पोखरा। पर्यटनको राजधानी पोखरामा पुस ११ गतेदेखि २२औँ संस्करणको ‘माछापुच्छ्रे कप’ पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला टेनिस संघले आयोजना गर्न लागेको यस प्रतियोगितालाई माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गरेको छ।
प्रतियोगिता संयोजक नविन चालिसेका अनुसार नेपालसहित भारत, भुटानलगायत विभिन्न देशबाट महिला तथा पुरुष गरी एक सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ। प्रतियोगितामा कुल १२ वटा विभिन्न इभेन्टमा प्रतिस्पर्धा गराइनेछ, जसमा ओपन तथा भेट्रान्स उमेर समूहका खेलहरू समावेश छन्।
मेन्स र उमेन्स सिंगल्स तथा डबल्ससँगै ३५ वर्ष, ४५ वर्ष, ५५ वर्ष र ६५ वर्ष माथिका उमेर समूहमा खेलहरू सञ्चालन हुनेछन्। ओपन सिंगल्सतर्फ मेन्स र उमेन्स दुवैमा विजेताले नगद ८० हजार रुपैयाँ, उपविजेताले ४० हजार रुपैयाँ र सेमिफाइनलिस्टले २० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन्। ओपन डबल्सतर्फ विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
३५ वर्ष माथिको सिंगल्समा विजेताले ६० हजार रुपैयाँ, उपविजेताले ३० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १५ हजार रुपैयाँ नगद पाउनेछन्। सोही उमेर समूहको डबल्समा विजेताले २० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पुरस्कार तोकिएको छ।
४५ वर्ष माथिको सिंगल्सतर्फ विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने डबल्सतर्फ विजेताले २० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ पाउनेछन्।
५५ वर्ष माथिको सिंगल्समा विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। डबल्सतर्फ विजेताले २० हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र सेमिफाइनलिस्टले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
६५ वर्ष माथिको सिंगल्समा विजेताले १५ हजार रुपैयाँ, उपविजेताले ७ हजार ५ सय रुपैयाँ र सेमिफाइनलिस्टले २ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन्। डबल्सतर्फ विजेताले १० हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने कास्की जिल्ला टेनिस संघका सचिव भिष्मराज पौडेलले जानकारी दिनुभयो।
लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले पोखरा र कास्की क्षेत्रमा टेनिस खेलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। यस वर्षको संस्करण सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको पनि संघले जनाएको छ।
