पोखरा-१४ सगरमाथाटोलमा अवस्थित पोंचोकों तमु परिवार (समाज) ले ३ दिने मुक्तिनाथ दर्शन तथा मुक्तिक्षेत्र अवलोकन भ्रमण यहि कार्तिक १७ गतेदेखि हिजो १९ गतेसम्म सम्पन्न गरी पोखरा फर्केका छन । यो मुक्तिक्षेत्र हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्दछ ।
लमजुङको मर्स्याङ्दी-१ र २ घनपोखरा र क्होलासोथर-३ घले गाउँ, बगुम, खोगुम, काम्दु र फुल्म्रो गाउँदेखि बसाइँसराइको क्रममा पोखरा आइ बसोबास गरेका तमुहरुको सामाजिक संस्था पोंचोकों तमु परिवार (समाज) हो । २०६८ सालमा स्थापना भइ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएको र हालसम्म आइपुग्दा समाजमा ११९ घरधुरी आवद्ध रहेको कुरा समाजका उपाध्यक्ष बम बहादुर टुक्ल्हेप्री तमुले बताएको छ । यो उमेरमा घरै बसिराख्नु भन्दा धार्मिक, सामाजिक र साँस्कृतिक चेतना अभिवृद्धिका लागि नयाँ नौलो ठाउँहरुको अध्ययन अवलोकन गरिनुपर्छ भन्ने हेतुले भ्रमणमा निस्केका हौं समाजका अध्यक्ष सु.मे. राज कुमार क्रोम्छें तमु बताउँछन् ।
पोंचोकों तमु परिवारका अध्यक्ष सु.मे.राज कुमार क्रोम्छें तमु र समाजका महिला उपसमितिका संयोजक चिनमाया त्होर्जे तमुको संयोजकत्वमा समुहगत तीन समुहमा विभाजन गरी भ्रमण तय गरेका थिए । यसरी तीन समुहमा विभाजन गरिए अनुसार समुह (क) मा सचिव शेर बहादुर टुक्ल्हेप्री तमु र सहसचिव योगेश क्याप्छैं तमु, समूह (ख) मा निवर्तमान उपाध्यक्ष इन्स्पेक्टर जीवराम टुक्ल्हेप्री तमु र युवा उपसमितिका संयोजक जीत बहादुर टुक्ल्हेप्री तमु, यसैगरी समूह (ग) मा सु.मे. गोपाल बहादुर त्होर्जे तमु र पूर्ण बहादुर टुक्ल्हेप्री तमुले संयोजन गरेका थिए ।
यसरी सम्पन्न भएको मुस्ताङ भ्रमणमा ९३ जना पोंचोकों तमु परिवार र ६ जना तीनवटा बसका स्टाफ गरी जम्मा ९९ जनाको भ्रमण टोलीलाई निवर्तमान अध्यक्ष क्या. कुम राज सुकु तमु, वर्तमान उपाध्यक्ष बम बहादुर टुक्ल्हेप्री तमु र नेपाल राष्ट्र बैंकका पूर्व सहनिर्देशक तिल बहादुर क्याप्छैं तमुको विशेष नेतृत्वमा सुविधाका लागि खाना बस्न र यातायातको व्यवस्था मिलाएका थिए ।