-ई. राेशन थिम्जे तमु
कुनै पनि भाषा यत्तिकै निर्माण हुदैन । त्यसमा सामाजिक सांस्कृतिक कारणहरु हुन्छन् । गुरुङहरुले नेपाली भाषा अशुद्ध बोल्नुलाई हास्यास्पद विषय बनाइन्छ । असक्षमतासंग जोड्ने गरिन्छ । यो कुरा गुरुङहरुलाई आत्मग्लानिको विषय बन्न पुगेको छ । के यो लज्जास्पद कुरा नै हो ? के यो असक्षमता हो ? गुरुङहरु किन शुद्ध बोल्दैनन् होला ? यसको कुनै कारण छ ? के यसमा गुरुङहरुले हिनताबोध गर्नु आवश्यक छ ? के गुरुङहरुले नियतवश नेपाली भाषा बिगार्न अशुद्ध बोलेका हुन् ? यो लेख यिनै प्रश्नहरुमा केन्द्रित हुनेछ ।
अहिले लकडाउनको बेला छ । मलाई यसबारे लेख्न मन थिएन । यो कुराले गुरुङहरु सदियौं बर्ष देखि हिनताबोधको लकडाउनमा छन् । यो लेख उक्त लकडाउन हटाउने प्रयासमा केन्द्रित छ । स्कुलमा होस् या कार्यालयमा । सभा समारोहमा होस् या बैठक, भेटघाटहरुमा । व्यथा उस्तै छ । गुरुङहरु बोल्दा खिसी गरिन्छ । हाँसोको पात्र बनाइन्छ । भाषा बोल्न असक्षम, सुस्त मनस्थितिको रुपमा व्याख्या गरिन्छ । यो बडो दुखद कुरा छ । राज्यको विभेदकारी भाषा निति यसमा जिम्मेवार छ । म अहिले त्यता जान चाहन्नँ । गुरुङहरुले किन अशुद्ध बोल्छन्, यसप्रति ध्यान केन्द्रित गर्न चाहन्छु ।
अशुद्ध भनेको के हो ?
भाषामा अशुद्ध भन्नाले grammar (व्याकरण) नमिल्नु भन्ने बुझिन्छ । यसबाट बुझिन्छ, बोल्दा गुरुङहरुको व्याकरण नमिल्दो रहेछ । समस्या व्याकरणमा देखियो । किन व्याकरण मिल्दैन ? के अनपढ भएर हो ? होइन । अनपढ नै कारण हो भने त पढेलेखेका सबै गुरुङहरुको शुद्ध हुनु पर्ने हो । तर हुदैन । के गुरुङहरु भाषा नै बोल्ने नसक्ने असक्षम मान्छे हुन् त ? किमार्थ होइन । किनकी उनीहरुसंग आफनै मौलिक भाषा छ । शास्त्रीय छ । जसलाई ‘चों क्युई’ भनिन्छ । दैनिक जीवनमा बोल्ने भाषा पनि छ । जसलाई ‘तमु क्युर्ई’ भनिन्छ ।
अर्को मननीय कुरा के हो भने यदि भाषा नै बोल्ने क्षमता हुन्थेन भने गुरुङहरु मान्छे नै हुन सक्ने थिएनन् । जनवारको स्तरमा हुन्थे । भाषाले नै मान्छेलाई मान्छे बनाएको हो । जङ्गली युगबाट मान्छेलाई अहिलेको आधुनिक युगमा ल्याएको भाषाले हो ।
अब प्रश्न उठ्छ, भाषा बोल्ने क्षमता छ, तैपनि किन अशुद्ध भयो ? यसको उत्तर सामान्य छ । तर गहिराईमा छ । यहाँ अशुद्धको कुरा नेपाली भाषाको हो । त्यसैले एकछिन नेपाली व्याकरण तर्पm ध्यान केन्द्रित गर्न चाहन्छु ।
कस्तो छ नेपाली व्याकरण ?
