पोखरामा ट्होटें तमु धिं र समाजघरमा मनाइयो ।
पोखरा, २९ साउन । हरेक वर्षको चैत र साउन महिनामा गुरुङ समुदायको मौलिक साँस्कृतिक पर्व ट्होटेंको रौनक हुन्छ । परापूर्व कालदेखि मनाउदै आएको ट्होटें यो वर्षलाई पछिल्लो समय तमु धिं नेपालको अगुवाईमा चैत र साउनको अन्तिम मंगलबार विशेष र्यालीसहित पोखरामा मनाउँदै आइएको छ । यो वर्षदेखि तमु धिंले आफ्नो कार्यालय र प्रत्येक तमु समाजघरहरुमा मनाउने निर्णय गर्यो । सोही अनुसार अहिले तमु धिं र तमु समाजघरहरुमा ट्होटें मनाइएको छ । मंगलबार गण्डकीका करिब १ सय ४८ गाउँमा ट्होटें पर्ब मनाइएको तमु धिंका संस्कृति खोज अनुसन्धान बिभाग प्रमुख कृष्णकुमार गुरुङकको दाबी छ ।
पोखराका करिब ७० संघसस्थाले पनि सामुहिक रुपमा यो पर्व भनाएको उनले सुनाए । चैतमा अझै भव्य बनाइने उनले सुनाए । तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुका अनुसार साउनमा मनाइने ट्होटेंलाई केही परिमार्जन गरिएको बताए । ‘हाम्रो कार्यसमिति, क्षेत्रीय अध्यक्षहरुको सल्लाह अनुसार साउनमा मनाइने ट्होटेंलाई थोरै परिमार्जन गरेका छौं,’ उनले भने, ‘चैतको ट्होटेंलाई सामुहिक रुपबाट सडकमा भव्य रुपमा मनाउने भनेर अभ्यास गरेका छौं । अब हेरौं योपछि के समिक्षा हुन्छ ।’ सोही अनुसार तमु धिंमा कार्यसमिति, सल्लाहकार, युवा र आमा समिति जम्मा भएर मनाएको उनले बताए ।
तमु (गुरुङ) भाषामा ट्होको अर्थ राज्य वा गाउबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ । ट्होटें पर्व मनाउनाले रोग, ब्यथा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुख–शान्ति प्राप्त हुने जनविश्वास छ । साथै ट्होटें मनाएमा राक्षस, भूतप्रेत भाग्ने तथा कुसँस्कृति हट्छ भन्ने पनि पुरानो मान्यता छ । तर, पछिल्लो समय गुरुङहरुको पहिचान स्थापितका गर्नका लागि ट्होटें मनाउने गरिएको अध्यक्ष गुरुङले बताए । विगतमा आफ्नो ट्हो (राज्य) सुरक्षाका लागि मनाउने पर्व परिमार्जित स्वरुपमा पोखरामा मनाइएको अध्यक्ष गुरुङले जानकारी दिए ।
पहिले गाँउ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले उनका अनुसार तमु धिंले २०५२ सालदेखि सामुहिकरुपमा ट्होटें मनाउदै आएको छ । ‘अहिले हामी शहरमा बसीसकेपछि हाम्रो बैरी भनेको विभेद, अन्याय, अत्याचार, भ्रष्टचार, विकृति, विसंगतीको अन्त्य भएर समतामुलक समाज निर्माण हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तमुहरुले पनि विभिन्न विभेद भोगिरहनुपरको छ । सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक रुपमा अझै पनि विभेद छ । सबै संस्कृतिले समान अवसर पाउनुपर्छ भनेर पनि हामीले जोड दिइरहेका छौं ।’