दुर्गा घोताने ‘मिलन’ को प्रमुख आतिथ्यतामा गोर्खाली रेडियोको साधारणसभा सम्पन्न
पोखरा, भदौ ।
गोर्खा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित गोर्खाली रेडियो १०६ मेगाहर्ज शनिबार १५ औं वार्षिक साधारण सभा गरेको छ । संस्थाका अध्यक्ष सु.मे श्रीप्रसाद गुरुङको अध्यक्षता एवं रेडियोका संरक्षक, मिलन ग्रुप अफ नेपालको संस्थापक संयोजक मिलन फाउन्डेसन नेपालको परिकल्पनाकार तथा संस्थापक संरक्षक, मिलन वल्ड डट न्युज (www.milanworld.news)का अध्यक्ष एवं वरिष्ठ समाजसेवी दुर्गा घोताने ‘मिलन’ को प्रमुख आतिथ्यतामा तमु धिं नेपालको रोधिं हलमा कार्यक्रम भएको हो । प्रमुख अतिथि दुर्गा गुरुङ ‘मिलन’ ले वीर गोर्खालीहरुको योगदानले सञ्चालित रेडियोको निरन्तरताको शुभकामना दिनुभयो ।
रेडियोलाई बचाइराख्नका लागि विज्ञापन दिएर वा अन्य सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । रेडियोले विभिन्न सामाजिक कार्य गरेको स्मरण गर्दै अब गाउँगाउँको कृषि क्षेत्रको उजागर गर्नुपर्ने बताउनुभयो । सञ्चार प्रतिको विश्वासनियता र लोकप्रियता कायमै राख्न सुझाव दिनुभयो । आगामी दिनमा पनि रेडियोको हरेक गतिविधिमा आफ्नो सहयोग निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो । मिडियाले हुने खानेहरुको भन्दा पनि हुँदा खानेहरुका समाचारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । तमु धिं नेपालका अध्यक्ष हुम तमुले मिडियाले आवाज विहिनहरुको आवाज बोल्नुपर्ने तर, अकुत सम्पती कमाउनतिर लाग्न नहुनेमा उहाँले सजग गराउनुभयो । सञ्चारमा गरिएको लगानि सेवाको लागि हो भन्ने भावना जागृत गर्नका लागि सेयर सदस्यहरुलाई उहाँको सुझाव थियो । यस्तै, रेडियोका सल्लाहकार पदमशोभा गुरुङ, अर्का सल्लाहकार कर्णेल कृष्णबहादुर खत्री, कपिलबस्तुका खेमालिपि अभियान्ता, टु जिआरका क्या हिक्मत गुरुङ, फोर जिआरका अध्यक्ष सु. रामप्रसाद गुरुङ एट जिआरका अध्यक्ष क्या. गजबहादुर गुरुङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सोंपाल तमु समाजको पूर्वअध्यक्ष क्या. धनबहादुर गुरुङ, बौद्ध अघौं सदनका पूर्वअध्यक्ष क्या. मनबहादुर गुरुङलगायत रेडियोको शुभचिन्तक र सहयोगीहरुलाई सम्मान पनि गरिएको थियो । साधारण सभामा सचिव चन्द्रावती गुरुङको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष उपमेजर देउबहादुर गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो । सचिव चन्द्रावती गुरुङ र स्टेशन मेनेजर खिमा गुरुङले सञ्चालन गरेको कार्यक्रममा स्टेशन म्यानेजर खिमा गुरुङले नै स्वागत गर्नुभएको थियो । न्यूरोडबाट सञ्चालित रेडियो निकट भविष्यमै नयाँबजारस्थित तमु धिंको भवनबाट सञ्चालन हुन लागेको स्टेशन म्यानेजर गुरुङले जानकारी दिनुभयो ।