Homeअन्य | OTHER LINKआलेख | ARTICLEसंगीतमा उदाउँदै उषा गुरुङ

संगीतमा उदाउँदै उषा गुरुङ

गुरुङ गीत ‘कोइलम म्हि छ्याब’ बाट सांगीतिक क्षेत्रमा परिचित बनेकी हुन् गायिका उषा गुरुङ । चर्चित गीतकार तथा संगीतकार मनोज गुरुङको शब्द रहेको गीतमा उषाले स्वर दिएकी छन् । ‘मेरो सांगीतिक यात्राको पहिलो सिंढी कोइलम म्हि छ्याब हो,’ उषाले भनिन्, ‘त्यसपछिका गीतहरुले मलाई अघि बढ्न थप सिंढीको काम गरेको छ । अरु सिंढीहरु पनि थपिँदै जाने छन् । ‘

गायिका उषाको १० वटा गुरुङ गीतहरु रिलिज भइसकेका छन् । अरु ५ वटा गीत रेकर्डपछि रिलिजको तयारीको रहेको उनले सुनाइन् । ‘द न्यु मेलोडियस ब्याण्ड’ मा आबद्ध रहेकी उषा प्रत्यक्ष गायनमा दर्शक श्रोताको प्रतिक्रिया तत्काल पाइने हुनाले आफूलाई लाईभ शोहरु मनपर्ने बताउँछिन् ।

कास्कीको मादी गाउँपालिका वडा नं ८ नागिधार गाउँमा जन्मिएकी उषाको बाल्यकाल गाउँमै बित्यो । उनी सानैदेखि रेडियो सुन्न खुब मन पराउँथिन् । ‘फुर्सदको समयमा रेडियोको कान बटार्न थालिहाल्थे, कुन फ्रिक्वेन्सीमा गीत बजेको छ भनेर,’ उषाले सुनाइन् । गायिका अन्जु पन्तको आवाजलाई मन पराउने उषालाई अन्जुको ‘जिन्दगी यो फूलै, फूलको थुंगो हुँदैन’ बोलको गीत अति मन पर्छ रे । कक्षा ८ सम्म स्थानीय प्रभात निम्न माविमा र कक्षा ९ देखि १२ सम्म हिमालयन उच्च माविमा अध्ययन गरेकी उषा विद्यालयको कार्यक्रमहरु साथै स्थानीय रुपमा गाउँमै हुने कार्यक्रमहरुमा पहिलेदेखि नै गाउने गर्थिन । ‘गीत गाउँदा सबैले हौसला दिनुहुन्थ्यो । त्यसैले पनि गाउनुपर्छ भन्ने भावना ममा बढ्दै गयो’ उषाले स्कुले जीवन सम्झिन् ।

संगीतसँगै पढाईलाई निरन्तरता दिइरहेकी उषाले भर्खरै पोखरा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेकी छन् । कक्षा १२ सम्मको पढाई गाउँमै गरेकी उषाले औपचारिक रुपमा संगीत भने स्नातक अध्ययनका लागि पोखरा आएपछि मात्र सिकेकी हुन् । गायनप्रति उनले देखाएको मोह देखेका उनका बुवाले विस २०७२ साल असोज महिनामा उनलाई पोखरा ११ रानीपौवामा रहेको जोजिजु म्युजिक सेन्टरमा संगीत सिक्न पठाए । जोजिजुमा उनले गायक तथा संगीतकार करण तामाङसँग भोकल क्लास लिएकी हुन् ।

गायिका बन्ने सपना बोकेर अध्ययनसँगै संगीतलाई पनि निरन्तरता दिइरहेकी उषा २०७५ सालतिर पोखराको तरेली सांस्कृतिक परिवारमा तत्कालीन संस्थाका सचिव रविन गुरुङमार्फत आबद्ध भइन् । त्यसपछि विभिन्न कल्चरल कार्यक्रमहरुमा गीत गाउने काम गरेकी उषाको आवाजलाई भने पहिलो पटक नेत्र गुरुङले रेकर्ड गर्ने अवसर दिए । गीतकार नेत्र गुरुङको शब्द र सुनिल गायकको संगीतमा उनले पवित्र नाता बोलको नेपाली गीत गइन् । यो मौका तरेलीका हालका अध्यक्ष गायक तथा संगीतकार राजबहादुर गुरुङले जुराइदिएका हुन् ।

‘मेरो आवाजलाई सुनीसक्नु भएका तरेली सांस्कृतिक परिवारका अध्यक्ष एवं गायक तथा संगीतकार राजबहादुर गुरुङ दाइले त्यसपछि मलाई चर्चित गायक तथा संगीतकार मनोज गुरुङ दाईसँग भेट गराउनुभयो, अनि मनोज दाइले पहिलो गुरुङ गीत ‘कोइलम म्हि छ्याब’ गाउने मौका दिनुभयो, जसले गर्दा अहिले म गुरुङ संगीत क्षेत्रमा छु,’ उनले भनिन्, ‘म उहाँ दुवै प्रति सधैं आभारी रहनेछु ।’

उषा छोटो समयमा पाएको सफलताबाट खुसी छिन् । अहिलेको अवस्थामा उनी आफ्नो कामबाट सन्तुष्ट छिन् । उषाको बुझाईमा संगीत सुर र तालको मिलाप हो । ‘यसले मन भित्रको भावना बोल्छ, सुखमा होस् या दु:खमा संगीत साथी बन्न सक्छ । त्यसैले पनि संगीत एउटा शक्ति पनि हो’, उनले भनिन् । उनी सांगीतिक क्षेत्रमा इमान्दार भएर संघर्ष गर्नेलाई टिक्न गाह्रो नहुने बताउँछन् । यद्यपि संगीतप्रतिको संघर्ष, साधना र धैर्यता भने आवश्यक हुने उनको धारणा छ ।

उषा आफूलाई संगीत क्षेत्रमा सधै अघि बढ्न प्रेरित गर्ने श्रेय आफ्ना बुबालाई दिन्छन् । ‘मेरो बाबा पहिल्यैबाट संगीतप्रेमी हो, उहाँले चाहेर पनि त्यो बेला आफ्नो इच्छा पूरा गर्न सक्नु भएन,’ उनले भनिन्, ‘त्यसैले पनि अहिले म बाबाको इच्छा र मेरो चाहनालाई अंगाल्दै संगीत क्षेत्र छु र यसमै रहन्छु ।’ उषाले कोइलम म्हि छ्याब, पवित्र नाता, ङै माया क्योलाई, ङै सैर्बै म्रुस्यो, पोसीगाउँ चिनारी गीत, सै न्होरी थेले थेनो, ए ङोल्स्यो, ए ङोल्स्यो नानी, धर धर, म्ही छ्याब स्वर दिएकी छन् । उनको ठूलो काभ्रे गाउँ चिनारी गीत, तल्लो चरा गाउँ चिनारी, चिली कोइबो गीत, संगीनी र ङजे म्रोब गीत पनि रिलिज भएको छ ।

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments