घान्द्रुकमा फागुन ६ देखि पर्यटन महोत्सव
पर्यटकलाई १५ प्रतिशत छुट, खेलकुद र मौलिक संस्कृतिको संगम
पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ मा अवस्थित विश्वप्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव आयोजना हुने भएको छ । महोत्सवको तयारीबारे मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को संयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा महोत्सव सञ्चालन गरिने क्लबका वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले जानकारी दिए ।

‘सबै मौसममा पर्यटन’ भन्ने नारालाई आत्मसात गर्दै विगत केही वर्षदेखि निरन्तर महोत्सव आयोजना गर्दै आएको बताउँदै उनले खेलकुद र संस्कृतिको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
महोत्सवको अवसरमा घान्द्रुक आउने आन्तरिक तथा बाह्य पर्यटकलाई होटल तथा होमस्टेमा १५ प्रतिशत छुट प्रदान गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार घान्द्रुकमा एकैदिन करिब २ हजार ५ सय पर्यटकलाई बसोबास गराउन सक्ने क्षमता रहेको छ ।
रोधीं क्लब कोँडका अध्यक्ष लक्षिण गुरुङले महोत्सवले घान्द्रुकको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘ढुङ्गेनी गाउँ’का नामले समेत चिनिने घान्द्रुकको पहिचान थप बलियो बनाउने हाम्रो प्रयास हो,’ उनले भने ।
महोत्सव सफल बनाउन पोखरा र घान्द्रुकमा आयोजित च्यारिटी डिनर कार्यक्रमबाट १९ लाख रुपैयाँ संकलन गरिएको आयोजकले जनाएको छ ।
भलिबल, घोडा दौड र भेडाको साँड जुडाई मुख्य आकर्षण
महोत्सव अवधिभर खुल्ला वडास्तरीय पुरुष भलिबल, राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल, घोडा दौड, भेडाको साँड जुडाई, रस्साकस्सी, छेलो प्रतियोगिता तथा घान्द्रुक चक्रिय पदमार्ग दौड आयोजना गरिनेछ ।
भलिबल र बास्केटबल प्रतियोगितामा विजेताले समान १ लाख ६६ हजार ६ सय ६६, उपविजेताले १ लाख ११ हजार १ सय ११ र तृतीयले ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
घोडा दौड प्रतियोगितामा प्रथमदेखि सातौं स्थानसम्म क्रमशः १ लाख १ हजार १ सय ११ देखि ५ हजार रुपैयाँ सम्म पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै चक्रिय पदमार्ग दौड, छेलो, महिला तथा पुरुष रस्साकस्सी र भेडाको साँड जुडाई प्रतियोगितामा समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सजिलो पहुँच, बहुआयामिक गन्तव्य
पोखराबाट करिब साढे दुई घण्टाको सवारी यात्रा पछि नयाँपुल–विरेठाँटी हुँदै घान्द्रुक पुग्न सकिन्छ । घान्द्रुकबाट टाडापानी, घोडेपानी, खोर्पा लेक, हिडन लेक तथा अन्नपूर्ण बेसक्याम्पसम्म पुग्ने पदमार्गले यस क्षेत्रलाई बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा चिनाएको छ ।
महोत्सवले घान्द्रुकको पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रमा थप ऊर्जा भर्ने अपेक्षा आयोजकको छ ।



