Dhampus – Brecon धम्पुस-ब्रेकन मितेरी सम्बन्धको पाचौं वर्षगाँठ भव्यताका साथ सम्पन्न
पोखरा । धम्पुस-ब्रेकन मितेरी सम्बन्धको पाचौं वर्षगाँठ भव्यताका साथ सम्पन्न भएको छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस र बेलायतको ब्रेकन सहर बीच मितेरी सम्बन्ध गाँसिएको पाँच वर्ष पूरा भएकोमा शनिबार(१० फेब्रुअरी २०२४) का दिन धम्पुसमा औपचारिक कार्यक्रम सहित वार्षिकोत्सव मनाइएको हो ।
पाचौं वर्षगाँठ मनाउन ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका अध्यक्ष डेभिड मेरिडिथ, माछापुच्छ्रे गाउँपालिका र वेल्सको ब्रेकन सद्भावनादूत तथा ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूके-नेपालका सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभीओ)सहित ७ सदस्यीय प्रतिनिधिमण्डल नेपालका आएका थिए । टोलीमा ब्रेकन काउन्सिलका भू.पु. मेयर एवं ब्रेकन-धम्पुस ट्वीनिङ एसोसिएसन यूकेका अध्यक्ष मेरिडिथ, समाजसेवी/व्यवसायी मेजर गुरुङ (एमभीओ), नेपाली भिलेज युकेका सचिव बिक्रम भट्टराई लगायत छन् ।
कार्यक्रममा धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङ उहाँको श्रीमती मिना गुरुङ, अन्य सदस्यहरु धम्पुसमा जन्म भई बेलायत बस्नेहरु, सहारा क्लब युकेका अध्यक्ष कृष्ण गुरुङ, सहारा क्लब युकेका भू.पु अध्यक्ष कुसँग गुरुङ दम्पति र नेपालका पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मंजु गुरुङ राई पनि सहभागी भएका थिए ।
धम्पुस गाउँमा प्रवेश गर्दा अतिथीहरुलाई माछापुच्छ्रे गाउँपालिका-७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीको नेतृत्वमा नौमती बाजासहित खादा, फूलमालाले स्वागत गरिएको थियो । टोलीलाई बाजागाजासहित धम्पुसका दुई गाउँ परिक्रमा गराई वडा कार्यालयमा आयोजित समारोहमा सरिक गराइएको थियो ।
कार्यक्रममा धम्पुस-ब्रेकन टुईनिङ एसोसिएसन नेपालका सह-संयोजक प्रेम बहादुर गुरुङले स्वागत मन्तव्य, नेवा खलंका अध्यक्ष अशोक पालिखे, धम्पुस समाज युकेका कुमार गुरुङले शुभकामना मन्तव्य राखेका थिए भने माछापुच्छ्रे गाउँपालिका र वेल्सको ब्रेकन सद्भावनादूत तथा ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूके-नेपालका सल्लाहकार मेजर खुसीमान गुरुङ (एमभीओ)ले मितेरी सम्बन्धको पाँचौं वर्षगाँठको उपलक्ष्यमा सबैलाई बधाई ज्ञापन गर्दै यसको महत्व, उपलब्धि र आगामी दिनमा गर्नु पर्ने विषय प्रस्ट पारेका थिए । ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन यूकेका अध्यक्ष मेरिडिथले मितेरी सम्बन्ध स्थापना भएको गाउँमा लगातार यो वर्ष पनि आउन पाउँदा आफूलाई खुसी लागेको भन्दै यसलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
वडाध्यक्ष भण्डारी र आमा समूहले बेलायतबाट आएका काउन्सिल सहितका पाहुनालाई मायाको चिनो र नेपालको राष्ट्रिय फूल लालीगुराँस प्रदान गरेका थिए । त्यसपछि आयोजित रात्रिभोजमा सहभागी गराइएको थियो । रात्रिभोजमा धम्पुस गाउँको दुई आमा समूहले लोक नृत्य गरेर मनोरञ्जन दिलाएका थिए भने अतिथिहरु खुसी भएर आमा समुहलाई एक लाख पांच हजार(रु.१,०५,०००/-) आर्थिक सहायोग गरेका थिए ।
पहिलो चोटी धम्पुस-ब्रेकनबीच सन् २०१९ मा भएको हो । पहिलो वर्ष २०२० मा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमसहित वर्षगाँठ मनाइएको थियो । तर, दोस्रो र तेस्रो वर्षमा विश्वव्यापीरुपमा कोरोना महामारीका कारण वार्षिकोत्सव मनाउन नपाइए पनि चौथो र पाचौं वर्षगाँठ मनाउन पाइएकोमा मेजर गुरुङले खुसी व्यक्त गरे ।
कार्यक्रमका सञ्चालन ब्रेकन-धम्पुस टुईनिङ एसोसिएसन नेपालका सचिव असिम गुरुङले गरेका थिए ।