पोखराका महिलाहरु बीच ‘ओमेन्स स्पोर्ट्स इभेन्ट्स २०८०’ आयोजना गर्ने !
१० भदौ २०८० पोखरा ।
The Women`s Club of Pokhara ले स्वास्थ्य तथा सुन्दरताका लागि खेलकुद भन्ने मुल नाराका साथ यहि भदौ १६ गते पोखरा रंगशालामा “Women`s Sports Events 2080” भन्ने खेलकुद कार्यक्रमको आयोजना गर्ने भएको छ । महिला सशक्तीकरण समाज र देशकै विकासका लागि अपरिहार्य भन्ने अवधारणाका साथ गठन गरिएको द ओमेन्स क्लब अफ पोखराले ३५/४० वर्ष माथिका महिलाहरुलाई तिनको शारीरिक र मानसिक स्वास्थ्य प्रति लक्षित गर्दै उक्त खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको कुरा आज आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक सारिका गुरुङले बताएको हो ।
एउटी घरकी महिला आफ्नो परिवारको मेरुदण्ड हो । उ आफू स्वस्थ रहेमा परिवारलाई स्वस्थ र सुखी राख्न सक्दछ यही दृढताका साथ उक्त खेलकुद कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सम्पन्न गराउन आर्थिक, नैतिक र भौतिक रुपले सहयोग गर्न सबैमा अनुरोध गरिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको साथै समाज र राष्ट्रको विकासमा महिलाको महत्व र अधिकार बारे विभिन्न सामाजिक क्रियाकलापहरु गरेर समाज समुदायलाई जागरुक बनाउने, समाज समुदायमा मानसिक र स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, वातावरण संरक्षण सम्बन्धी कार्यक्रम तथा अभियान सुरु गर्ने, अनाथ तथा अशक्त बालबालिकाहरुको अधिकार संरक्षण गर्ने बारे कार्यक्रम ल्याउने र महिला उत्थानका लागि सीपमूलक कार्यक्रमहरु ल्याउने आदि द ओमेन्स क्लब अफ पोखराको लक्ष्य र उद्देश्य रहेको विज्ञप्तिमा उल्लेख गरेको पाइन्छ ।
यो कार्यक्रममा Women` Sports Events 2080 अन्तरगत कुन कुन खेल खेलाइदैंछ र विशेषगरी यो कुन प्रतियोगिता हो भन्ने पत्रकारहरुको प्रश्नमा घरको चुलो चौका र करेसाबारीमा सिमित महिलाहरूलाई ग्राउन्डमा उतार्न यो पहिलो प्रयास भएकोले हाललाई उमेर अनुसार ह्यान्ड बल, बेलुन रेस, रस्साकस्सीलाई प्राथमिकतामा राखिएको बताउँछन् कार्यक्रम संयोजक एवं द ओमेन्स क्लब अफ पोखराका अध्यक्ष सारिका गुरुङ । यसरी आयोजना गर्न लागेको कार्यक्रममा लगभग ३ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेट तय गरेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।