मनकामना, ८ चैत
गोरखामा रहेको पवित्र धार्मिक स्थल मनकामना माईको मन्दिरमा आजदेखि दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न सतर्कता अपनाउदै आजदेखि मनकामना मन्दिरमा दर्शनार्थीलाई पूजा गर्न रोक लगाइएको हो ।
बिहीबार साँझ बसेको जिल्ला सुरक्षा समितिले विभिन्न बुदाहरुमा निर्णय गर्दै अर्को निर्णय नहुदा सम्म मनकामनामा मन्दिरमा सर्व साधारणको लागि पुजा गर्न रोक लगाएको हो ।
दर्शनार्थीलाई पूजा गर्न रोक लगाए पनि मन्दिरमा नित्य पुजा र साँझको आरती भने हुने छ । साथै आउदै गरेको चैते दशैको पर्व पुजा बाहेक अन्य पुजा रोकिने मनकामना मन्दिरका मुख्य पुजारी ईन्सानबहादुर थापाले बताए ।
पुजारी थापाका अनुसार नित्य पुजामा हरेक बिहान गरी देविको पुजा र आरती अन्तरगत साँझमा दिने बत्ती मातालाई दिईने र अर्को निर्णय नहुदा सम्म सर्व साधारणको लागि पुजा रोकिने बताए ।
चैते दशै भने आउदो १९ गते परेको छ । मन्दिरमा चैते दशैको बेला गुठीयारहरु भेला भएर रागो, बोका बलि दिइने गरिएको पुजारी थापाले बताए ।
यसैबिच आजैदेखि मनकामना केवलकारको सेवा पनि बन्द भएको छ । मनकामना केवलकार सेवा भने आगामी चैत ३० गते सम्मका लागि बन्द गरिएको मनकामना दर्शन प्रा.लि. ले जानकारी दिएको छ ।