पोखरा । बरिष्ठ नृत्यकार, कलाकर्मी तथा संस्कृतिकर्मी हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको असमयिक निधन भएको छ । उनको उपचार क्रममा फिस्टेल अस्पताल पोखरामा गएराति ५८ वर्षको असमायिक निधन भएको हो । ३ साता अघि नै काेराेना संक्रमणबाट मुक्त भए पनि उनमा मुटुको समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि स्वर्गिय गुरुङलाई गत साता उपचारका लागि फिस्टेल अस्पतालमा भर्ना गरिएकोमा गएराति १ बजे निधन भएको परिवारजनले जनाएको छ ।
उनी लामो समयदेखि हिमाली सांस्कृतिक परिवारमा आबद्ध हुनुहुन्थ्यो । उहाँ पछिल्लो समय कला तथा संस्क्रिती संरक्षण र सम्बर्ध्दनमा लागिपरेका थिए । तमु साँस्कृतिक प्रतिष्ठान नेपालका सल्लाहकार, तमु धिं नेपालका सह–सचिव, गुरुङ फिल्म एशोसिएशन नेपाल (जिफान) का पुर्व सल्लाहकार समेत रहेका मेनकाजी मित्र राष्ट्र भारको अलहाबाद विश्वविद्यालयबाट सास्त्रिय नृत्यमा डिप्लोमा समेत गरेका थिए । २०३८ सालमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता र २०४० सालमा सम्पन्न दोश्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा नृत्यतर्फ स्वर्ण पदक विजेता मेनकाजीले प्रथम र दोश्रो अन्तर नगर नृत्यतर्फ समेत स्वर्ण पदक जितेका थिए । उनी गोर्खा दक्षिण बाहु चौथो, क्षेत्रिय राष्ट्रिय प्रतिभा पुरस्कार लगायत दर्जनौ सम्मानबाट विभुषित भएका थिए ।
कास्की मादी गाउँ पालिका वडा नं १ सिक्लेस स्थायी वासिन्दा भएका मेनकाजी गुरुङ पोखरा –१५, नयाँगाउँ बस्दै आएका थिए । पोखराको कला, संस्कृति संरक्षण र प्रवर्द्धनमा उनको ठूलो योगदान रहेको हिमाली सांस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनले बताए । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारण ३० वैशाखमा निधन भएको थियो । पत्नी गुमाएको २ सातामै मेनकाजीले मृत्यु भएको हो ।
उहाँको एक छोरा र छोरी बिदेशमा अध्यन गर्दै छन् |
फोटो ग्यलरी (Photo Gallery)