Sunday, May 29, 2022
Google search engine
Homeअन्य | OTHER LINKआलेख | ARTICLEस्मृतिमा समाजसेवी गोपाल गुरुङ

स्मृतिमा समाजसेवी गोपाल गुरुङ

चिजकाजी गुरुङ
मंसिर २८, २०७७

स्मृतिमा समाजसेवी गोपाल गुरुङ

सबैभन्दा पवित्र सेवा नै समाज सेवा हो । पवित्र भएर पनि यो एउटा गारो विषय हो । जो कोहिले गर्न नचाहने र सबैको बसको कुरा नभएको सेवा समावसेवा हो ।

यसमा समय, लगनशिलता, धैर्यता, इमान्दारिता र अनुशासनको खाचो हुन्छ । चारित्रिक गुणको खरेडी लागेको आजको समयमा मानिसमा यी सबै गुण पाउनु सारै गारो छ । धन, समय र लगनशिलता खर्चेर समाज सेवामा लाग्ने विषय धेरैको लागि प्रिय हुन सक्दैन । समाज सेवा सगरमाथा भन्दा अग्लो र सागर भन्दा गहिरो हुन्छ भनेर बुझ्ने मानिस कम हुन्छन् र त्यसलाई बुझ्ने मध्येका एक हुनुहुन्थ्यो पूर्व गा.वि.स. अध्यक्ष तथा वरिष्ठ समावसेवी स्व. गोपाल गुरुङ्ग । जसरी फूलको थुङ्गाबाट रसस्वादन गरेर मह निकाल्ने काम मौरीले मात्र गर्न सक्दछ त्यस्तै मौरीको स्वरुपमा हामीले हाम्रा प्रातःस्मरणीय दाजु गोपाल गुरुङ्गलाई लिन सक्छौ । उहाँ हरेक क्षेत्रमा सम्भावना देख्नु हुन्थ्यो र नयाँ सोच र नयाँ उर्जाका साथ नयाँ नयाँ काम गर्न रुचाउनु हुन्थ्यो । एकता नै शक्ति हो भन्न्ने कुरामा विश्वास राख्ने उहाँले त्यसलाई गुरु मन्त्रको रुपमा पालना गर्न सबैलाई आग्रह गर्नु हुन्थ्यो । फलस्वरुप गाउँदेखि पोखरा र काठमाण्डौसम्म विभिन्न उद्देश्य भएका अनेकन सामाजिक र उपभोक्ता समुह गठनमा उहाँको महत्वपूर्ण योगदान रहेको पाउछौं ।

