लन्डन – ओमप्रकाश गुरुङ द्धारा निर्देशित गुरुङ चलचित्र ह्युलन् छ्याँबा (देशै राम्रो) बेलायतमा भव्य रूपमा प्रदर्शन भएको छ।
दुर्लुङ्ग समाज यूकेको आयोजनामा २९ मार्च २०२५, शनिबारका दिन मिचेटस्थित तमुधीं यूकेको भवनमा चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा निर्माता तथा नायक भीम गुरुङले स्वागत मन्तव्यसहित चलचित्रबारे जानकारी गराउँदै शुभकामना व्यक्त गरे। वरिष्ठ कलाकार, निर्देशक तथा निर्माता गोरे गुरुङले पनि विशेष शुभकामना दिएका थिए।
चलचित्र प्रदर्शनमा उपस्थित दर्शकहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए। धेरैले आफ्नो गाउँको झल्को दिलाएको अनुभव सुनाए भने चलचित्रले गाउँ छोड्न नहुने र विदेशीने प्रवृत्तिलाई निरुत्साहित गर्ने सन्देश दिएको उल्लेख गरे।
चलचित्रका नायक तथा निर्माता भीम गुरुङले बेलायतमा अपेक्षाभन्दा उत्कृष्ट प्रदर्शन भएको प्रतिक्रिया दिए। दुर्लुङ्ग समाज यूकेका अध्यक्ष कुलराज गुरुङले चलचित्र गुणस्तरीय लागेको बताउँदै, परदेशिएकाहरूलाई गाउँ फर्कने र गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश चलचित्रले दिएको उल्लेख गरे।

कलाकार गोरे गुरुङले ह्युलन् छ्याँबा पोखरामा हेर्दा राम्रो लागेको अनुभव सुनाउँदै बेलायतमा प्रदर्शन हुँदा विशेष उत्साहित भएको बताए। चलचित्रको कथा, संवाद, अभिनय र सम्पूर्ण प्रस्तुति उत्कृष्ट रहेको उल्लेख गर्दै उनले भीम गुरुङलाई धन्यवाद दिए र आगामी दिनमा थप स्तरीय गुरुङ चलचित्र निर्माण हुने कामना गरे।
बेलायतमा विभिन्न संघसंस्थाका अध्यक्ष, प्रतिनिधिहरू, सञ्चारकर्मी तथा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको सो चलचित्र यसअघि हङकङमा पनि अत्यधिक सफल भएको थियो।
मुख्य नायिकाको रूपमा कृष्टि गुरुङले अभिनय गरेको यो चलचित्र पर्वतको दुर्लुङ गाउँ र लमजुङमा छायांकन गरिएको हो। ह्युलन् छ्याँबा मुनाल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो भने यसको परिकल्पना र कथा ओमप्रकाश गुरुङले तयार पारेका हुन्। निर्माता भीम गुरुङ र कुविना गुरुङ रहेको यो चलचित्रले २०७९ सालमा आदिवासी चलचित्र गुरुङतर्फ वेस्ट अवार्ड जित्न सफल भएको थियो।
