गुरुङ संस्थाहरु ग्लोबलाइजेशनको असरबारे सचेत हुनु आवश्यक छ : ई.रोशन गुरुङ
पोखरा, मणी तमु, २०८०, वैशाख ६
ईन्जिनियर तथा मानवशास्त्री रोशन गुरुङ वालिङ–४, एलादी, स्याङ्जामा जन्मेका हुन् । उनले विगत एक दशक देखि गुरुङ संस्कृतिबारे कलम चलाउदै आएका छन् । ‘आहा नि क्या राम्री गुरुङसेनी'(कथा सङ्ग्रह), कसरी खाऊँ म्लेक्यु(नाटक), म्लेक्यु(चलचित्र), सिमि नासा(चलचित्र), गुरुङ संस्कारको वैज्ञानिक चिरफार, The science of Gurung culture उनका कृतिहरु हुन् । केही दिन अघि मात्र उनले फेसबुकमा गुरुङहरुको नातासम्बन्धबारे थेसिस गरेको कुरा सार्वजनिक गरेका थिए । प्रस्तुत छ उक्त थेसिसबारे उनीसंग मिलन वल्ड डट न्युजका प्रबन्ध निर्देशक मणी तमुसँग गरिएको संक्षिप्त कुराकानी :
१. तपाईले गुरुङकै बारेमा किन थेसिस गर्नुभयो ?
गुरुङ संस्कृति लोपउन्मुख छ । जसको संरक्षण आवश्यक छ । संस्कृति लोप हुदा ठुलो क्षति हुन्छ । संरक्षणको जिम्मेवारी राज्य र गुरुङहरु दुवैको काँधमा छ । राज्यले त संरक्षणको जिम्मेवारी बोध नै गर्दैन बरु हस्तक्षेप गरिरहेको छ । म व्यक्ति गुरुङ भएको नाताले पनि मेरो केही जिम्मेवारी छ । त्यसैले गुरुङबारे थेसिस गरेको हुँ ।
गुरुङ संस्कृति लोप हुदै छ भने यो किन र कसरी लोप हुदै छ ? लोप गराउने तत्व के हो ? पत्ता लगाउन आवश्यक छ । अनि मात्र संरक्षण गर्न सकिन्छ । मेरो थेसिसको उदेश्य यसमा केही टेवा पुर्याउनु पनि हो ।
२. तपाईको थेसिसको विषयवस्तु बताइदिनुस् न ?
मेरो थेसिसको विषयवस्तु भनेको “Impacts of Globalization on kinship practices of Gurung” हो । Globalizaation(भुमण्डिलिकरण)ले गुरुङ kinship(नाता सम्बन्ध)मा किन र कसरी असर गरिरहेको भन्नेबारेमा केन्द्रित छ ।
३. Globalization(ग्लोबलाइजेसन) भनेको के हो ?
पहिले हामी सबै गाऊँमा थियौं । गाऊँमा केही टोलहरु हुन्थें । अहिले पुरै विश्व(संसार) नै एउटा गाऊँ जस्तै भएको छ । विश्व नै खुम्चिदै गाऊँ जस्तै भएको छ । विश्वभरिका मानिसहरु एउटै गाऊँमा बसे जस्तो भइरहेको छ, यसलाई नै ग्लोबलाइजेसन भनिन्छ । देशहरु त टोल जस्तै भएको छ । एउटा टोलबाट अर्को टोलमा पुगेझै अहिले हामी एउटा देशबाट अर्को देशमा सजिलै पुग्न सक्छौं । गाऊँको टोलमा कुनै घटना भए प्रत्यक्ष असर पर्थ्यो । अहिले कुनै देशमा केही भए विश्वलाई असर गर्न सक्तछ । जस्तै कोराना भाईरस चीनमा फैलिएको थियो तर असर भने विश्वभरि सबैलाई भयो ।
`
४. गुरुङ समुदायमा नातासम्बन्धको के कस्तो महत्व छ ?
मानव समाजमा पहिले देखि नै kinship(नातासम्बन्ध)को महत्व रहदै आएको छ । गुरुङ समुदाय पनि नातासम्बन्धको जगमा टेक्दै आएको समुदायको हो । नाता सम्बन्धले कर्तव्य र जिम्मेवारी निर्धारण हुन्छ । जन्मदेखि मृत्यु संस्कार सबैमा नातासम्बन्धको महत्वपुर्ण भुमिका हुन्छ ।
५. कस्तो खालको महत्वपुर्ण भुमिका हुन्छ, कुनै उदाहरण ?
हामी जन्मिछौं, हुर्कन्छौं र मर्छौं । यो अकाट्य नियम हो । सफल जीवन जीउन यो नियमसंग सामाञ्जस्त हुनु पर्दछ । यसको लागि हामीले विभिन्न संस्कार गर्ने गछौं । त्यो संस्कार फेरि नाता सम्बन्धमा निर्भर छ । जस्तै दाज्युभाई ईष्टमित्र बिना विवाह संस्कार सम्पन्न हुन सक्दैन । (अर्घुम)मृत्युसंस्कार पनि हुदैन ।
६. ग्लोबलाइजेसनले कसरी नाता सम्बन्धलाई असर गर्यो र ?
