तमु प्ये ल्हु संघ जिल्ला महिला समितिको दशौँ स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न
अध्यक्षमा खकी माया तमु सर्वसम्मत निर्वाचित
पोखरा, ५ भदौ २०८३।

तमु समुदायको धर्म, संस्कृति, परम्परा तथा महिला सशक्तीकरणको अभियानलाई थप सुदृढ बनाउने उद्देश्यसहित तमु प्ये ल्हु संघ जिल्ला महिला कार्यसमिति कास्कीको दशौँ स्थापना दिवस, वार्षिक साधारणसभा, चौथो अधिवेशन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले खकी माया क्रोम्छे तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा उमा ङ्गोप्छे(ङ्गोर) तमु, सचिवमा पुष्प तमु, सहसचिवमा रत्न गरब्ज तमु, कोषाध्यक्षमा रामकुमारी सरब्ज तमु तथा सहकोषाध्यक्षमा रिश काशी तमु चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा उमा देवी तमु, डिल शोभा तमु, लिलु तमु, नुम माया तमु, कौमती तमु, टौसरी तमु, रामकुमारी तमु, नानी माया तमु, शान्ति तमु, संगीता तमु, सन्तोषी तमु, धनकुमारी तमु, सेती माया तमु, पारु तमु, पुष्प तमु र रिता तमु चयन हुनुभएको छ।

छ्योपा पूजासहित कार्यक्रमको शुभारम्भ
बिहीबार तमु प्ये ल्हु संघको सभाहलमा आयोजित कार्यक्रममा शुभसाइतको अवसरमा संघ जिल्ला पच्यु अध्यक्ष भीमबहादुर क्रोम्छे तमुले परम्परागत छ्योपा पूजा सम्पन्न गरी स्वस्ती, शान्ति, सुख, समृद्धि तथा समुदायको उन्नतिको कामना गर्नुभएको थियो। औपचारिक कार्यक्रम जिल्ला महिला समितिका अध्यक्ष तिलमाया प्ल्हें तमुको अध्यक्षतामा सम्पन्न भएको थियो।
बोन धर्म दर्ता तमु समुदायका लागि ऐतिहासिक उपलब्धि
कार्यक्रमका प्रमुख अतिथि तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं सल्लाहकार संयोजक हितकाजी टु क्ल्हेप्री तमुले हालै राष्ट्रिय पञ्जीकरण विभाग, सिंहदरबारमा बोन धर्म आधिकारिक रूपमा दर्ता हुनु तमु समुदायका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो।
उहाँले अब विवाह दर्ता, जन्मदर्ता तथा अन्य सरकारी अभिलेखमा बोन धर्म उल्लेख गरी आफ्नो धार्मिक पहिचानलाई संस्थागत गर्न समुदायलाई आग्रह गर्नुभयो। बोन धर्मको मान्यता प्राप्तिसँगै तमु समुदायको मौलिक धार्मिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानले थप गति लिएको उहाँको भनाइ थियो।
महिला समितिको भूमिकाको प्रशंसा
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष ओमबहादुर थिम्जे तमुले जिल्ला महिला समितिले संघका उद्देश्य, अभियान तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा समुदायसम्म पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभयो।
केन्द्रीय पूर्वअध्यक्ष रूपबहादुर गरब्ज तमुले महिला समितिले विभिन्न चुनौती र उतारचढावका बीच पनि निरन्तर सेवा, समर्पण र कर्तव्यनिष्ठाका साथ कार्य गर्दै सक्षम नेतृत्वको उदाहरण प्रस्तुत गरेको बताउँदै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

धर्म, संस्कार र संस्कृति संरक्षणमा जोड
केन्द्रीय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष टु क्ल्हेप्री तमु क्ल्हेप्री गुरुले धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनका लागि नियमित रूपमा सेमिनार, गोष्ठी, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी केन्द्रीय बोन लम समितिका अध्यक्ष चोकबहादुर चैबर लेम लम गुरुले तमु समुदायको मौलिक धार्मिक ज्ञान, संस्कार र परम्परागत विधि–विधान संरक्षणका लागि आफूले हालसम्म तीन जना शिष्यलाई जिम्मेवारी हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो। उहाँले नयाँ पुस्तामा धार्मिक ज्ञान हस्तान्तरण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

