पोखराको स्वास्थ्य क्षेत्रलाई अझ गुणस्तरीय बनाउँछु : डा.असिम क्रोम्छें तमू
३ चैत्र २०७६, सोमबार /रोशनी गुरुङ
गुरुङ जातिको कूलमा जन्मेर परदेशको सपना देख्न छोडेर आफनै देशमा भविष्य देख्ने र रमाउने थोरै गुरुङ युवाहरु मध्ये डा.असिम गुरुङ एक प्रतिनिधि पात्र हुनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज चिकित्सा क्याम्पसबाट एम.एस.जेनेरल सर्जरी शैक्षिक कार्यक्रममा वर्ष २०७५ सालको सि.पी.मास्के (एफ.आर.सि.एस) स्वर्ण पदक (गोल्ड मेडल) जित्न सफल होनाहार व्यक्तित्व हुन डा.असिम गुरुङ ।
कास्की जिल्लाको मादी गाउँपालिका वडा न. ३ याङजाकोट देउराली पुख्र्यौली घर भएका असिमको जन्म भने पोखरा १२ भद्रकाली मार्गमा वि.सं. २०४५ साल माघ १४ गते बाबा आशबहादुर क्रोम्छे तमू र आमा शान्तिदेवी तेल्मै तमूस्योको कोखबाट भएको हो ।
पोखराको रामघाटमा रहेको प्यारामाउन्ट पब्लिक स्कूलबाट वि.सं. २०६१ सालमा एस.एल.सी. परिक्षा उत्र्तिण गर्नुभएका असिमले पोखराको लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कूलबाट विज्ञान विषयमा १२ कक्षासम्मको अध्ययन गर्नुभयो ।
सानैदेखि पढाईमा असाध्यै रुचि राख्ने ज्ञानी र मेहेनती स्वभावका असिमलाई आफनो भविष्यको सुनौलो बाटो तय गर्न आमा बाबाले कहिल्यै सम्झाउनु नपरेको बाबा आशबहादुर क्रोम्छे सम्झिनु हुन्छ । स्कूलमा पढ्दा सधै कक्षामा प्रथम भईरहने असिम गुरुङले ११ र १२ कक्षामा पनि गण्डकी बोर्डिङ स्कूलमा कक्षा टप गर्न सफल हुनुभयो ।
हुने विरुवाको चिल्लो पात भन्ने त नेपाली समाजमा उखान नै छ । यो उखान कतिपय व्यक्तिको सन्र्दभमा लागु नभएता पनि धेरै जसोको हकमा भने लागु हुन्छ । जसरी असिम गुरुङको हकमा पनि यो उखान चरितार्थ भएको छ ।
स्कूले बालक हुँदाखेरी कक्षामा प्रथम स्थान हाँसिल गरेर उहाँले आफनै नाममा बनाएको रेकर्ड अहिलेसम्म उहाँकै नाममा छ । किन भने त्यसपछि उहाँले आफनो पढाई र विषयगत क्षेत्रमा न त दोस्रो हुनु परेको छ न त पछाडि फर्केर हेर्नुपरेको छ ।
यहि मेहेनत र संघर्षले गर्दा उहाँ विश्वविद्यालय तहको उच्च तहमा पनि गोल्ड मेडलिष्ट हुन सफल हुनुभयो । यो उहाँको मात्रै सफलता नभएर उहाँको परिवार र सिङ्गो क्होला परिवार एवम् याङजाकोटबासीको लागि अत्यन्तै गौरवको कुरा हो ।
पोखराको मणिपाल शिक्षण अस्पतालबाट ५ वर्षे एम.बि.बि.एस कोर्ष अध्ययन गर्नुभएका असिमले उक्त विषय प्रथम श्रेणीमा उत्र्तिण गर्नुभयो । त्यसपछि एकवर्षसम्म पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी हस्पिटल) मा जागिरे हुनुभयो ।
पुनः अध्ययनलाई नै निरन्तर अगाडि बढाउने क्रममा उहाँ फेरि जागिर छोडेर पढ्नमै व्यस्ता हुनुभयो । यसरी उहाँले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज चिकित्सा क्याम्पसबाट तीन वर्षको एम.एस. (मास्टर सर्जरी) को पढाई पुरा गर्नुभयो ।
जुन पढाई पुरा गरेसँगै उहाँ त्रिभुवन विश्वविद्यालयको (TU) टपर र गोल्ड मेडलिष्टको रुपमा आफूलाई उभ्याउन सफल हुनुभयो । जुन सफलता र शानले उहाँको मात्रै होइन पुरै तमू समुदायको शिर ठाडो भएको हामीले महशुस गरेका छौ ।
