पोखरा । निर्देशक माओत्से गुरुङको दोस्रो नेपाली फिल्म ‘पेन्सनपट्टा’ निर्माणको तयारीमा छ । यसमा दयाहाङ राईसँगै अभिनेता विश्वास गुरुङ र अभिनेत्री माया गुरुङ पनि अनुबन्धित भएका छन्।
गुरुङ भाषाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’ जस्ता फिल्ममार्फत लोकप्रियता कमाएका छन्। त्यस्तै, माया गुरुङ ‘ह्युलै माया’, ‘च्यागी’ र ‘घलेक’ मा देखिइसकेकी छन्। दुवै कलाकार पहिलोपटक नेपाली मेनस्ट्रिम सिनेमामा डेब्यु गर्न लागेका हुन् र यसप्रति उत्साहित छन्।
निर्देशक गुरुङका अनुसार ‘पेन्सनपट्टा’ सतही रूपमा लाहुरेको कथा झैं देखिए पनि यसको मूल सार लोभी युवकको जीवन यात्रा र उसले कसरी उदार बन्न पुग्छ भन्नेमा केन्द्रित छ।
फिल्मको छायांकन कार्तिक महिनादेखि पोखरा र आसपासका क्षेत्रमा सुरु हुने छ। छायांकन निर्देशक सुशन प्रजापति, कास्टिङ डिरेक्टर सुरज तमु र निर्माण व्यवस्थापक डिबी गुरुङ रहनेछन्।
‘माओत्से गुरुङ फिल्म्स’को ब्यानरमा निर्माण हुने यस फिल्मको कथा स्वयं गुरुङले लेखेका हुन्। गुरुङ भाषाका सफल फिल्महरू निर्देशन गरेर ख्याति कमाएका उनले पछिल्लो समय लेखन, निर्देशन र निर्माणमा सक्रियता बढाएका छन्। निर्माण पक्षले अन्य कलाकारबारे जानकारी चाँडै सार्वजनिक गर्ने जनाएको छ।
