपत्रले सम्मान गरिएको थियो र उहाँको धर्मपत्नी चमेली गुरुङलाई निगालोको चोयाबाट बुनिएको डोकोनाम्लो र स्याखुले सम्मान गरिएको थियो ।
गाउँको पहिलो डाक्टर बनेका खुस्बु गुरुङलाई भुजुङ पर्यटन महोत्सव मुल आयोजक समितिका संयोजक एवं पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले सम्मान गरेका थिए ।