‘जीवन त्यही हो, जो परसेवारत होस्’ भन्ने भाव बोकेर जीवनपर्यन्त त्यसैमा लाग्नु भएका स्व. गोपाल गुरुङ्गको जन्म एउटा सामाजिक र राजनैतिक पृष्टभूमि भएको परिवारमा भएको थियो । बुबा स्व. आइ बहादुर गुरुङ्ग र आमा कुम्भ कुमारी गुरुङ्गको कोखबाट ४ छोरा र ३ छोरीमध्येको साँहिला सुपुत्रको रुपमा वि.स. २०१४ वैशाख २५ गतेको दिन पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १४ साबिकको आर्थर डाँडाखर्क वडा नं. ५ जरेखोलामा उहाँको जन्म भएको थियो । उहाँका बुबा आइबहादुर गुरुङ्ग तत्कालीन पञ्चायतकालमा लगातार १७ वर्षसम्म गाउँपञ्चायतका अति सक्षम र सफल प्रधानपञ्च हुनुहुन्थ्यो । गोपाल गुरुङ्गलाई राजनीति पारिवारिक विरासतको रुपमा प्राप्त भएको थियो । बाल्यकालमा उहाँ अति शान्त, सुशील, मिलनसार र तीष्ण बुद्धिको हुनुहुन्थो । ग्रामीण परिवेशको प्रतिकुल वातावरणका बाबजुद उहाँले औपचारिक शिक्षा लिने कुरामा आफूलाई कहिल्यै पछि राख्नु भएन वा भनौ शिक्षाको महत्वलाई बुझेर उहाँको परिवारले उहाँलाई पूर्ण सहयोग र साथ दियो । उहाँले प्रारम्भिक शिक्षा गाउँको विद्यालय श्री पञ्चकोशी नि.मा.वि.बाट प्राप्त गर्नुभयो भने माध्यमिक तहको शिक्षा गाउँबाट करिब २ घण्टा पैदल यात्राको दूरिमा रहेको ठूलीपोखरीको जनता सुदर्शन मा.वि.बाट हाँसिल गर्नुभयो । वि.स. २०३२ सालमा एस.एल.सी. उत्तीर्ण गरेपश्चात् काठमाण्डौको आर.आर.क्याम्पसबाट आइ.ए. र राजनीतिशास्त्रमा बी.ए. सम्मको अध्ययन पूरा गर्नु भएको थियो । उच्च शिक्षा हाँसिल गरेपछि परिवार र विशेष गरी बाबाको चाहना अनुसार उहाँ गाउँ फर्कनु भयो र बुबाको पदचिन्ह पछ्याउँदै समाजसेवा र गाउँको राजनीतिमा होम्मिनु भयो । दुःखको कुरा उहाँको आगमनसंगै सक्रिय सामाजिक र राजनीतिक जीवनमा रहँदा रहँदै बुबा मृगौलासम्बन्धी रोगका कारण वि.स. २०३९ सालमा ४९ वर्षको अल्पायुमा देहावसान हुनुभयो । अप्रत्यासी रुपमा आएको जीवनको त्यस मोडले उहाँलाई झनै कट्टीबद्ध भएर बुबाको सपना पूरा गर्न यस क्षेत्रमा लाग्न उत्प्रेरित ग¥यो । यसरी जीवनको उर्वरा समयमा एउटा शिक्षित युवाले रोज्ने गरेको शहरी जीवनयापन, राम्रो नोकरी वा ब्यापार ब्यवसायको पछि लाग्नुको साटो सानो उमेर देखि नै उहाँ जनताको सेवामा लाग्नु भयो र त्यसैमा स्वर्गीय आनन्दको अनुभूति गर्नुभयो । यसै बीच वि.स. २०३५ सालमा धर्मपत्नी तुलसी गुरुङ्गसंग उहाँको विवाह भयो र तीन छोरीको जन्म भयो । देश बनाउने नै राजनीतिले हो भन्ने सोच उहाँमा पाइन्थ्यो । सक्छौ राजनीति गर सक्दैनौ कम्तिमा बुभ्mने प्रयास गर भन्ने गर्नु हुन्थ्यो । भन्नेमात्र हैन २०४३ सालको निर्वाचनबाट तत्कालीन आर्थर गाउँपञ्चायतको प्रधानपञ्च निर्वाचित भए पश्चात उहाँ गाउँको सबैभन्दा शिक्षित र कान्छा प्रधानपञ्च हुनुभयो । राजनीति भनेको सेवा हो भन्ने कुरा राम्ररी बुझेका गोपाल गुरुङ्गले राजनीतिलाई समाजसेवासँग गाँसेर लोककल्यणमा लगाउने कर्मठ राजनैतिज्ञमध्ये उहाँ एक हुनुहुन्थ्यो । आप्mनो कार्यकालको दौरान गाउँलेलाई एकजुट गराइ गाउँलाई सम्मुन्नत बनाउने प्रयासमा उहाँले कुनै कसर छाड्नु भएन । सडक संजालबाट गाउँलाई जोड्ने सवालमा होस वा विद्यालयको स्तरोन्नति, हेल्थपोष्ट स्थापना, वन विकास, खानेपानी, विजुली, सिंचाई आदि जस्ता भौतिक पूर्वाधारको निमार्णमा उहाँको दूरदर्शिता र योगदान उल्लेख्यनीय रहेको छ । मृदुभाषी र अति शालिन स्वभाव भएकै कारण जस्तै परिस्थितिमा पनि कहिल्यै आवेशमा नआउनु र अरुलाई पिराउने खाल्को शब्द प्रयोग नगर्ने ब्यक्ति हुनुहुन्थ्यो । उहाँ सबैको समस्या धैर्यता पूर्वक सुने पछि आप्mनो औचित्यपूर्ण निर्णय दिने क्षमता राख्नुहुन्थ्यो । आप्mनो अख्तियारी प्रयोग गर्दा शक्तिको आड लिएर कहिल्यै पनि अनुचित र अनैतिक काम गर्नु भएन । त्यसै कारण कतिपय मानिस उहाँप्रति रुष्ट पनि देखिन्थे । जनताको सेवक भएर काम गरिरहदा आप्mनो सम्पत्ति भनैकै इमान्दारिता, निस्वार्थ भावको सेवा र जनमानसबाट प्राप्त गर्ने प्रेम, सदभाव र सदासयता हो भन्ने मान्यता राखेकै कारण निरङकुश पञ्चायती शासन ब्यवस्थाको अवसानपश्चात् पनि उहाँ रा.प्र.प्रा.को प्रतिनिधि भएर पुनः वि.स. २०५३ देखि २०५८ सालसम्म पूर्ण बहुमतका साथ निर्वाचित हुनु भइ गा.वि.स. अध्यक्षमा कार्यरत रहनु भयो ।