हरेक चीजको आफनै नियम हुन्छ । हरेक भाषाको पनि आफनै नियम हुन्छ । शब्द, ध्वनि, लवज, व्याकरण इत्यादि हुन्छन् । नेपाली व्याकरण अनुसार कर्ताको आधारमा क्रियापद परिवर्तन हुन्छ । कर्ता भन्नाले (म, तँ, तिमी, तपाई) इत्यादि बुझिन्छ । क्रियापद भन्नाले (जान्छु, जान्छस्, जान्छौ, जानुहुन्छ) इत्यादि बुझिन्छ ।
जस्तै, ‘म घर जान्छु ।’ यो शुद्ध हो । ‘तिमी घर जान्छु’ । यो अशुुद्ध हो । ‘तपाई घर जानुहुन्छ ।’ यो शुद्ध हो । ‘तपाई घर जान्छ ।’ यो अशुद्ध हो । यहाँ बुझनुपर्ने कुरा, कर्ता अनुसार क्रियापद फरक फरक हुन्छ ।
भाषा र मस्तिष्कको सम्बन्ध
भाषा र मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ । जुनसुकै मातृभाषाको सानै देखि मस्तिष्कमा गहिरो छाप परेको हुन्छ । शब्द, ध्वनि, लवज, व्याकरण सबैको ईन्कोडिङ् हुन्छ । भाषाले मस्तिष्कलाई आकार दिइरहेको हुन्छ । मान्छेले विचार कसरी व्यक्त गर्छ ? भाषा मार्पmत गर्छ । भाषा कहाँ हुन्छ ? मस्तिष्कमा । यसबाट प्रष्ट हुन्छ, मान्छे आफनै व्याकरण मार्पmत बोलिरहेको हुन्छ । सोचीरहेको हुन्छ । व्याकरण सिक्न स्कुल जानु पर्दैन । आमाको काखमा सिकिसकेको हुन्छ ।
जस्तै नेपाली मातृभाषी बच्चाले भोक लाग्यो भने भन्छ–‘म भात खान्छु ।’ यो वाक्य शुद्ध छ । र क्रमबद्धता (कर्ता +बस्तु+क्रिया) पनि मिलेको छ । उक्त बच्चाले व्याकरण सम्झेर बोलेको होइन । उसको मस्तिष्कभित्रको व्याकरणले स्वतः उसलाई बोल्न सघाउछ । यो सचेत रुपमा हुदैन । अचेत रुपमा हुन्छ ।
तर यदि अंग्रजी मातृभाषी हो भने माथिको क्रम अनुसार बोल्दैन । उसले भन्छ :– I eat rice. यहाँ क्रम (कर्ता+क्रिया+बस्तुं) छ । जुन नेपाली व्याकरण संग मिल्दैन । नेपाली व्याकरण अनुसार बोल्ने हो भने यस्तो हुन्छ– I rice eat. यो बाक्यले कुनै अर्थ दिदैन ।
माथिको उदाहरणबाट प्रष्ट हुन्छ, हरेक भाषाको आफनै व्याकरण हुन्छ, जुन अरु व्याकरणसंग नमिल्न सक्तछ । जसको जुन व्याकरण छ, उसले त्यही व्याकरण प्रयोग गर्छ । यसबाट निस्कर्ष निस्किन्छ, गुरुङहरुको आफनै व्याकरण छ, जसअनुसार गुरुङहरु बोलिरहेका छन् । अब पत्ता लगाउन जरुरी हुन्छ, कस्तो छ त गुरुङ व्याकरण ?
गुरुङ व्याकरण
नेपाली व्याकरणमा, कर्ता अनुसार क्रियापद फेरिन्छ । तर गुरुङ व्याकरणमा यस्तो हुदैन । सबैलाई एउटै तरिकाले सम्बोधन हुन्छ । गुरुङ भाषामा (तँ, तिमी, तपाई, हजुर) जस्ता फरक फरक तहका शब्दहरु नै छैनन् । यी सबैलाई एउटै शब्दले जनाउछ । त्यो शब्द हो–क्हीँ । कतै कतै क्हीँ को ठाऊँमा क्यों प्रयोग गरिन्छ । दुवैको अर्थ एउटै हो ।
अशुद्ध हुनुको कारण के हो ?