मेरो थेसिसको फाइन्डिङस् मध्ये यहाँ एउटा बताउन चाहन्छु । सबै यहाँ बताउन सम्भव हुदैन । नातासम्बन्ध समान्यता ३ प्रकारको हुन्छ । पहिलो, consanguinal kinship (रगतको नाता) । दोस्रो, affinal kinship (विवाहको नाता) । तेस्रो, fictive kinship (न विवाह, न रगतको नाता) । Conganguinal kinship मा रगतको नाता हुनाले दाज्युभाई दिदीबहिनीहरु पर्छन् । Affinal kinship कुटुम्बको नाता हुनाले यसमा मामामाइजु, भान्जाभान्जी, सोल्टिी सोल्टिनीहरु पर्छन् । Fictive kinship यी दुवै सम्बन्धभन्दा बाहिरको हो । जस्तै मितेरी साइनो । हामी अफिसमा काम गर्छौ. विभिन्न स्टाफ साथीहरु हुन्छन्, उनीहरु fictive kinship मा पर्छन् । तुलनात्मक रुपमा, यो सम्बन्ध क्षणिक र फितलो हुन्छ ।
हामीलाई हरेक संस्कारमा चाहिने भनेको consanguinal र affinal kinship हो । त्यसैले हामी यी दुई सम्बन्धको बढी अभ्यासमा थियौं र हाम्रो सम्बन्ध एकदमै बलियो थियो । तर ग्लोबलाइजेसनले यी दुई सम्बन्धमा हलचल गराउदै fictive kinship तर्फ हामीलाई संक्रमण गराएको छ । जसको असर हाम्रो नातासम्बन्धमा परिरहेको छ ।
७. कसरी ?
मानवशास्त्री Appadurai का अनुसार ग्लोबलाइजसनमा ethnoscape हुन्छ । यो भनेको flow of people हो । हामी गाऊँमा जीविकोपार्जनको लागि मेलापात । अर्मपर्म गर्थ्यो । रोजगारी, अध्ययन या अन्य कुनै कारणले हामी गाऊँ सिमाना बाहिर छौं । यो ग्लोबलाइजेसनको विशेषता हो । ग्लोबलाइजेसनको गर्दा हामी मेलापात गर्नबाट कोही अफिसमा पुग्यौं । कोही फयाक्ट्री पुग्यौं । कोही कम्पनीमा पुग्यौं । यो आवश्यकता पनि हो । आफनो गाऊँ ठाऊँ भनेको consangunal/affinal kinship अभ्यास हुने ठाऊँ हो । अफिस, कम्पनी, फयाक्ट्री सबैमा हुने भनेको fictive kinship हो । यसले के देखाउछ भने हामी बढी fictive kinship को अभ्यास गर्दै छौं । हिसाब नै गर्ने हो भने महिनौं सम्म हामी आफनो परिवार, दाज्युभाई, ईष्टमित्रहरुसंग भेट हुदैन तर आफनो सर्कलका साथीहरुसंग दिनहुँ जस्तो भेट हुन्छ । ग्लोबलाइजेसनले हामीलाई रोजगारी जस्तो अवसर दियो । यो राम्रो कुरा हो । तर नातासम्बन्धलाई भने असर गर्दै गयो । यो गम्भीर कुरा हो ।
८. यो कुन दृष्टिकोणले गम्भीर छ ?
मैंले अघि नै भनें गुरुङ संस्कृतिको जग भनेको नातासम्बन्ध हो । नातासम्बन्ध नरहने तर संस्कृति रहने भन्ने हुदैन । नातासम्बन्ध हराउदै गएसी संस्कृती पनि स्वतः हराउदै जान्छ । जस्तै अर्घुम गर्न दाज्युभाई, ईष्टमित्र चाहिन्छ । दाज्युभाई इष्टमित्र हराउदै गएसी अर्घुम हुन सक्ने कुरा नै हुदैन । संस्कृति हराएसी हाम्रो अस्तित्व, पहिचान हराउछ ।
९. अब के गर्ने त ?
ग्लोबलाइजेसनबाट हामी अछुतो हुन सक्दैनौं । ग्लोबलाइजेसनका धेरै सकारात्मक पाटाहरु पनि छन् । जस्तै यसले रोजगारी दिएको छ । एकअर्काबाट दुर रहेर पनि हामी गुरुङ भाषा, संस्कृतिबारे कुरा गर्न सक्छौं । सकारात्मक पाटाहरुको उपयोग गर्दै नकारात्मक असर कम गर्दै जानुपर्दछ । यो सम्भव छ । गुरुङ संस्थाहरु ग्लोबलाइजेसनको असरबारे सचेत हुनु जरुरी छ । जिम्मेवार भएर विभिन्न योजनाहरु, पहलहरु गर्नु आवश्यक छ ।