Homeअन्य | OTHER LINKआलेख | ARTICLEसोल्टी सोल्टिनीको अभियान ।

सोल्टी सोल्टिनीको अभियान ।

सोल्टी सोल्टिनीको अभियान ।

–रोशन गुरुङ

कुनै गुरुङ गाउँमा, पहाडहरू अटल र साहसी भएर गाउँलाई अँगालो हाल्दै उभिएका थिए। ती पहाडहरूले आफ्नो विशाल छातीमा गाउँलाई थामिरहेका थिए, मानौं कुनै वीर सेनानीले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ। चट्टानहरू मूर्तिहरूझैं उभिएर, सदियौंदेखि पूर्खाहरूका मौन साक्षी बनेका थिए। जङ्गल, एक मायालु आमाजस्तै, हरेक रूखको हाँगामा आफ्ना सन्तानहरूलाई न्यानो काखमा लुकाएर राख्थ्यो—नाइँपोलो (भाङ्ग्रा बनाउने सिस्नु) का हरिया पात, लालीगुराँसका राताम्मे फूलहरू, जङ्गली फूलहरूको सुगन्ध, र साना झारहरूलाई समेटेर खुसीको मुस्कान छरिरहेको थियो।

डाँडाको टुप्पोबाट बिहानी घामको पहिलो किरण रूखका पातहरूमा परेर सुनौला गहना झैं चम्किन थाल्यो, र बग्दै गरेको खोलाले गाउँभरि मधुर संगीतको मीठो लहर छरिरहेको थियो। गुरुङ समुदायका लागि प्रकृति केवल दृश्य मात्र होइन, उनीहरूको लागि भगवान् हाे । उनीहरूको आत्मा हो।

गाउँको बीचमा ठूलो क्होंइम्बों(मन्दिर), उनीहरूको संस्कृति, परम्परा, र पूर्खाहरूको ज्ञानको साक्षी बनेर उभिएको थियो। जसलाई सबैले सम्मानपूर्वक झुकेर नमन गर्थे । सबैलाई एकताको मालामा बाँधेर राखेको क्होंइम्बों वरिपरिकाे हावा पनि शान्त र मृदुल लाग्थ्यो । बुढापाकाहरू भन्थे यो भूमि, पानी, र हावा—सबैमा अथाह शक्ति छ । उनीहरू यहाँको प्रत्येक कुना र खोंचमा,  पूर्वजहरूको अंश र उपस्थितिको अनुभूति गर्छन्, मानौं पहाडका धड्कनहरू उनीहरूको आफ्नै मुटुको धड्कनसँग तालमेल मिलाउँछन्। प्रकृति मैत्रीपुर्ण छ ।

त्यो गाउँको एकजना सोल्टी खोलाको किनारमा उभिरहेका थिए । उनकाे आँखा खोलाको छालसँगै बगीरहेका थिए। उनले आफ्ना हातहरू हल्का माथि आकाशतिर उठाउदै गुरुङ परम्परामा प्रार्थना गरे, “छ्याजालो क्ल्हेसाेंदी ! छ्याजालाे प्ह्रेसाेंदी !” उनका ओठबाट निस्किएका यी शब्दहरूले आकाश र पृथ्वीलाई पुकारे, मानौं उनी आफ्ना पूर्खाहरु र प्रकृतिको अनन्त शक्तिसँग आत्मीय रूपमा जोड्न खोजिरहेका थिए।

त्यही बेला, सोल्टिनीको पाइलाहरूले खोलाको किनारमा चुपचाप आगमनको संकेत गरे। उनका आँखाहरूमा जिज्ञासा र अनुहारमा सौम्य मुस्कान थियो। उनी सोल्टी नजिक पुगेर सोधिन्, “सोल्टी ! के खोज्दैछौ यहाँ?”