गुरुङहरुको मस्तिष्कमा गुरुङ व्याकरणको गहिरो छाप छ । यसबाट के स्पष्ट हु्न्छ भने गुरुङहरुले नेपाली भाषा बोलेता पनि गुरुङ व्याकरणमा टेकेर बोलिरहेका हुन्छन् । हरेक वाक्य गुरुङ व्याकरणमा निर्माण गर्छन् ।
भाषा भनेको केवल शब्द होइन । मनोविज्ञान पनि हो । माथि उल्लेख गरिसकेको छु, गुरुङ भाषामा (तँ, तिमी, तपाई, हजुर)लाई एउटै शब्दले जनाउछ । यसले कस्तो मनोविज्ञान निर्माण गर्छ ? गुरुङहरु यसरी सोच्छन्, यी सबै शब्दहरु एउटै हुन् । यसको परिणाम के हुन्छ ? गुरुङहरुलाई तँ र तिमी शब्द एउटै लाग्छ । तँ र तपाई पनि एउटै लाग्छ । सबै बराबर लाग्छ । कुनै भिन्नता लाग्दैन । त्यसैले आफु भन्दा ठुलोलाई पनि गुरुङहरुले तिमी भनिदिन्छन् । आदर गर्नु पर्नेलाई तँ भनिदिन्छन् । सानालाई पनि तपाई भनी सम्बोधन गरिदिन्छन् । अरुलाई असहज लाग्ला । तर गुरुङहरुलाई लाग्दैन । किनकी व्याकरणले बराबरको मनोविज्ञान तय गरिरहेको छ । वास्तवमा, कसैलाई अपमान र कसैलाई मख्ख पार्न यसरी बोलेका होइनन् ।
अर्को कुरा, नेपाली व्याकरणमा जस्तो क्रियापद फेरिदैन । त्यसैले गुरुङहरुले (जान्छु, जान्छस्, जान्छौ, जानुहुन्छ) बीचको भेद बोध गर्दैनन् । एउटै जस्तो लाग्छ । परिणाम के हुन्छ ? आफुसंग अभ्यस्त एउटा शब्द ग्रहण गर्छन् । र सबैमा एउटै प्रयोग गर्न पुग्छन् । जस्तै जान्छु प्रयोग गर्नु पर्ने ठाऊँमा जान्छ प्रयोग गर्छन् । जानुहुन्छ को ठाऊँमा पनि जान्छ नै प्रयोग गर्छन् । जान्छौ ठाऊँमा पनि जान्छ नै प्रयोग गर्छन् । इत्यादि । बास्तवमा, गुरुङहरुले नेपाली भाषा बिगार्न यसरी बोलेका
होइनन् । मस्तिष्कमा यो कार्य अचेत रुपमा हुने गर्छ । यस्तो गुरुङहरुलाई मात्र हुने होइन । सबैलाई हुन्छ । आफनै व्याकरण प्रयोग हुन्छ । गहिराईमा बुझने हो भने यहाँ अशुद्ध भएको छैन ।
अशुद्ध उच्चारणबारे
कुनै भाषामा मान्छे अभ्यस्त भएपछि शरिरका ध्वनि अंगहरु त्यही अनुरुप अभ्यस्त हुन्छन् । यसको असर के हुन्छ ? नयाँ भाषा बोल्दा ध्वनिका अंगहरु पहिलेभैंm चल्न खोज्छन् । गुरुङहरुको नेपाली उच्चारण शुद्ध नहुनुको कारण यही हो । नेपाली बोल्दा पनि गुरुङ लवज आउनुको कारण यही हो । यो स्वभाविक हो । जुनसुकै देशको एक मातृभाषीले अर्को भाषा बोल्दा यो समस्या स्वतः पैदा हुन्छ ।
नेपाली मातृभाषीले गुरुङ भाषा बोल्दा के शुद्ध उच्चारण होला ? के व्याकरण मिल्ला ? पक्कै मिल्दैन । के यसमा गुरुङहरुले खिसी गर्न मिल्छ ? अवश्य मिल्दैन । के यसलाई गुरुङहरुले असक्षमतासंग जोड्न मिल्छ ? अवश्य मिल्दैन ।
नेपालजस्तो विविध भाषाले भरिपुर्ण देशमा भाषाको यो विशेषता सबैले थाहा बुझनु जरुरी छ । इच्छुक भएमा एकअर्कोको भाषा एकअर्कोलाई सिकाउनु जरुरी छ । जब हामी यो कुरा बुझछौंं, अन्य भाषीले आफनो भाषा अशुद्ध बोले पनि स्विकार्छौं । जब यो बुझदैनौं, यसबाट द्धन्द हुन सक्तछ । राज्यले प्रभावकारी भुमिका निर्वाह गर्नु जरुरी छ ।
किन व्याकरण यस्तो भयो ?