कुलराम अक्षयकोषबाट सम्मान
युवा खेगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले स्व. बाबा कुल बहादुर सरब्जा तमु र कान्छा भाई पच्यु गुरु स्व. रामबहादुर सरब्जा तमुको स्मृतिमा तुलमाया सरब्जा तमु र दीपक कोन्मे तमुद्वारा स्थापना गरिएको कुलराम अक्षयकोषबाट लमजुङको दोर्दी गाउँपालिकाका डम्बरबहादुर लमलाई सम्मान गरिएको थियो। उहाँलाई माला, फेटा, भाङ्ग्रा, सम्मानपत्र तथा नगदसहित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

महिला समिति गठनको इतिहास स्मरण
केन्द्रीय महिला समितिका अध्यक्ष बुद्धिमाया लेम तमुले जिल्ला महिला समितिको आवश्यकता महसुस गरी तत्कालीन केन्द्रीय महिला समिति अध्यक्ष पुष्प तेल्मे तमुको कार्यकालमा २०७३ सालमा समिति गठन गरिएको स्मरण गर्नुभयो। उहाँले महिला सहभागिता र नेतृत्व विकासमा समितिले उल्लेखनीय योगदान पुर्याउँदै आएको बताउनुभयो।
बोन धर्म प्रचार–प्रसारमा जोड
गण्डकी प्रदेश अध्यक्ष कुलप्रसाद सरब्जा तमुले संस्थाले आफ्नो उद्देश्यअनुसार प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समुदायको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो।
तमु प्ये ल्हु संघ कास्कीका अध्यक्ष निमबहादुर प्हच्यु तमुले धर्मले मानिसलाई अनुशासित, नैतिक र जिम्मेवार बनाउने बताउँदै बोन धर्मको प्रचार–प्रसारलाई अझ व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस विषयमा छिट्टै तमु हे तमु समाज पोखराको आयोजनामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

आर्थिक सहयोगदातालाई सम्मान
तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर क्रोम्छे तमुले तमु समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कन गर्दै आगामी गतिविधिलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले जिल्ला महिला समितिलाई २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो। सहयोगको कदरस्वरूप उहाँ र उहाँकी धर्मपत्नी हिन्दुमाया तेल्मे तमुलाई प्रशंसापत्र, फेटा, माला तथा दोसल्लासहित सम्मान गरिएको थियो।
त्यसैगरी कार्यक्रम सफल बनाउन १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने मार्गी थिम्चें समाजका अध्यक्ष मनकाजी थिम्जे तमु लगायत आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान गरिएको थियो।
महिला नेतृत्व अझ सशक्त बनाउनुपर्ने
सम्पूर्ण क्षेत्रीय समाजहरूको तर्फबाट ढोर फिरफिरे तमु समाजका अध्यक्ष सुबेदार नन्दबहादुर तमुले शुभकामना व्यक्त गर्नुभएको थियो भने क्षेत्रीय आमा समितिहरूको तर्फबाट श्री शान्त तमु समाजका अध्यक्ष चिजा तमुले संस्कार, संस्कृति र मूल्य–मान्यता हस्तान्तरणमा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँले घरपरिवारदेखि समाजसम्म संस्कृति जोगाउने प्रमुख आधार महिलाहरू भएकाले महिला नेतृत्वलाई थप सशक्त, संगठित र सक्रिय बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र
कार्यक्रममा जिल्ला महिला समिति, जिल्ला समिति तथा जिल्ला युवा समिति कास्कीका तर्फबाट प्रस्तुत विविध सांस्कृतिक नृत्यले सहभागीहरूको मन जितेका थिए। सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप जीवन्त, आकर्षक र उत्साहपूर्ण बनाएको थियो।

नयाँ नेतृत्वको प्रतिबद्धता
नवनिर्वाचित अध्यक्ष खकी माया क्रोम्छे तमुले आफ्नो कार्यकालमा महिला सहभागिता अभिवृद्धि, तमु धर्म, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले समुदायका सबै तह र वर्गसँग सहकार्य गर्दै संस्थालाई थप सशक्त, सक्रिय र परिणाममुखी बनाउने प्रतिवद्धता जनाउँदै तमु समुदायको एकता, पहिचान र सांस्कृतिक संरक्षणका लागि निरन्तर कार्य गर्ने बताउनुभयो।
Photo : Mani Tamu Gurung
Mani Gurung Video & Photography
