टानले धवलागिरि आरोहण दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम मनाउने
१ जेठ, २०८२
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले ६५औँ धवलागिरि आरोहण दिवसको अवसरमा सात दिने विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको पहिलो दिन “धवलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान” विषयक अन्तरक्रिया सम्पन्न भएको छ।
विश्वका १४ अग्ला हिमालमध्ये गण्डकी प्रदेशमा धवलागिरि, मनास्लु र अन्नपूर्ण परेका छन्। यसैको स्मरणमा टानले सरोकारवालाहरूसँग छलफल गर्ने अवसर सिर्जना गरेको हो। ३ जुन १९५० मा भएको धवलागिरि आरोहणको ७५औँ वर्षगाँठ आगामी ३ जुनमा मनाइने जानकारी टान गण्डकी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद आचार्यले दिनुभएको छ। साथै, १० मेमा मनास्लु आरोहणको ६९औँ दिवस पनि भर्खरै मनाइसकेको छ। उनका अनुसार, सन् १९६० मे १३ मा धवलागिरि आरोहणको ६५औँ वर्षगाँठ पूरा भएको हो।
पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव इन्द्रप्रसाद बस्यालले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको बताउनुभयो। उनले पर्यटन क्षेत्रको विकासमा सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताउँदै यसलाई उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टानका सल्लाहकार केशवबहादुर थापा, टान गण्डकीका निवर्तमान अध्यक्ष धर्मराज पन्थी, पूर्व अध्यक्ष हरिबहादुर भुजेल, पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङ, ओटेफ अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल लगायतले गण्डकी प्रदेशमा १३३ वटा हिमाल रहे तापनि तिनको प्रचारप्रसार नभएको र हिमाल आरोहणलाई विदेशी पर्यटकको आकर्षण बनाउन सके प्रदेशको आर्थिक विकास हुने बताउनुभयो।
पर्यटनविद् समीर बरालले धवलागिरि क्षेत्रको पर्यटन विकासका अवसर र चुनौतीबारे प्रस्तुति दिनुभयो। उनले हिमाल आरोहण र ट्रेकिङ पर्यटनका लागि धवलागिरि क्षेत्रलाई विश्वविख्यात गन्तव्य बनाउन सकिने बताउनुभयो।
विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये ३ (धवलागिरि, मनास्लु, अन्नपूर्ण) गण्डकी प्रदेशमा पर्छन्। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोजले सन् १९५० मा अन्नपूर्ण प्रथम आरोहण गरेपछि १९५०-१९६० को दशकमा धेरै हिमाल आरोहण भएको थियो।
यसअघि, टानको टोलीले मनास्लु आरोहण दिवसको अवसरमा गोरखा गएर आएको थियो। १४ अग्ला हिमालमध्ये सातौं अग्लो धवलागिरिको आरोहण स्विस-अस्ट्रियन संयुक्त दलले गरेको थियो, जसमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा समेत सहभागी थिए।
(समाचार स्रोत: टान गण्डकी प्रदेश)