हाल उहाँ अध्ययनकै शिलशिलामा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज चिकित्सा क्याम्पसमै पूर्ण सरकारी छात्रवृत्तिमा तीन वर्षको एम.सि.एच.(न्यरो सर्जन) को पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ । डाक्टरहरुको पनि डाक्टर मानिने यो पढाई पुरा गर्न अझै उहाँलाई दुई वर्ष लाग्ने छ ।
अहिले डा.असिमले सरकारी छात्रवृत्ति मात्रै पाउनुभएको छैन । आफनो विषय पढिरहँदा पनि नेपाल सरकारले मासिक रुपमा उहाँलाई आम डाक्टरहरुले पाउने पारिश्रमीक पनि उपलब्ध गराएको छ । त्यसकारण असल छोरा जन्माएर डाक्टर पढाउने असल आमा बाबासँगै अब उहाँलाई अझै विद्धवान बनाउने जिम्मा नेपाल सकारले लिएको छ ।
त्यसैले मेहेनत गर्नेहरुका लागि नेपालमै सम्भावनाका ढोकाहरु प्रशस्तै छन भन्ने उद्हारण हो डा.असिम गुरुङ ।
डाक्टर बन्न के कस्तो मेहेनत र संघर्ष गर्नुपर्छ ? भन्ने मेरो प्रश्नमा उहाँले यो एकदमै लामो र कठिन यात्रा रहेको बनाउनुभयो । डाक्टर बन्नेहरुको हर पाइलामा नयाँ नयाँ चुनौती र समस्यहरु आउने गर्छन ।
हामीले आफनो परिवार, ईष्टमित्र, चाडपर्व भन्दापनि आफनो बिरामीप्रति बढी उत्तरदायी हुनुपर्छ त्यसकारण पनि कारण म नियमित आफनो काममा तल्लिन हुने गर्छु । उहाँले भन्नुभयो ।
आफू अस्पतालमा नहुँदा पनि अर्थात विदामा हुँदा र काम विशेषले बाहिरा हुँदा पनि उहाँलाई आफनो क्षेत्रको बिरामी के भईरहेको होला ? त्यो बिरामीलाई कस्तो खाले उपचार गर्नुपर्छ होला भन्ने कुरा नै दिमागमा खेलिरहन्छ रे त्यसकारण पनि समग्रमा आफनो लागि भन्दा अरुको लागि आफनो जीवन सर्मिपत गरेको छु उहाँले भन्नुभयो ।
डाक्टर बन्न चाहाने भाइबहिनीहरुलाई उहाँको सुझाव यस्तो छ । (यो क्षेत्रमा आउने हो भने दृढ संकल्प लिएर आउनुपर्ने जरुरी छ । यहाँ एकदिन दुईदिनको कुरा हुँदैन । दिनहुँको परिश्रम र लगनशीलतालाई निरन्तरता दिनुपर्छ । वर्षौ वर्षसम्मको लागि यो क्षेत्रमा टिकि रहनुपर्छ ।)
साथै नयाँ भाइबहिनीहरुलाई कसरी यो क्षेत्रमा प्रवेश गर्ने भन्ने बारे उहाँको सल्लाह यस्तो छ । (सुरुमा प्लस टु सकिएपछि एम बिबिएसको छनौट परिक्षा त्रिभुवन विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय र पाटन विश्वविद्यालय मार्फत विद्यार्थी छनौट गर्ने प्रक्रिया हुन्छ । त्यसमा भाग लिनुपर्छ ।
त्यसपछि एम.डि, एम.एस आफूलाई मन परेको विषय रोज्नुपर्छ जस्तै (मेरो शल्यक्रियाको विषय भए जस्तै) त्यसपछिको यो क्षेत्रको पढाई जीवनभर चलिरहन्छ । त्यसैले जीवनभर पढाईलाई आत्मासाथ गर्न चहाने व्यक्तिलाई यो पेशामा स्वागत छ ।)
मानिस आफनो उद्देश्यमा पुग्न र सफल हुनलाई आफनो मेहेनत, सम्पूर्ण परिवार, इष्टमित्र र साथीभाइको साथ अपिरहार्य रहेको उहाँ बताउनु हुन्छ । आफनो अग्रजलाई सम्मान गर्ने र अनुजलाई माया गर्दै अघि बढेमा जीवनमा सफलता अवश्य हातपर्छ । त्यसैले निरन्तर कोसिश, आफनो कार्यप्रतिको माया, ममता र बिरामीप्रतिको निष्ठा भयोभने उद्देश्य प्राप्त गर्न र सफल हुन ढिला नहुने उहाँको भनाई छ ।
यसरी लामो समयदेखि घर परिवारबाट टाढा बसेर आफनो ज्ञानको सागर बढाउदै, सीप र दक्षता वृद्धि गर्दै, जीवनलाई सिकाई र भोगाईको माध्यमबाट पूर्ण बनाउँदै गर्नुभएका डा.असिम गुरुङ आफनो पढाई पुरा भएपछि पोखरामा फर्किएर यहाँकै जनताको सेवा गर्ने र पोखराको स्वास्थ्य क्षेत्रलाई अझ गुणस्तयीय बनाउन भूमिका निवार्ह गर्ने सोचमा हुनुहुन्छ ।