२४ कार्तिक पोखरा २०७७ पोखरा ।गुरुङ फिल्म एशोसिशन नेपाल (जिफान)लाई तमु (गुरुङ) लघु चलचित्र निर्माणार्थ रकम हस्तान्तरण गरेको छ । तमु प्ये ल्हु संघ, युके शाखाद्वारा उपलब्ध गराएको ९० हजार रुपैयाँ तमु प्ये ल्हु संघ केन्द्रीय समितिले एक कार्यक्रमको बीच आज सोमवार जिफानलाई प्रदान गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले कलाकारहरु समाजका अभियान्तसमेत भएकाले गुरुङ चलचित्र निर्माण गर्दा तोडमोड नगरी मौलिक र यथार्थपुर्बक विषयवस्तु ल्याउनुपर्ने बताए । चलचित्र पनि समाजको ऐना भएकाले गलत विषयवस्तुले नराम्रो सन्देश जानेहुँदा कलाकार तथा लेखकले त्यस्ता विषयवस्तुमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिफानका अध्यक्ष भोजबहादुर गुरुङले विगत २५ वर्षमा गुरुङ चलचित्र धेरै निर्माण भएपनि अन्यबाट प्रभावित भई गुरुङको वास्तविक मौलिक चलचित्र निर्माण हुन नसकेको स्वीकारे । जिफानले सो विषयवस्तुलाई मसिनो रुपमा केलाउँदै अब निर्माण हुने गुरुङ चलचित्रहरु त्यस्तो नहुने उनले बताए ।

गुरुङको मौलिक भाषा, धर्म, संस्कार, संस्कृतिको एक मात्र धरोहर तमु प्ये ल्हु संघ भएकाले अब संघसँग सहकार्य गरी अघि बढ्ने बताए ।
संघका केन्द्रीय महासचिव हर्क गुरुङद्वारा सञ्चालित उक्त रकम हस्तान्तरण कार्यक्रममा तमु प्ये ल्हु संघ युके शाखाका सल्लाहकार मनबहादुर म्रु तमु, केन्द्रीय उपाध्यक्ष भोजबहादुर तमु, जिफानका उपाध्यक्ष गुञ्जबहादुर तमुलगायतले मन्तव्य राखेका थिए ।
गत वैशाखमा कोरोना महामारीका कारण थलिएको गुरुङ चलचित्र क्षेत्रलाई चलायमान बनाउन लघु चलचित्र निर्माण गर्ने जिफानले घोषणा गरेको थियो । गुरुङ चलचित्र निर्माण भएको २५ औं वर्ष पूराभएको अवसरमा गत वैशाख २५ गते जिफानको वार्षिकोत्सवको अवसर पारेर लघु चलचित्र निर्माण गर्ने बताएको जिफानले हालसम्म ८ लाख रकम संकलन गरिसकेको छ । त्यस्तै लघु चलचित्र निर्माणार्थ ८ वटै समूह बनाई ४ वटा लघु चलचित्रको छायाङ्कन पनि गरिसकेको जिफानका अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए ।