राष्ट्रिय राजनीति संग प्रत्यक्ष सम्बन्ध रहि रहँदासमेत र सफल कार्यकालको पगडी शिरमा बाधेको अवस्था रहँदा रहँदै पनि पछिल्लो समय उहाँ राजनीतिबाट त्यति सन्तुष्ट रहेको देखिदैनथ्यो । देशमा व्याप्त अराजनैति तन्त्र, भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद आदि देखेर उहाँ जस्ता नैतिकवान् राजनीतिज्ञको मन त्यसबाट विरक्तिएको होला भनेर सहजै अनुमान लगाउन सकिन्छ किनभने उहाँले राजनीति संगसगै गर्दैआएको समाजसेवा प्रतिको उहाँको कृयशिलता भने अझ बढेर गएको पाइन्छ । पञ्चायतकाल देखि प्रजातन्ञ, लोकतन्त्र र गणतन्त्रसम्मको शासन ब्यवस्थालाई हेरेको र भोगेको गोपाल गुरुङ्ग पछिल्लो समय देशको राजनैतिक अवस्थाबारे चिन्तित हुने गर्नुहुन्थ्यो ।

पञ्चासेसँगको मोह

२०४५ सालमा स्व. राजा विरेन्द्र जिल्ला भ्रमणमा रहँदा दर्शन भेटको बेला प्रधानपञ्चको हैसियतले आप्mनो पञ्चायतको केवल एउटा मात्र समस्या भन्ने अवसर पाएको बेला प्रचुर सम्भावना बोकेको पञ्चासेको संरक्षण र विकासको कुरा गर्दा राजाले चासोका साथ कुरालाई सुनेको भए तापनि उहाँका सल्लाहकारहरुले सकारात्मक भूमिका नखेलिदिएको कारण कुनै सुनुवाइ हुन नसकेको गुनासो उहाँ पोखिरहनु हुन्थ्यो । त्यही झोंकमा पञ्चासेको संरक्षण र विकासमा आफ्नै तवरले लाग्ने निधो सहित गाउँमा सामुदायिक वन प्रवद्र्धन र खाली जग्गामा वृक्षारोपण गर्ने अभियानको सुरुवात गरी उहाँले संरक्षण कार्यको थलानी गर्नु भयो । पञ्चासेलाई पर्वत, कास्की र स्याङजा गरी तीन जिल्लाको संगम स्थलको रुपमा पहिचान गराउनुका साथै त्यहाँको धार्मिक, ऐतिहासिक तथा जैविक विविधताको संरक्षण र प्रवद्र्धन गरी त्यसलाई पर्यटन जस्ता विषयसंग गाँसेर सर्वसाधारणको जीविकोपार्जनसँग प्रत्यक्ष जोड्ने काममा उहाँ निरन्तर लाग्नु भयो । त्यसै क्रममा गा.वि.स. अध्यक्ष रहँदा ताका नै माछापुच्छ्रे विकास संघले पदेन सदस्यको रुपमा सल्लाहकार राखेपछि उहाँको अभियानले संस्थागत साथ पाएको पाइन्छ । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषका तत्कालीन निर्देशक डा. चन्द्रबहादुर गुरुङ्ग र जुद्ध गुरुङ्गबाट पञ्चासे विकासको योजनाबद्ध सल्लाह प्राप्त गरेपछि भने उहाँ पञ्चासेमा समर्पित भएर लाग्न थाल्नु भयो ।

पञ्चासे र गाउँ केन्द्रित गतिविधिहरु

पञ्चासे र गाउँ केन्द्रित गतिविधिहरुमा वि.स. २०४५ देखि सामुदयिक वन प्रवद्र्धन र साविकको आर्थर डाँडाखर्क गा.वि.स.मा कुल ५ वटा सामुदायिक वन दर्ता गर्ने काम सम्पन्न ,गा.वि.स.को खाली जग्गामा विभिन्न प्रजातिका ५० हजार विरुवा रोपी वृक्षारोपण सम्पन्न, वि.स. २०५६ सालदेखि पञ्चासे क्षेत्रको जैविक, धार्मिक तथा पर्यटन प्रवद्र्धन, पञ्चासे क्षेत्रको ग्रामीण पर्यटन विकासको गुरु योजनाकारका रुपमा रही सोअनुसार कामलाई निरन्तरता दिने काम, आर्थर डाँडाखर्कमा अवस्थित पर्वत जिल्लाकै सबैभन्दा पुरानो बौद्ध गुम्बा संगम त्हेर्जे छ्यालिङ्ग गुम्बाको मर्मत संभार, पञ्चासेमा हेलिप्याडको निर्माणमा सहयोगी भूमिका, पञ्चासे वरपर खर्कटी र गोरेटोबाटोको चक्रपथ निमार्ण,मठमन्दिर, धर्मशाला तथा धरहरा निर्माणमा पनि सहयोगी भूमिका,रेनवाटर हार्भेस्टिङ्ग प्रविधिद्वारा पञ्चासेमा पानीको ब्यवस्था मिलाउने काम, पञ्चासे क्षेत्र विकास समितिको स्थापना र विकास कार्यलाई संस्थागत गर्र्ने काम,पञ्चासे संरक्षितवन मूल परिषदको नेतृत्व पछि सरकारी निकायसँग समन्वय गराउन पञ्चासेलाई पञ्चधामको रुपमा प्रवद्र्धन गर्ने, माछापुछ्र«े विकास संघसँगको सहकार्यमा कामहरु गर्ने, पञ्चकोशी मा.वि, वि.ब्य.स.को अध्यक्षमा रहेर विद्यालयको भौतिक र शैक्षिक उनन्न्यनमा योगदान, पारम्परिक पशुपोखरी र पानी मुहानलाई संरक्षण गर्ने उद्देश्यले करिब दुई दर्जन पोखरीको मर्मत संभार, ग्रामीण आयका लागि होम स्टेको अवधारणा प्रवद्र्धन र शुरुवात आदिमा योगदान रहेको छ ।

पुरस्कार एवं सम्मान

क) पञ्चासे संरक्षित वनको संरक्षण, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधताको सम्बद्र्धनमा विशेष योगदान पुर्‍याएको कारण नेपाल सरकारको वन विभागद्घारा २०७५ सालमा उहाँलाई कदरपत्रद्घारा सम्मान गरिएको थियो ।

ख) पञ्चासे क्षेत्रको चौतर्फि विकासमा स्थानीय समुदायलाई उत्प्रेरित गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग निरन्तर समन्वय गरी पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै माछापुच्छ्रे विकास संघद्घारा पञ्चासे संरक्षण पुरस्कार २०७६ बाट सम्मानीत हुनु भएको थियो ।

संघसंस्थासँगको आवद्धता

पछिल्लो समयमा संघसंस्थासँगको उहाँको आवद्धतालाई हेर्दा पञ्चासे संरक्षित वन मूल परिषद र पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष, नेपाल ग्रामीण पर्यटन महासंघका केन्द्रीय सदस्य, नेपाल पञ्चधाम पञ्चासेका उपाध्यक्ष एवं माछापुच्छ्रे विकास संघ, श्री पञ्चकोशी मा.वि. वि.व्य. स.,पञ्चासे क्षेत्र होमस्टे नेटवर्क, समुदाय वन उपभोक्ता समुह आर्थर, आर्थर डाँडाखर्क कोने परिवार, पोखरा आदिका सल्लाहकारका रुपमा रहनुभएको थियो ।