भाषा कसरी निर्माण हुन्छ ? किन नेपाली मातृभाषी र गुरुङ मातृभाषीको सोच्ने तरिका फरक छ ? किन व्याकरण फरक फरक छ ? अब यता ध्यानाकषर्ण गर्न चाहन्छु ।
भाषा हाम्रो सामाजिक सांस्कृतिक अवस्थाको उपज हो । सामाजिक संरचनाले भाषाको निर्धारण गर्छ । नेपाली भाषामा एउटै व्यक्तिलाई तँ, तिमी, तपाई, हजुरले किन सम्बोधन हुन्छ ? किनकी उक्त समाजमा एक अर्काको सापेक्षमा विभिन्न तहरु छन् । हिन्दु जातीय व्यवस्थामा आधारित उक्त समाज hierarchy (हाईरेर्की) को जटिल संरचनामा निर्माण भएको छ । हाईरेर्की भएपछि सबै मान्छे बराबर हुदैन । सानो ठुलो हुन्छ । एउटै मान्छेको स्तर फरक फरक हुन्छ । एउटै मान्छे कसैको लागि सानो हुन्छ । भने कसैको लागि ठुलो हुन्छ । त्यसैले व्याकरणमा फरक फरक सम्बोधन छ ।
गुरुङ सामाजिक संरचना
गुरुङ समाज जातिय व्यवस्थामा आधारित समाज होइन । त्यसैले विभिन्न तहहरु हुने कुरा भएन । यो egalitarian (समतामुलक) समाज हो । यस्तो समाजमा सबै बराबर हुन्छन् । सबैलाई बराबर आँखाले हेरिन्छ । बराबर हुनाले सबैलाई एउटै तरिकाले सम्बोधन गरिन्छ । त्यसैले गुरुङ व्याकरणमा एउटै शब्द छ–क्हीँ ।
गुरुङ समाजमा यदाकदा सुनिने जातीय कुरा पछि मात्र भित्रिएको भन्ने कुरा क्हीँ शब्दले पनि पुष्टि गर्छ । जातीय व्यवस्था पहिले देखि नै हुन्थ्यो भने गुरुङ व्याकरणमा समानता झल्किने थिएन । फरक फरक तहका शब्दहरु हुने थिए । भाषाले सामाजिक यथार्थ चित्रण गर्छ ।
निस्कर्ष
यो लेखको आशय, नेपाली भाषा जान्नु पर्दैन भन्न खोजेको होइन । यसको आशय हो–अशुद्धलाई हास्यस्पद विषय बनाउनु गलत छ । र गुरुङहरुले पनि हिनताबोध गर्नु जरुरी छैन । न त यो असक्षमता हो । न त कुनै कमजोरी । न त यहाँ नियत गलत नै छ । गुरुङहरुको मस्तिष्कमा मातृभाषा हुनाले फरक तरिकाले बोल्न पुगेका हुन् । जुन स्वभाविक हो । त्यसैले लज्जाको विषय होइन । अशुद्धले समतामुलक समाजको संकेत गर्छ । बरु गर्व गर्नु पर्दछ ।
-राेशन चलचित्र लेखक तथा मानवशास्त्रका विद्यार्थी पनि हुन् ।