स्याङ्जा । वालिङ नगरपालिका–१ रामबाच्छाका क्याप्टेन रुकबहादुर गुरुङले आफ्नो घरमा बस्ने दश परिवारलाई चैत महिनाको घर भाडा छुट दिने घोषण गरेका छन् ।
लकडाउनका कारण काम गरेर खाने समुदायमा समस्या बढ्दै गएकाले आफूले घर भाडा छुट दिने निर्णय गरेको गुरुङले बताए । उनले भने, ‘लकडाउन पीडामा आहात नभइ राहतस्वरुप एक महिनाको घरभाडा छुट दिने घोषण गरेको हुँ ।’
रामबाच्छास्थित गुरुङको घरमा रामबाच्छा जीप समिति प्रा.लि.को कार्यालय र अन्य १० परिवार भाडामा बस्दै आएका छन् । विश्व नै संकटमा परेको बेला एकले अर्कोलाई साथ र सहयोग दिन जरुरी रहेको उनको भनाई छ ।
यसैगरी गुरुङले वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ नगरपाालिका कोभिड–१९ राहत कोषमा समेत १५ हजार नगद सहयोग गरेका छन् । विश्वभर सबै समुदाय कोरोना विरुद्दको अभियानमा एकजुट भएर अगाडि बढीरहको अवस्थामा क्याप्टेन गुरुङले गरेको सहयोगको वालिङ नगरपालिका प्रमुख दिलीप प्रताप खाँणले प्रशंसा गरे । रातोपाटि