राम्रो मानिसको खाँचो भगवान्लाईसमेत हुन्छ भनेर भन्ने गरिन्छ । समाजसेवा बाहेक अरु केही विकल्प नदेख्ने गोपाल गुरुङ्गलाई दैवले अल्पायुमा हामी माझबाट चुँडालेर लग्यो । पछिल्लो केही समयदेखि उहाँ निकै अस्वस्थ रहँदै आउनु भएको थियो । पेटको रोगका कारण उहाँको आहार शाकाहारी र सदा हुने गर्दथ्यो । जस्तै स्वास्थ्यवस्था किन नहोस् समय अन्तराल हुनासाथै पञ्चासे बिहारमा हिँडी हाल्नु हुन्थ्यो । उहाँसंग संगत गर्ने हरेकले भन्ने गर्दथ्यो बाटोको खर्कटी मिलाउनेदेखि जो कोही सहजै छिर्न नसक्ने सिहंदरबारसम्म उहाँको राम्रो पहुँच थियो । पञ्चासेको विविध पक्षको संरक्षण गर्ने सवाल सँगसँगै सरकारी बजेटको सहज उपलब्ध गराउन पहल गर्नु हुन्थ्यो । यसरी निस्वर्थ भावले पहाड, गाउँ, भीर पखेरोमा रमाउँदै जाँदा उहाँ कहिलेदेखि पञ्चासे पिता र संरक्षणकर्मीको संज्ञाले चिनिन थाल्नु भयो उहाँ आफैलाई पत्तो भएन । काठमाण्डौको यात्रा उहाँका लागि रुटिन कार्य जस्तै थियो । त्यही मौकामा पेट सम्बन्धि चिकित्सकसंग नियमित परामर्श लिने गर्नु हुन्थ्यो । सबैकुरा सामान्य लागि रहँदा पनि पछिल्लो अवधिमा उहाँको स्वस्थ्यमा अलि बढी थकान र शिथिलता देखिन थालेको थियो जसलार्ई वास्ता नगरी पञ्चासेको सेवामा उहाँ अथक लागी नै रहनु भयो । वि. स. २०७३ साल जेठको महिना गोपाल गुरुङ्गको परिवार र उहाँसंग सम्बन्धित सम्पूर्ण माथि ठूलो बज्रपात भयो । पत्तो नदिई कालरुपी असाध्य रोग मल्टिपल माइलोमाले उहाँलाई छोएको घोषणा चिकित्सकले गरे । सारा संसार गतिहिन भएसरह भयो ।

