१३ फागुन, काठमाडौं ।
मम्स इन्टरनेशनल नेपालद्वारा शनिबार आयोजित मिस तामाङको यो १६ औँ संस्करण अर्थात मिस तामाङ २०२४ को उपाधि काठमाडौं तारकेश्वर की रिया लामाले जितेकी छन् । सो प्रतियोगिता काठमाडौं स्थित राष्ट्रिय सभागृहमा भएको हो । उनलाई ‘मिस तामाङ–२०२३’ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिइन् ।
तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १६ औं संस्करण मिस तामाङ–२०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष रन्जिता ब्लोनले उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन्। ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन् ।
‘मिस तामाङ’को यस संस्करणमा २४ जना सहभागी रहेको मम्स इन्टरनेशनल नेपालकी अध्यक्ष रञ्जिता लामाले बताइन् । मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदीप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।
प्रतियोगिताको फस्ट रनरअप स्मृति योन्जन र सेकेन्ड रनरअप अमृता लामा तामाङ भए । ग्राण्ड फिनालीबाट विजेता बनेकी रिया लामाले नगद रु. १ लाख, उप–विजेता स्मृति योन्जनले ५० हजार, सेकेन्ड रनर अफ अमृता लामा तामाङले रु. ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र अन्य गिफ्ट ह्याम्पर पाएकी छन् ।