पोखरा ।
पोखरा महानगरपालिकामा फोहरलाई अवसरमा बदल्दै हरित रोजगारी सिर्जना गर्ने लक्ष्य सहित रिसाइकलिङ तथा अपसाइकलिङ परियोजना सञ्चालनमा रहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) नेपालको सहयोग तथा पोखरा महानगरपालिकाको सहकार्यमा यो परियोजना कार्यान्वयन भइरहेको हो।
परियोजनाले ल्यान्डफिलमा जाने फोहरको मात्रा घटाउँदै त्यसलाई आर्थिक मूल्ययुक्त स्रोतका रूपमा उपयोग गर्न जोड दिएको छ। यसले वातावरणीय संरक्षणसँगै दिगो फोहर व्यवस्थापन र हरित उद्यमशीलताको विकासमार्फत नेपालमा हरित रोजगारी विस्तार गर्ने उद्देश्य राखेको छ । यस कार्यक्रमअन्तर्गत पोखरामा १३६ भन्दा बढी समुदायस्तरीय रिसाइकलिङ र अपसाइकलिङ समूह गठन गर्ने लक्ष्य तय गरिएको छ। ती समूहहरूले परियोजनाअन्तर्गत स्थापना हुने ३० वटा उद्यमसँग मूल्य शृङ्खलामा आबद्ध भई काम गर्नेछन्। परियोजनाबाट पोखरामा ९०० भन्दा बढी हरित रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।
अहिलेसम्म परियोजनाले ७ वटा समूह गठनमा सहयोग पु¥याइसकेको छ भने ४ वटा रिसाइकलिङ तथा अपसाइकलिङ उद्यम सञ्चालनमा आइसकेका छन्। सन् २०२५ सम्म थप ६ वटा उद्यम स्थापना गर्ने तयारी भइरहेको छ, जसले पोखराको हरित अर्थतन्त्रलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।
उद्यमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न कानुनी प्रक्रिया, व्यवसाय व्यवस्थापन र बजारिकरणसम्बन्धी ज्ञान आवश्यक पर्ने भएकाले परियोजनाले हालै तीनदिने कानुनी अनुपालन, व्यवसाय व्यवस्थापन तथा मार्केटिङ तालिम सञ्चालन गरेको थियो। उक्त तालिम सिनर्जी बिजनेस एडभाइजर्सको सहजीकरणमा सम्पन्न भएको हो।
फोहर व्यवस्थापनका क्रममा श्रमिकहरू स्वास्थ्य र सुरक्षासम्बन्धी जोखिममा पर्न सक्ने भएकाले समूहहरूका लागि तीनदिने स्वास्थ्य तथा सुरक्षा जोखिम व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने तयारी पनि गरिएको छ। परियोजनाका अनुसार यो तालिम उद्यम विकास प्रक्रियाको महत्वपूर्ण अङ्गका रूपमा समावेश गरिएको छ ।
उद्यम विकास प्रक्रिया जटिल र दीर्घकालीन हुने भएकाले निरन्तर सहयोग र व्यवहारिक तालिम आवश्यक रहेको परियोजनाले जनाएको छ। आरयु समूहकी संस्थापक लेखमाया थापा मगरले तालिमले व्यवसायलाई व्यवस्थित बनाउन र फोहरसँग काम गर्दा सुरक्षाप्रति सचेत रहन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । रिसाइकलिङ, अपसाइकलिङ र उद्यमशीलतालाई आपसमा जोड्दै जिसिआरयू परियोजनाले पोखरामा वातावरणीय चुनौतीलाई आर्थिक अवसरमा रूपान्तरण गर्दै समावेशी र दीगो हरित रोजगारी प्रवद्र्धन गरिरहेको छ ।