आकाश कालो बादलले ढाकेजस्तो अनुभूति हुन थाल्यो । परिवारमा तनावको स्थिति सृजना भयो । हाँसि खुशीमा रहेको परिवारलाई दुखले बेर्न थाल्यो । सवैथोक छाडेर उपचारको खोजिमा परिवार लाग्न थाल्यो । डाँडाकाँडामा रमाउने गोपाल सुस्तरी सुस्तरी विस्तारा मुखी हुदै उठ्न नसक्ने अवस्थामा पुग्न भयो । जुनकुरा कसैले कल्पनासम्म गरेको थिएन । अब उहाँको बास पञ्चासेको सेरोफेरोबाट काठमाण्डौमा रहेको आप्mनै निवासको एउटा कोठामा सीमित हुन पुग्यो । उपचार विधि सारै महँगो थियो भन्नु हुन्छ उहाँलाई तीन वर्षसम्म हेरचाह र उपचारमा सहयोग पुर्‍याउनु भएका कान्छा बुबा पूर्व डि.एस. पी. नर बहादुर गुरुङ्ग । समाजसेवामा आप्mनो सारा जीवन समर्पण गर्नु भएका गोपाल गुरुङ्गले नाम र प्रतिष्ठा त धेरै कमाउनु भएको थियो तर अर्थोपार्जनमा भने पछाडि हुनुहुन्थ्यो । भयानक खाल्को रोग लागेपछि पनि उहाँलाई भेट्न जाने हरेकसंग निरासाको कुरा गर्नु हुन्नथ्यो । बरु पञ्चासे, पञ्चधाम र गाउँ बारे कुरा गर्न रुचाउनु हुन्थ्यो । उपचारको क्रम लम्बिदै गयो र उपचार खर्च पनि । यस दुखद समयमा परिवार र इष्टमित्रको बलियो साथ र सहयोग रह्यो । आज पनि धेरै यस्ता असाध्ये रोगबाट विज्ञान हारेको छ । यहाँ पनि चिकित्सा विज्ञानको हार भयो र अनेक प्रयासका बाबजुद पनि बोल्दा बोल्दैको गोपाल गुरुङ्ग अन्ततोगत्व हार स्वीकार गरेर सदामा लागि मौन हुनुभयो । साधारण मानिसको मृत्यु थिएन गोपाल गुरुङ्गको मृत्यु । धेरैको आशाको केन्द्र मरेको थियो, एउटा छोरा, पति, पिता र सिङ्गो पञ्चासेको संरक्षकको मृत्यु भएको थियो २०७६ श्रावण ९ .गते । शवयात्रामा उर्लिएको जनसागरलाई देख्दा लाग्थ्यो गोपाल गुरुङ्ग वास्तवमै धनी रहेछन ।

पञ्चासे सुनाखरी गोपाल स्मृति पार्कको निमार्ण

पर्वत, स्याङ्जा र कास्की गरी तीन जिल्लालाई छोएको २५१७ मि. अग्लो पञ्चासे डाँडा पर्यटकीय दृष्टिकोणले उत्कृष्ठ स्थल रहेको छ । त्यस वरपर रहेका ताल तलैया, मठ मन्दिर र धर्मशालाहरु धार्मिक र सांस्कृतिक महत्व बोकेका महत्वपूर्ण स्थलहरु हुन् । त्यसै गरी वरपरका वनजंगल र त्यसमा रहेका जैविक विविधता प्रदेशकै बहुमूल्य सम्पत्ति रहेको छ । राज्यद्वारा संरक्षित सुनाखरी फूलको १४३ प्रजाति यस क्षेत्रमा पाइन्छ भने २ प्रजाति केवल पञ्चासेमा मात्र पाइने विज्ञहरुको दावी रहेको छ । गोपाल गुरुङले सुनाखरी र त्यहाँ पाइने अन्य जैविक विविधताको संरक्षण र प्रवद्र्धन गरेर पञ्चासेलाई वनस्पति विज्ञानका विद्यार्थीहरुकोे शोधस्थलको रुपमा पनि विकास गर्ने सोच राखेको पाइन्छ । उनको अधुरो सपनालाई पुरा गर्न र मृत्युपोरान्त पनि गोपाल गुरुङलाई जीवन्त राख्नको लागि पञ्चासेसंग प्रत्यक्ष सरोकार राख्ने संघसंस्था र विशिष्ट ब्यक्तिहरुको सरसल्लाह र प्रयासबाट पञ्चासे टाकुरामा स्व. गोपाल गुरुङको शालिक र प्रदेश सरकारको सहयोगमा सुनाखरी पार्क निमाण गर्ने योजना रहे बमोजिम पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण उपभोक्ता समिति गठन गरी निमार्ण कार्य अघि बढी रहेकोे छ । संघिय प्रणालीमा हरेक प्रदेश आन्तरिक आयस्रोतमा अधिकतम आत्मनिर्भर हुन सकेमात्र प्रदेशको विकासले गति लिन सक्छ । निमार्णाधिन स्मृति पार्कले प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै जैविक संरक्षण र स्व. गोपाल गुरुङ प्रति सम्मान गरेको मान्न सकिन्छ ।

चिजकाजी गुरुङ
सचिव 
पञ्चासे सुनाखरी गोपाल स्मृति पार्क निर्माण उपभोक्ता समिति

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments

फेसबुक टिप्पणी गर्नुहोस | Facebook Comments