सोल्टीले गहिरो दृष्टिले खोलाको प्रवाहलाई हेर्दै भने, “म सोचिरहेको छु—हाम्रो बाजेहरुले खोलालाई भगवान् मान्थे, तर हामी यसलाई केवल पानीको प्रवाह मात्र देख्छौं।”

सोल्टिनीले गम्भीर स्वरमा उत्तर दिइन्, “हो, हामी पूर्खाहरूको ज्ञान बिर्सिदैछौँ, सोल्टी। हामीले प्रकृतिसँगको सन्तुलन पुनःस्थापित गर्न सिक्नुपर्छ।”

त्यसपछिको मौनतामा, खोलाको मधुर आवाजले वातावरणलाई झनै गहिरो र अर्थपूर्ण बनायो। सोल्टीका आँखा क्षितिजतर्फ एकटक टोलाइरहेका थिए, जहाँ टाढा पर्वतहरू युगौं-युगदेखि अडिग उभिएका थिए। उनका मनभित्र एक प्रकारको द्वन्द्व चलिरहेको थियो—आधुनिक शिक्षा र परम्परागत ज्ञानको बीचमा। उनका आँखा गहिरा थिए, तर एक हल्का तरंग पनि देखिन्थ्यो, मानौं उनी प्रकृतिसँग संवाद गर्न खोज्दैछन्, कुनै अज्ञात उत्तरको खाेजीमा ।

त्यतिबेला, सोल्टिनीले हल्का हावाको स्पर्श महसुस गर्दै भनिन्, “सोल्टी, हेर, यी रूखहरू, ती पर्वतहरू, यी सबै हाम्रो कथा बताउँछन्। हामी केवल देख्न सक्दैनौं।” उनका शब्दमा एक किसिमको पवित्रता र सम्मान झल्किन्थ्यो।

नजिकैको बाँसका पातहरू हल्का सुसाएर हल्लिए, मानौं उनीहरूको संवादलाई समर्थन गर्दै छन्। सोल्टिनीको आँखामा विश्वास र निश्चयको चमक थियो । उनी आफ्नो शब्दहरूको अर्थलाई गहिरो रूपमा महसुस गर्दै थिइन्। टाढाबाट एउटा चरा कराएकाे आवाज सनियो, मानौं वातावरणको सम्पूर्णता प्रकृतिसँग जोडिएको थियो। सोल्टीको मनभित्रको द्वन्द्व अझै बलियो भयो। उनले सोचे, “के साँच्चै हामी याे ज्ञान सदाका लागि बिर्सिरहेका छौं?” उनको मनमा प्रश्नहरू उम्लिन थाले।

उनले टाढा नदीको किनारतिर हेरे जहाँ ढुंगाका खण्डहरू पानीको प्रवाहसँग खेल्दै थिए। उनको मनभित्र पनि यस्तै तरंग चलिरहेको थियो—एक किसिमको आवेग र असन्तुलन। उनले महसुस गरे, प्रकृतिको हरेक तत्वले आफ्नो सन्तुलन राख्न खोजिरहेको छ, ठीक जस्तै उनी आफ्नो जीवनको उत्तर खोजिरहेका थिए।

सोल्टिनीले सोल्टीको ध्यान तान्दै भनिन्, ” हाम्रो पूर्खाहरूले कहिल्यै यी चिजहरूको महत्त्वलाई नजरअन्दाज गरेनन्। उनीहरूले सधैं प्रकृतिको शक्ति र पूर्खाहरूको आशीर्वादलाई महत्त्व दिए।”

“तिमीले ठीक भन्यौ, सोल्टिनी। हामीले यो कुरा बुझ्नुपर्छ।” उनीहरु दुवैले महसुस गरे कि उनीहरू केवल नदी किनारमा छैनन्, तर आफ्ना पूर्खाहरूको हृदयमा, जसले प्रकृति र जीवनको वास्तविक अर्थलाई अँगालेका थिए।

उनीहरूले थाहा पाए, यो कुनै संयोग थिएन कि उनीहरू यहाँ उभिएका थिए, प्रकृतिको शान्त तर शक्तिशाली उपस्थितिमा—यो एक संकेत थियो, एक आह्वान, उनीहरूको वास्तविक ज्ञानलाई पुनर्जीवित गर्ने।

उनीहरूको मनमा निर्णयको बीज अंकुराउन थाल्यो। सोल्टीले दृढतापूर्वक भने, “अब हामीले केही अभियान सुरु गर्नुपर्छ। यहाँबाटै, जहाँ प्रकृतिको शक्ति हाम्रो सामुन्ने छ।”

खाेलाकाे छाल, पर्वतको शान्ति, र बाँसका पातहरू सबैले सहमति जनाएझैं एकसाथ हल्लिए, मानौं उनीहरूको यात्रा यहीँबाट सुरु हुँदैछ। तर, गाउँका युवाहरू भने आधुनिक शिक्षा र शहरिया सोचले प्रभावित भई यी सब कुरालाई ‘पुरानो’ र ‘अन्धविश्वास’ भनेर मजाक उडाउथे। “हामीलाई इन्टरनेटले सिकाउँछ, किताबले पढाउँछ,” उनीहरू भन्थे, “यी सबै कुरा केवल पुराना कथाहरू हुन्।”

याे कुरा सम्झेर सोल्टिनीकाे अनुहारमा चिन्ता र करुणाको मिश्रित भाव देखियो । उनले भनिन्- “हामीसँग प्रकृतिबाट सिक्न धेरै कुरा छन्,” उनको आवाजमा एक गहिरो पीडा झल्किरहेको थियो, “तर हामी यसलाई बिर्सिरहेका छौं।”

“साेल्टिनीलाई के लाग्छ, कसरी नयाँ पुस्तालाई यो ज्ञान दिन सक्छौं?”

चारैतिर पहाडहरूको गहिरो निलो छायाँ परेको थियो, र जंगलको गहिराइबाट आउने चरा र जनावरहरूको ध्वनिले एक प्रकारको मौन संवाद झल्काइरहेको थियो। त्यही मौनतालाई चिर्दै सोल्टिनीको आवाज पुनः सुनियो, “हामीले युवाहरुलाई भेला गरेर प्रशिक्षित गर्नुपर्छ । नयाँ पुस्तालाई के थाहा, यी पहाडहरू, रूखहरू, र नदीहरू हाम्रो जीवन हुन्—हाम्रो आत्माको आवाज भनेर।”

उनको शब्दहरूमा गाउँको प्रकृतिसँगै गहिरो सम्बन्ध र प्रत्येक तत्वसँग जोडिएको मनोवैज्ञानिक भाव स्पष्ट झल्किन्थ्यो। बुढापाकाहरूको अनुहारमा अनुभवको तेज थियो, तर नयाँ पुस्तामा हराउँदै गएको त्याे अनुभवकाे कुनै प्रवाह थिएन ।

एकदिन गाउँको चाैतारामा सबै गाउँलेहरु भेला भए । भेलालाई उत्साहपूर्वक सम्बाेधन गर्दै सोल्टिनीले  भनिन्, “हामी गाउँका युवाहरूसँग एउटा अभियान सुरु गरौं। उनीहरुलाई मौलिक ज्ञान बुझाऔं । पुर्ख्याैली/प्राकृतिक स्थलहरूमा लिएर जाऔं । हाम्रो संस्कृतिका त्हेंहरूको महत्व बुझाऔं, र तिनलाई प्रकृतिको शक्ति महसुस गराऔं।”

यो प्रस्तावले चौतारोमा एकछिन मौनता ल्यायो। वृद्धहरूको अनुहारमा एउटा नयाँ चमक आयो, मानौं उनीहरूले एकाएक भविष्यको दिशामा उज्यालो देखे। जङ्गलको हावाले सोल्टिनीको कपाल हल्का हल्लाईरहेकाे थियो, उनको आवाज शीतल हावामा मिश्रित भई चौतारो वरिपरि घुमिरहेको थियो।

“यो राम्रो विचार हो, सोल्टिनी! हामी हरेक युवालाई पूर्खाहरूले प्रकृतिसँग कसरी सम्मानपूर्वक व्यवहार गर्थे भन्ने कुरा बताउन आवश्यक छ।”

अहिले साेल्टि आफ्नो अतीतको सम्झनामा हराउन थाले, जहाँ उनले आफ्ना पूर्खाहरूलाई पहाडको फेदीमा बसेर शक्तिशाली गुरुङ पुर्खाैली ठाऊहरुबारे/ माैलिक कथा सुनाउँदै गरेको देखेका थिए।

‘हाम्रो माैलिक साैन्दर्य के हाे ? बझाउनु छ ‘ उनले थपे, ‘युवाहरुले रूखको पातको सरसराहट, पानीको कलकल, र चट्टानको मौन भाषालाई बुझ्न सकून्। हाम्रो पवित्र पुर्खाैली स्थलहरूमा उनीहरूलाई महसुस गराऔं- प्रकृति हाम्रो जीवन र आत्माको हिस्सा हो। प्रकृतिलाई बुझे मात्रै जीवन सार्थक छ ।’ सोल्टिनी र सोल्टीको मनोविज्ञानमा एक नवीकरणको आभास भइरहेको थियो, मानौं पुरानो सोचलाई नयाँ तरिकाले पुनः जीवित गराउन खोजिरहेका थिए।

चारैतिर पहाडहरूको मौन समर्थन थियो, र चट्टानहरूले आफ्नो सदियौंदेखि राखेको गम्भीरता छोडेर केही क्षणका लागि मुस्कान बाँडेजस्तो देखिन्थे। आँखाहरूमा अब एक नयाँ सपना थियो—गाउँको युवा पुस्तालाई उनीहरूको जरा र आत्मासँग पुनः जोड्ने।

अभियानको थालनीमा नै, सोल्टी र सोल्टिनीले उत्साह र उमंगले भरिएका थिए। उनीहरूको अनुहारमा चमक थियो, आँखा उत्साहले झल्किरहेको थियो। गाउँका युवाहरूलाई एकत्रित गर्दै, उनीहरूले प्राकृतिक/ पुर्खाैली स्थलहरूको यात्राको योजना बनाए। तर, जब अभियान सुरु भयो, उनीहरूको मनमा एउटा गहिरो निराशा मडारिन थाल्यो।

वातावरण एकाएक बदलियो। हावा गहिरो साँझको जस्तो गह्रौं थियो, गाउँको खुल्ला मैदानमा सोल्टी र सोल्टिनीले युवाहरूलाई सम्बोधन गर्न थाले। युवाहरूको भीडमा भने बेवास्ता र अनिच्छा देखिन्थ्यो। केही युवाहरू एकअर्कासँग हाँसो गर्दै कुरा काटिरहेका थिए, कतिले त फोनमै आँखा गाडेर सुन्ने प्रयास पनि गरेनन्। उनीहरु आफनै दुनियाँमा मस्त थिए।

सोल्टिनीको मनमा अधिक पीडा छायो। उनले युवाहरूको अनुहारमा रहेको उपेक्षा देख्न सकिनन् । उनीहरूको हाँसोको आवाजले उनको हृदयलाई चिरे जस्तो लाग्यो। उनले ठुलो साहस जुटाउँदै भने, ‘तिमीहरूलाई थाहा छ, हामीले किन रूखलाई पूजा गर्छौं? किन पहाडलाई पुजा गर्छाैं ? प्रकृतिमा कति शक्ति छ ?’ तर, उनको आवाज हावामा हरायो, र कतिपय युवाहरूले खिसीको हाँसो गर्दै भने, ‘यो सब पुराना कथाहरू मात्र हुन्। उहिलेकाे कुरा खुइलिएर गयाे।’

सोल्टीको अनुहारमा गम्भीरता थियो, युवाहरूको यस्तो प्रतिक्रिया देखेर केही क्षणका लागि स्तब्ध भए। तर, उनले मनमनै सोच्दै आफ्नो मुस्कान लुकाए। ‘हामीलाई थाहा छ, यो सजिलो हुनेछैन,’ उनले शान्त स्वरमा सोल्टिनीलाई भने।

सोल्टिनीको आँखामा आँसुका थोपा झल्किए। ‘हामीलाई कसैको समर्थन छैन, सोल्टी,’ उनले उदास हुँदै भनिन्।

तर, सोल्टीले आफ्नो साहस गुमाएनन्। मुस्कुराउँदै जवाफ दिए, ‘हरेक काम सुरुमा गाह्राे हुन्छ। हामीलाई सुरुमा असहजता आइरहेको छ, तर हामी हार मान्दैनौं। हामी हाम्रो अभियान जारी राख्नेछौं।’

सोल्टीको मनमा आत्मविश्वास बलियो हुँदै गयो। उनले महसुस गरे, यो कठिन यात्रा हो, तर कहिल्यै हार मान्ने छैन।

चारैतिरको वातावरणले उनीहरूको मनस्थिति झल्काउँथ्यो—पानीको गर्जन, पातहरूमा हावाको सनसनाहट, र पहाडको मौनता। यी सबै, उनीहरूको अन्तर मनको द्वन्द्वको प्रतिबिम्ब बनेर, उनीहरूलाई चुनौती दिँदै थिए। तर, सोल्टी र सोल्टिनीको मनोविज्ञानमा एक दृढ संकल्प थियो, जसले उनीहरूलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहेको थियो।

उनीहरूको अभियानको दौरानमा धिरज नाम गरेका एक युवा, जो गाउँका अन्य साथीहरूलाई सधैं परम्परागत ज्ञान र संस्कारको बेवास्ता गर्न सिकाउँथे, एकदिन उनी टाढा घना जङलमा जादा अचानक गम्भीर बिरामी परे। उनका बाबा-आमा चिन्तित भएर उनलाई शहरका ठूला अस्पतालसम्म पुर्‍याए, तर कुनै पनि चिकित्सकहरूले रोग पत्ता लगाउन सकेनन्।

दिनहरू बित्दै गए, र उनको अवस्था झन् बिग्रँदै गयो। उनी टाेलाउने, पागलझै हुने गर्थे। घरि घरि आफनै सामु केही चीज आईरहेकाे भनेर त्रसित हुन्थे तर त्यहाँ केही आएकाे भने हुदैनथ्यो। अस्पतालका शैय्यामा लडेका धिरजको अनुहारमा निराशा र डर स्पष्ट देखिन्थ्यो। आधुनिक औषधि, सुई र थेरापीले केही गर्न सकेनन्, मानौं कुनै अदृश्य शक्तिले उनलाई असर गरिरहेको थियो ।

मानिसकाे शरीर र आत्मा दुवै हुन्छ। यी दुवैमा कुनै एकमा गडबडी भएमा स्वास्थ्यमा समस्या देखिन्छ। उनकाे समस्या आत्मिक गडबडीकाे थियाे। गर्नुपर्ने आत्मिक उपचार थियाे तर हस्पिटलले उनकाे शारीरिक उपचार गराईरहेकाे थियाे। त्यसैले उनकाे अवस्था झन गम्भीर हुँदै थियाे। धेरै खर्चाे भयाे तर उनी निकाे हुन सकेनन्।

धेरै प्रयासपछि, सोल्टी र सोल्टिनीले गाउँका एक पच्यु गुरुसंग सल्लाह गर्ने विचार गरे। पच्युले उनलाई प्राेप्राे त्हें (एक प्रकारको शक्तिशाली त्हें) गरेमा सन्चाे हुने सुझाव दिए।

यो ब्रह्माण्ड असीमित छ। विज्ञान भन्छ, हरेक वस्तुभित्र एउटा अथाह ऊर्जा लुकेको हुन्छ। हरेक चीज, चाहे त्यो पदार्थ होस् वा प्रकाश, ऊर्जामा परिणत हुन सक्छ र एउटा रूपबाट अर्को रूपमा परिवर्तन हुन्छ। आज हामी टाढा-टाढाका मानिसहरूसँग मोबाइलमार्फत सजिलै संवाद गर्न सक्छौं; यो सब विद्युतीय चुम्बकीय तरंगहरूको प्रसारणबाट सम्भव भएको हो, जुन ऊर्जा नै हो। आदिवासी/परम्परागत ज्ञानले यसलाई सदियौंदेखि प्रयोग गरिरहेको छ। घाम, जून, पहाड, पानी, र जङ्गल—यी सबैमा अपार ऊर्जा लुकेको छ। आदिवासीहरूले यो शक्ति र ऊर्जा पत्ता लगाएर आदिमकालदेखि नै मानव जीवनमा सन्तुलन ल्याएका छन्।

त्यही विधि पच्युलाई पनि थाहा थियो। त्हें गर्ने ठाउँमा गाउँलेहरु, युवाहरूको पनि जमघट थियो। पच्युले आवश्यक सामग्रीहरू जुटाए र त्हें विधि सुरु गरे। उनका आँखाहरूमा गहिरो विश्वास झल्किन्थ्यो। उनले प्रकृतिबाट आवश्यक ऊर्जा आफूमा ल्याए, र त्यो ऊर्जा बिरामीमा प्रसारित गरे।

