दुर्गा गुरुङ “मिलन” द्वारा गोर्खाली रेडियोलाई नगद र फोटो पत्रकार मणि गुरुङलाई क्यामेरा हस्तान्तरण
२७ मङ्सिर ,पोखरा । पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा जन्मिएर हाल हङकङमा बस्दै आउनु भएका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले १ लाख रुपैयाँ राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । गुरुङको सकृयतामा स्थापित मिलन फाउन्डेसन नेपालले आयोजना गरेको एक कार्यक्रममा बुधबार गोर्खाली रेडियोलाई नगद रु १ लाख रुपैयाँ अक्षकोष स्वरुप हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि मिलन ग्रुप अफ नेपालको संस्थापक संयोजक दुर्गा गुरुङ मिलनका पुज्यनीय आमा सावित्री गुङले रेडियोका अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङ, सल्लाहकार क्याप्टेन भुपाल सिंह गुरुङ र स्टेशन म्यानेजर खिमा गुरुङलाई नगद हस्तान्तरण गर्नुभएको थियो ।
समाजसेवी गुरुङ हाल हङकङमा नै रहेको भएपनि उहाँ संरक्षक रहेको संस्था मिलन ग्रुप अफ नेपालबाट प्राप्त भएको रकमबाट अक्षयकोष स्थापना गरेको हो । गुरुङले आफ्नै निजी खर्चबाट २०६८ सालमा पर्वत जिल्ला अस्पतालको अाँखा उपचार केन्द्रमा २ लाख राशिको अक्षयकोष शुरु गर्नु भएको थियो । हालसम्म स्वास्थ, शिक्षा, कृषि र सञ्चारलाई विभिन्न सहयोग गर्नुको साथै विभिन्न अक्षयकोष स्थापना गरिसक्नुभएकोछ । साथै उक्त अवसरमा फोटो पत्रकार मणिलाल गुरुङलाई नगद दुई लाख ८० हजार बराबरको क्यानन आर सेभेन क्यामेरा हस्तान्तरण गर्नुभएको थियो ।
रेडियोका अध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङ र फोटो पत्रकार मणिपाल गुरुङले सहयोगको लागि धन्यबाद तथा खुसी व्यक्त गर्नुहुँदै सहयोगले ठूलो टेवा मिल्ने बताउनुभयो । मिलन सुप अफ नेपालका संस्थापक संयोजक, मिलन फाउण्डेशन नेपालका परिकल्पनाकार तथा संस्थापक संरक्षक समाज सेवी दुर्गा गुरुङ मिलनको ५७ औं जन्मोत्सवको शुभ–अवसरमा भिन्न संस्थाहरुलाई सहयोग गरिएको गुरुङले बताउनुभयो । उक्त अवसरमा हङकङ बस्दै आउनुभएको उहाँको आमा सावित्री गुरुङलाई स्वागत गरिएको थियो । मिलन फाउण्डेशन अफ नेपालको कार्यवाहाक अध्यक्ष देवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सागर पौडेलले गर्नुभएको थियो ।