संचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ घटस्थापनाको दिन सार्वजनिक
पोखरा १ कात्तिक । लामो समय संचार क्षेत्रमा क्रियाशील कास्कीको सिक्लेस गाउँ निवासी संचारकर्मी एवं युवा नेता देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ शनिबार घटस्थापनाको दिन सार्वजनिक भएको छ ।
देवीजंग गुरुङको शब्द तथा निर्माणमा नेपाल आइडलकी ममता गुरुङ र थमन गुरुङको स्वरमा तेजेन्द्र गुरुङले संगीत संयोजन गरेको गीत र भिडियो शनिबार स्ट्रीम नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको भिडियोमा सिक्लेसकै टीका गुरुङ, श्याम गुरुङको मुख्य अभिनय रहेको छ भने बालकलाकारहरु अमृत गुरुङ, अरुणा गुरुङ र इशा गुरुङको अभिनय छ ।
पर्यटकीय गाउँ सिक्लेसमा छायाँङ्कन गरिएको गीतको भिडियोमा पूर्णकुमारी गुरुङ ( रुपा ) को नृत्य निर्देशन र टौ गुरुङको सहनिर्देशनमा बनेको भिडियोलाई खिमबहादुर गुरुङले सम्पादन गरेका हुन् । टौ गुरुङ र जनम गुरुङले छायाङ्कन रहेको भिडियो निर्देशन देवीजंग गुरुङले गरेको हो ।
यसैबीच क्हार खबा ङोल्स्यो गीतमा आयोजित टिकटक प्रतियोगितामा कास्की जिल्ला मादी गाउँपालिका वडा नं १ खिलाङका विश्वास गुरुङ र मादी २ ताङतिङका रजनी गुरुङको समूह प्रथम भएको छ । ८५ समूहले सहभागिता जनाएको प्रतियोगितामा स्याङ्जा जिल्ला विरुवा ७ क झरना गुरुङ, सपना गुरुङ र सुआच्यो गुरुङको समूह द्वितीया र मादी ६ का खुशीमान क्षेत्री तृतीया भएका छन् ।
लाइक र भ्युजको आधारमा गरिएको प्रतियोगितामा प्रथम भएको समूहलाई प्रमाणपत्र र नगद ६ हजार, द्वितीयालाई प्रमाणपत्र र नगद ३ हजार र तृतीयालाई प्रमाणपत्र र नगद १ हजार ५ सय रुपैयाँले पुरस्कृत गरिएको थियो ।