Homeसमाचार | NEWSनेपाल | NEPALगुरुङ चलचित्र ‘तेनो कुर्सी’ को पोखरामा विशेष प्रदर्शन सम्पन्न, दर्शकको मायाले देश–विदेशमा...

गुरुङ चलचित्र ‘तेनो कुर्सी’ को पोखरामा विशेष प्रदर्शन सम्पन्न, दर्शकको मायाले देश–विदेशमा प्रदर्शन तय

पोखरा – गुरुङ समुदायको मौलिक संस्कृति, पहिचान र जीवनशैलीलाई कथा वस्तु बनाउँदै निर्माण गरिएको गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेट को पोखरामा विशेष प्रदर्शन सम्पन्न भएको छ। मंसिर २४ गते पोखरास्थित ट्रेडमल (QFX) मा भएको पहिलो विशेष प्रदर्शनमा हल खचाखच भरिएपछि निर्माण टिम उत्साहित बनेको छ।

पहिलो दिनमै दर्शकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र सकारात्मक प्रतिक्रियाले चलचित्रप्रति चासो झन् बढेको निर्माण पक्षले जनाएको छ। विशेष प्रदर्शनपछि चलचित्र मंसिर २७ र २८ गते पोखराको श्रीकृष्ण चलचित्र भवनमा पुनः प्रदर्शन गरिने तय भएको छ। पोखराका दर्शकबाट निरन्तर प्राप्त माया र साथले चलचित्र थप चर्चामा आएको निर्माण टोलीको भनाइ छ।

निर्देशक तथा लेखक सुबास गुरुङ (गणेश) को निर्देशनमा बनेको ‘तेनो कुर्सी’ ढोगभेट गुरुङ समुदायको सामाजिक जीवन, सांस्कृतिक मूल्य, परम्परा, संघर्ष र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको कथा हो। चलचित्रले परम्परागत गुरुङ जीवनशैली, पारिवारिक सम्बन्ध, संस्कार र समुदायभित्रको एकतालाई संवेदनशील र यथार्थपरक रूपमा प्रस्तुत गरेको छ। पछिल्ला वर्षहरूमा तमु चलचित्रहरूले नेपाली चलचित्र क्षेत्रमा आफ्नै पहिचान बनाइरहेका बेला ‘तेनो कुर्सी’ पनि सोही यात्राको महत्वपूर्ण कडी बन्ने अपेक्षा गरिएको छ। विशेष प्रदर्शनीको अवसरमा चलचित्रका कलाकारहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, स्थानीय कलाकार, सञ्चारकर्मी तथा गुरुङ समुदायका दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। दर्शकहरूले चलचित्रका कलाकारहरूको स्वाभाविक अभिनय, मौलिक सांस्कृतिक प्रस्तुति, भावनात्मक कथावस्तु र परिवेशको यथार्थ चित्रणलाई खुलेर प्रशंसा गरेका छन्।

चलचित्रका निर्माता चन्द्र गुरुङ, भिमबहादुर गुरुङ, कुमार गुरुङ, जयलक्ष्मी गुरुङ र ज्ञानु गुरुङ हुन्, जो सबै हङकङमा बसोबास गर्दै आएका छन्। विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचान संरक्षण र प्रवद्र्धनमा उनीहरूको योगदान प्रेरणादायी रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा पर्वत गुरुङ, खुशी गुरुङ, टिकाराम घले, पूजा गुरुङ, राजेश गुरुङ, बबिता गुरुङ, ओम गुरुङ, एलिशा गुरुङ, भिम गुरुङ, मन्जु गुरुङ र रिना गुरुङको प्रभावशाली अभिनय रहेको छ।

छायांकन बिशाल प्रजापति र प्रकाश गुरुङ (काश)ले गरेका छन् भने सम्पादन तथा रंग संयोजन राजेन्द्र खड्काले सम्हालेका छन्। संगीत संयोजन आशु लामा कौरा तथा शीर्ष गीत सुबास गुरुङले तयार पारेका हुन्। गीतहरूमा गणेश गुरुङ (सुबास), मेलिना राई र उषा गुरुङको सुमधुर स्वर सुन्न सकिन्छ। नृत्य निर्देशन कमल गुरुङले गरेका छन्।

पोखरामा सफल विशेष प्रदर्शनपछि ‘तेनो कुर्सी’ अब नेपालका विभिन्न शहरहरूमा प्रदर्शनको तयारीमा रहेको छ। यसका साथै विदेशमा बसोबास गर्ने नेपाली तथा गुरुङ समुदाय धेरै रहेका हङकङ, बेलायत, युएई, अस्ट्रेलिया, कोरिया, जापानलगायत देशहरूमा पनि प्रदर्शन गर्ने तयारी अन्तिम चरणमा पुगेको निर्माण टोलीले जनाएको छ। चलचित्र प्रदर्शनअघि नै दर्शकको बढ्दो चासो र मागले टिमलाई थप हौसला मिलेको बताइएको छ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments