हुम गुरुङ | पोखरा २९ असोज । स्याङ्जा समाज यूकेले स्याङ्जा कालिगण्डकी गाउँपालिका वडा नं. ४ बिर्घा, खहरे, कट्टे गाँउ तथा वालिङ नगरपालिका वडा नं.११, १२ र १४ का बाढी पहिरो पीडितहरुलाई बिहीबार २ लाख रुपैयाँ राहत वितरण गरेको छ ।
गत असार ३० गते र असोज ८ गतेको बाढी पहिरो पीडित १० परिवार र एक नाबालकलाई वालिङ नगरपालिका कार्यालय परिसरमा राहत वितरण गरिएको हो । जिल्लाबासी दैविक प्रकोपले पीडित भएको अवस्था र नेपालीको महान् चाड दसैं आगमनसँगै पीडामा थोरै भए पनि मल्हमपट्टि लगाउन राहत वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, कालीगण्डकी गाँउपालिका वडा नं.४ का वडाध्यक्ष चक्रपाणी पाण्डे, नेपाल मगर संघ कालीगण्डकी अध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दर्शन रानाले राहत रकम वितरण गरेका थिए।
कार्यक्रममा पीडित वालिङकी उमाकला नेपालीको एकाघरको ८ जनाको परिवारलाई २८ हजार रुपैयाँ, वालिङकै दुर्गा थापाको परिवारलाई १२ हजार रुपैयाँ र वालिङका पीडित नाबालकलाई १० हजार रुपैयाँ, यसरी नै कालीगण्डकी गाँउपालिका वडा नं.४ बिर्घा, खहरे, कट्टेगाउँका पीडित बीरबहादुर थापाको परिवारलाई २० हजार, देवबहादुर थापाको परिवारलाई २० हजार, टीकाराम थापाको परिवारलाई २० हजार, चक्रबहादुर थापाका परिवारलाई २० हजार, गिमानसिंह थापाको परिवारलाई २० हजार, प्रेमचन्द्र पाण्डेको परिवारलाई २० हजार, बाबुराम दमाईको परिवारलाई १५ हजार र आउमाया दमाईको परिवारलाई १५ हजार रुपैयाँ राहत वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि वालिङ नगरपालिका प्रमुख दिलिप प्रताप खाँणले वालिङ र कालीगण्डकीबासीको पिडामा यूकेबाट दुःखमा दुःख साट्नुहुने स्याङ्जा समाज यूके एवम सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे । विदेशीभूमिबाट पीडितलाई राहतका लागि आभार व्यक्त गर्दै अत्यन्तै मानवीय सेवामा भूमिका निर्वाह गर्ने स्थानीय संयोजक, यूके र स्याङ्जालाई जोड्ने मेजर लक्ष्मीप्रसाद गुरुङ, यूकेमा संयोजन तथा अगुवाई गर्ने सहयोगीहरुलाई आभारका साथै धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरेका कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले असार ३० गते कालीगण्डकी गाँउपालिका र असोज ८ गते वालिङको दुखद् घटनामा राहत प्रदान गर्ने स्याङजा समाज यूकेलाई गााउपालिका र आफ्नो तर्फबाट धन्यवाद व्यक्त गरे। दुःखमा सहयोग नै मानवीय सेवा भएकाले स्याङ्जा समाज यूके एक उदाहरण बनेको भन्दै अध्यक्ष थापाले प्रशंसा गरे।
कार्यक्रममा स्याङ्जा समाज यूकेका नेपाल प्रतिनिधि एवम् सल्लाहकार नेपाल राहत वितरण कार्यक्रम संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ एमभीओ बीइएमले राहत संकलन र वितरणका बारेमा जानकारी गराउँदै स्याङ्जाबासीको दुःख पीडामा केही समय अगाडि यूकेमा गठित स्याङ्जा समाज यूकेले थोरै भने पनि राहत सहयोग गरेको बताए । राहत वितरण कार्यक्रमको संचालन रेडियो गोर्खाली १०६ मेगाहर्जकी स्टेशन मेनेजर खिमा गुरुङले गरेकी थिइन् ।
समाजसेवी शारदा गुरुङको अध्यक्षतामा गठित स्याङ्जा समाज यूकेका महासचिव बलराम ढकालको संयोजकत्वमा राहत संकलन भएको थियो भने वितरणको स्थानीय संयोजनको भूमिका नेपाल मगर संघ कालीगण्डकी अध्यक्ष दर्शन रानाले गरेका थिए ।