नकारात्मक ऊर्जाको प्रभाव, जुन बिरामीको शरीरमा तरंगित भइरहेको थियो, विस्तारै निस्तेज हुन थाल्यो। धिरजको अनुहारमा राहतको भाव देखिन थाल्यो; उनी आफैँलाई पहिलेभन्दा हल्का महसुस गर्न थाले। दिनहरू बित्दै गए, र उनकाे स्वस्थता झन झन सुधार आयाे। उनको अनुहारमा एक किसिमको शान्ति फैलिन थाल्यो, जस्तो कि उनका आँखामा पहिले कहिल्यै नदेखिएको चमक देखियो। अन्ततः पूर्ण रूपमा निको भए ।  उनको परिवार तथा साथीहरू पनि खुशीले गद्गद् भए। यो सब देखेर उनका साथीहरू आश्चर्यचकित भए। यो कुनै चमत्कारभन्दा कम थिएन—यो प्रमाण थियो कि परम्परागत ज्ञान, जुन प्रकृतिसँगको गहिरो सम्बन्धमा आधारित छ, अझै पनि हाम्रो जीवनमा शक्ति र सन्तुलन ल्याउन सक्षम छ। आफ्नो नयाँ जीवनप्रति अचम्भित हुँदै एकदिन पच्यु सामु गए र सोधे, ‘यो कसरी सम्भव भयो? हस्पिटलले पनि असफल भएको ठाउँमा तपाईँको त्हेंले मलाई कसरी निको पार्‍यो!’

पच्युले गहिरो मुस्कानसहित उत्तर दिए, ‘तिमीलाई प्रकृतिको शक्तिले निको बनायो। यो प्रकृतिसँगको सन्तुलन र विश्वास हो। जब हामी प्रकृतिसँग एकाकार हुन्छौं, त्यसको शक्तिले सबै दुखाइहरूलाई पखाल्न सक्षम हुन्छ।’ यो कुरा सुनेर, धिरजको मनमा एक नयाँ विचार पलायो—”किन मैंले प्रकृतिलाई कहिल्यै बुझ्ने प्रयास गरिनँ ?” उनलाई थाहा थियो कि उनको सोचमा परिवर्तन आउँदैछ। गाउँको वातावरणमा शान्ति फैलियो, र उनको आँखामा एउटा नयाँ चमक थियो। यस्तो प्रतीत हुन्थ्यो उनी प्रकृतिको शक्ति र यसको गहिरो ज्ञानको बारेमा सोच्न थालेका छन्।

उनका साथीहरू पनि जो पहिले सधैं परम्परागत ज्ञानलाई ‘अन्धविश्वास’ भनेर उडाउँथे, अहिले उनीहरूको सोचमा एकाएक परिवर्तन देखिन थाल्यो। उनीहरूको मनमा, त्यो त्हेंको जादूझैं प्रभावको स्मृति ताजै थियो—उनीहरूले देखेको चमत्कारिक उपचार, जुन कुनै आधुनिक चिकित्सा विज्ञानले दिन सकेन। धिरज, जो पहिले हाँसोमा यी सबैलाई उडाउँथे, अब उनको मुटुमा एक गहिरो श्रद्धा जाग्यो।

गाउँको पुरानो चौतारोमा, जहाँ एकपटक उनीहरूले सोल्टी र सोल्टिनीलाई बेवास्ता गरेका थिए, त्यही चौतारोमा धिरज र उनका साथीहरू फेरि भेला भए। उनीहरूको अनुहारमा अनिश्चितता र चासोको मिश्रण थियो। हावामा हल्का शीतलता थियो, रूखका पातहरू सानो आवाजमा हल्लिरहेका थिए, मानौं उनीहरूले पनि यो परिवर्तनको स्वागत गरिरहेका थिए।

धिरजले अगाडि बढेर आफ्नो साथीहरूको तर्फबाट बोल्दै भने, “हामीले वर्षौंसम्म नकारेको यो परम्परागत ज्ञानमा साँचो शक्ति छ। अब हामीले यसलाई गहिराइमा बुझ्न चाहन्छौं।”

सोल्टी, जसले आफ्नो जीवनका अनगिन्ती वर्षहरू यो ज्ञान र विश्वासलाई बाँचेका थिए, मुस्कुराउँदै अगाडि आए। उनको आँखामा सन्तुष्टिको चमक थियो, उनले हौसिँदै भने, “देख्यौ, हाम्रा पूर्खाहरूको ज्ञानमा कति शक्ति छ। यो केवल कहानी मात्र होइन, हाम्रा पुर्खाहरूको आत्मा र जीवन हो। यसलाई नयाँ पुस्तासम्म पुर्याउन हामी सबैले प्रयास गर्नुपर्छ।” यो सुनिसकेपछि, धिरजका साथीहरूको मनमा पनि एक उत्सुकता जाग्यो। उनीहरूले महसुस गरे कि यो ज्ञान केवल अतीतको सम्पत्ति मात्र नभएर, भविष्यको मार्गदर्शन पनि हो।

