तमु धिं नेपालको ३८ औं वार्षिक साधारण सभा समापन भएको छ । शनिवार पोखरा नयाँबजार स्थित तमु धिं कार्यालयमा एक कार्यक्रम वीच सभाको समापन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै पोखरा महानगरपालिका कार्यलयका उप–प्रमुख मन्जुदेवी गुरुङले तमु धिं नेपालले तमुहरुको पहिचान दिनु मात्र नभै, सामाजिक तथा राजनीतिक पाटोमा समेत ठूलो टेवा मिलेको विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा उप–प्रमुख गुरुङले हक, अधिकार सुनिश्चितका लागि सवै तमुहरु एक हुन पर्नेमा जोड दिनुहुँदै, लोकसेवा आयोग तथा हरेक नेतृत्व तहमा पुग्नका लागि अघि वढ्न आग्रह गर्नुभयो । साथै उहाँले राज्यवाट पाएको अधिकार मागेर हैन, खोसेर लिनुपर्ने बताउनुभयो । कार्यक्रममा तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमु, तमु धिं नेपालका अध्यक्ष हुम वहादुर तमु, संस्थाका साउदी अरव प्रभास शाखा अध्यक्ष खेम गुरुङ, ङ्योई तमु धिंका महासचिव कासीमाया गुरुङ लगायतले समग्रमा संस्थाको संरक्षण गर्न सके, मुलुकको विकासमा टेवा मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन संस्थाका महासचिव जुना कुमारी तमु र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गम बहादुर तमुले प्रस्तुत् गर्नुभएको थियो । कार्यक्रमको अवसरमा आगामी मंसिर ४ गतेका लागि विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार हुनभएका तमुहरुलाई परिचय तथा शुभकामना समेत दिइएको थियो ।