गुरुङ जातिको पहिचान जोगाउने हो भने भाषा र संस्कृति जोगाउनुपर्ने : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
१० फाल्गुन २०७६, शनिबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तमू जातिको अरु कुनै देवता नभएको र सबै भन्दा ठूलो देवता प्रकृति नै भएको बताउनु भएको छ ।
तमू प्ये ल्हु संघ केन्द्रिय समितिले आज पोखरामा आयोजना गरेको संघको विस्तृत गुरुयोजना तथा वेभसाइड सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्ये ल्हु संघले महत्वकांक्षी योजना अगाडि सारेको भन्दै सबैको सहयोग र सक्रियताले मात्रै योजना समयमै सम्पन्न हुने उहाँको भनाई रहेको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट र आफनो व्यक्तिगत तर्फबाट प्ये ल्हु संघको योजना कार्यन्वयनमा सधैं सहयोग रहने भन्दै उहाँले गुरुङ जातिको पहिचान जोगाउने हो भने भाषा र संस्कृति जोगाउनुपर्ने बताउनुभयो ।

प्रकृति र वातावरणलाई विनाश गरि निर्माण भएको विकास र पुरानो संस्कृतिलाई नाश गरेर भएको परिवर्तनले अन्तत मानिसलाई दुःख नै दिने भएकोले विकासको नाममा विनाश र परिवर्तनको नाममा पुरानो संस्कार संस्कृतिलाई नर्बिसन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
तमू प्ये ल्हु संघले आफनो जातिको संस्कार, संस्कृति जोगाउनका निम्ती गरेको अभियान सबैका लागि उद्हारणीय रहेको भन्दै पहिचान सहितको भरिएको पेट र सबैले अधिकार पाएको विकासले मात्रै देश समृद्ध हुने बताउनुभयो ।

अब पहिचानवादीहरु राजनीतिमा लाग्नु भन्दा आदिवासी जनजातिको भाषा संरक्षणमा लाग्नुपर्ने उहाँको भनाई छ । गुरुङ भाषामा लिपिको विकास हुनुपर्ने भन्दै भाषा साहित्यको विकास भए मात्र त्यो जातिको विकास छिटो हुने बताउनुभयो ।
गुरुङ गाउँहरुको नाम पहिलेकै अवस्थामा गुरुङ भाषाबाट राख्न र पुरानो गाउँको नामहरु पहिलाकै पुनःस्थापित गराउन आफूले पहल गर्ने समेत उहाँले बताउनु भयो ।
क्होंला सोंथरको उत्खननको लागि गत वर्ष नै प्रदेश सरकारले ५० लाख बजेट छुटाएता पनि पुरातत्वविद्हरुको अभावमा उत्खनन कार्य अघि बढन नसकेको भन्दै अब पुनः प्रदेश सरकारले क्होंला र आसपासका महत्वपूर्ण क्षेत्रको उत्खनन तथा संरक्षण गर्ने बताउनुभयो ।

तमु प्ये ल्हु संघले अघि सारेको विस्तृत गुरु योजनामा क्होइबो घर, अर्घुं घरसहित सभा हल, बृद्धबृद्धाको लागि डे कयर, स्वास्थ्य चौकी, रेष्टुरेण्ट, गेष्ट हाउस, स्वीमिङ पुल लगायतका योजनाहरु समावेश छन् ।

संघको विस्तृत गुरुयोजना सार्वजनिक कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा, अर्का सांसद मानबहादुर गुरुङ, गुरुयोजनाका परिकल्पनाकार आर्किटेक्चर इन्जिनियर बाबुराम भण्डारी, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष, मण्डला आईटी सोलुसनका सफ्टवयर इन्जिनियर तथा तमु प्ये ल्हु संघको वेभ डिजाइनर प्रतिमा शर्मा, संघका वरिष्ठ उपाध्यक्ष आईबहादुर ल्हेंगे तमुले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हर्कबहादुर योज तमुले सञ्चालन गरेका थिए ।
