यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत्तर यौनिकता शिक्षामा सञ्चारकर्मीको चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न
पोखरा, ३ जेठ २०८२ —
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत्तर यौनिकता शिक्षासम्बन्धी विषयमा सञ्चारकर्मीहरूलाई लक्षित गर्दै एकदिने चेतनामूलक कार्यक्रम पोखरामा सम्पन्न भएको छ। जनचेतनाको अभावका कारण महिलाहरूले आफ्ना समस्याहरू खुलस्त रूपमा व्यक्त गर्न नसक्दा अकालमा ज्यान गुमाउने समस्या देखिएकाले यस्तो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जनस्वास्थ्यविद् तथा एम.पिएच.एच.डी. डा. लक्ष्मी तामाङले यौन तथा प्रजनन स्वास्थ्य अधिकार र यौनिकता शिक्षाका विविध पक्षबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रमको स्वागत र संस्थाको परिचय वियोन्ड बेइजिङ कमिटीकी अध्यक्ष कृष्णकुमारी वाइबाले गर्नुभएको थियो।
डा. तामाङले सञ्चारकर्मीहरूलाई सीआरएचआर (Comprehensive Reproductive Health and Rights) र सीएसई (Comprehensive Sexuality Education) को आधारमा नैतिकता, गोपनीयता, संवेदनशीलता, समावेशी दृष्टिकोण, वैज्ञानिक प्रमाणमा आधारित जानकारी प्रस्तुत गर्ने, र गरिमायुक्त भाषाशैली प्रयोग गर्ने सुझाव दिनुभयो।
उहाँले प्रेस काउन्सिलको आचारसंहिता पालन गर्न, भ्रामक र उत्तेजक सामग्रीबाट बच्न, पूर्व-जाँच र सम्पादकीय समीक्षाको प्रक्रिया अपनाउन, तथा पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम र आत्मनियन्त्रणमा जोड दिनुभयो।
साथै, सबै समुदायसम्म सूचना पुर्याउनुपर्ने, युवायुवती, दलित, अपाङ्गता भएका, सिमान्तकृत तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका आवाजलाई स्थान दिनुपर्ने, मानव अधिकार र सामाजिक न्याय प्रवर्द्धन गर्ने, नीति निर्माणमा प्रभाव पार्ने समाचार लेखनमा सक्रिय भूमिका खेल्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।
वियोन्ड बेइजिङ कमिटीले कल्याणकारी सोच, खबरदारी, नैतिकता र साझेदारीको सिद्धान्तमा काम गर्दै आएको बताइएको छ।
कार्यक्रममा वियोन्ड बेइजिङ कमिटी गण्डकी प्रदेशकी अध्यक्ष उषा बडुवाल र शिशु नेपालका कार्यकारी निर्देशक उमानन्दको पनि सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश महासचिव जमुना वर्षा शर्मा र कास्की जिल्ला अध्यक्ष माधव बरालले कार्यक्रममा उठेका विषयहरूलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभएको थियो।
यस सन्दर्भमा अन्तर्राष्ट्रिय महिला सम्मेलनहरूको इतिहास पनि प्रस्तुत गरिएको थियो, जसअनुसार पहिलोदेखि चौथो सम्मेलनहरू क्रमशः सन् १९७५ मा मेक्सिको सिटी, १९८० मा कोपनहेगन, १९८५ मा नैरोबी र १९९५ मा बेइजिङमा सम्पन्न भएका थिए। वियोन्ड बेइजिङ कमिटीसँग हाल देशभरका ६७ जिल्लामा सक्रियता रहेको छ र करिब २३५ जना महिला सदस्य आबद्ध छन्।
