रूद्र श्रीसमगर-पातीचौर, १२ चैत //समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले पर्वतको मोदी गाउँपालिका–५, बाजुङस्थित महेन्द्र शिखरी माध्यमिक विद्यालयमा आफ्ना आमा र बाबुका नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।
समाजसेवी गुरुङले आफ्नी आमा सावित्री गुरुङ र दिवंगत बाबु स्व. नरबहादुर गुरुङका नाममा स्थापित ‘नरबहादुर–सावित्री गुरुङ शैक्षिक प्रतिष्ठान’मार्फत् दुई लाख रुपैयाँको ‘नरबहादुर–सावित्री छात्रवृत्ति अक्षयकोष’को स्थापना गर्नुभएको हो । सोमबार आयोजित एक कार्यक्रममा अक्षयकोषको रकम दुई लाख रुपैयाँ गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर हमाल र प्रधानाध्यापक यामबहादुर अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
अक्षयकोषको रकमबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो । सोही अवसरमा समाजसेवी गुरुङले सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका जेहेन्दार एक÷एक जना विद्यार्थीलाई पाँच सयका दरले छ हजार रुपैयाँ बराबरको छात्रवृत्ति रकम समेत वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजसेवी गुरुङले आफूले आफ्नो कमाइबाट केही अंश सामाजिक कार्यमा खर्च गर्दै आएको बताउनुभयो । ‘मैले आफ्नै कमाइ र परिवारको आम्दानीबाट केही रकम सामाजिक कार्यमा खर्च गर्ने गरेको छु’, गुरुङले भन्नुभयो, ‘मैले कसैसँग पनि एक पैसा नलिइ आफ्नै कमाइको केही हिस्सा सामाजिक कार्यमा लगाएको छु ।’ आफैंले पढेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै गुरुङले आगामी दिनमा पनि सक्दो सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विदुर हमालले समाजसेवी गुरुङको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक उत्थानका लागि महत्वपूर्ण हौसला मिल्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन शिक्षक अमरबहादुर अधिकारीले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरूले कविता वाचनका साथै, नृत्य प्रस्तुत गरेका थिए ।
यसैबीच, मिलन फाउण्डेशन नेपालका तर्फबाट बाजुङ स्वास्थ्य चौकीलाई एक थान प्रिन्टर, फोटोकपी तथा स्क्यानिङ मेसिन सोमबार नै हस्तान्तरण गरिएको छ । कार्यक्रममा फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ र सञ्चालक समिति सदस्य एवं प्रचारप्रसार संयोजक रूद्रबहादुर श्रीसले स्वास्थ्य चौकीका प्रतिनिधि गोकुल अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।