गाउँमा जहाँ पहिले सन्नाटा र बेवास्ता थियो, त्यहाँ अब उत्साह र चाहनाको आवाज फैलियो। युवाहरूले गुरुङ परम्परागत ज्ञानलाई बुझ्न र संरक्षण गर्न थाले। हरेक दिन उनहरु मौलिक ज्ञानमा घाेत्लिन थाले। पहाडहरूको फेदमा बसेर, उनीहरू पूर्खाहरूको कथाहरू सुन्न थाले—कसरी पहाडहरूलाई अभिभावकको रूपमा सम्मान गरिन्थ्यो, र नदीलाई जीवनको प्रतीक मानिन्थ्यो।

अझै पनि, आधुनिक शिक्षा र विज्ञानको महत्त्वलाई बुझ्दै, उनीहरूले सोल्टी र सोल्टिनीको सल्लाहअनुसार पूर्खाहरूको अमूल्य ज्ञानलाई आधुनिक शिक्षासँग जोडेर अघि बढ्न थाले।

गाउँमा एक प्रकारको जीवन्तता भरियो। पातहरूको हरियाली झन् गाढा लाग्न थाल्यो, खाेलाको संगीत अझ मधुर सुनिन थाल्यो, र हावा पनि झन् मिठासको साथ बहन थाल्यो।

अन्ततः, युवाहरूले गुरुङ संस्कृतिको जरा र शक्ति बुझ्न थाले। उनीहरूको मनोविज्ञानमा परिवर्तन आएको थियो—अतीतलाई सम्मान गर्दै भविष्यलाई उज्यालो बनाउन एकताको नयाँ भावना जागिसकेको थियो। गाउँ अब केवल पहाडहरूको छायामा अडेको थलो थिएन, यो जीवित थियो, आफ्नो इतिहास र पहिचानलाई गर्वसँग अँगाल्दै।

सोल्टीको आँखामा गर्वको आँसु थियो। उनले सोल्टिनीलाई भने, “हेर, हाम्रो प्रयास सफल भयो। यी युवाहरूले अब महसुस गरेका छन् कि गुरुङ समुदायको प्रकृतिसँगको सन्तुलनमा आधारित ज्ञान एक अनमोल धरोहर हो, जसलाई संरक्षण र सम्मान गर्नुपर्छ।”

साँझको झमक्के उज्यालोमा, बुढापाकाहरूले गाउँको चौतारोमा नयाँ पुस्ताका लागि गीत गाउन थाले, “हाम्रो पहाड, हाम्रो नदी, हाम्रो रुख—यी सबै हामीसँग छन्, हामीभित्र छन्।” चिसो हावाले ती शब्दहरूलाई गाउँभरि फैलाउँदै लग्यो, मानौं प्रकृति स्वयं उनीहरूको शब्दमा सजीव भएको छ।

आधुनिक शिक्षा आवश्यक छ, तर पूर्खाहरूको ज्ञान पनि त्यति नै मूल्यवान् छ। यो ज्ञान, जसमा प्रकृतिसँगको सन्तुलन, जीवनको सार, र अस्तित्वको मर्म लुकेको छ, हाम्रो भविष्यको लागि आधारभूत हो। यो हामी सबैको जिम्मेवारी हो कि यस अमूल्य ज्ञानलाई बचाएर, नयाँ पुस्तामा हस्तान्तरण गर्ने। जीवनको सच्चा ज्ञान केवल किताबका पानाहरूमा मात्र होइन, तर पहाडहरूमा, नदीहरूमा, र हाम्रो आफ्नै समुदायको जरा र आत्मामा पनि भेटिन्छ। जब हामी आफ्नो जरा र आत्मालाई अँगालेर अगाडि बढ्छौं, हाम्रो भविष्य अवश्य उज्यालो हुनेछ।

-समाप्त-

नोट : कथाकार रोशन गुरुङ ईन्जिनियर तथा मानवशास्त्री पनि हुन् । उनले गुरुङ संस्कृतिमा आधारित पुस्तक, नाटक, चलचित्र लेख्दै आएका छन् । उनको पछिल्लो पुस्तक “The science of Gurung Culture” हो र पछिल्लो चलचित्र “सिमि नासा” हो

 

 

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments