साल्मेडाडा खानेपानी उद्घाटन
साल्मेडाडालाई पर्यटकको गन्तव्य बनाउनेः मन्त्री लम्साल
हुम तमु
पोखरा, १६ चैत्र
स्याङ्जा जिल्ला, फेदिखोला गाउपालिका वडा नं. १ गोरखा स्मारक निर्माणस्थल साल्मेडाडा खानेपानी योजनाको उद्घाटन गरिएको छ।
नेपाल सरकारको सहयोग तथा गोर्खा स्मारक ट्रष्ट(नेपाल), गोर्खा हेरिटेज ट्रष्ट(बेलायत) र गोर्खा समाधि साल्मेडाँडा निर्माण समितिको अनुदानमा सम्पन्न साल्मेडाडा खानेपानी योजनाको प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको हो।
गोर्खा स्मारक ट्रष्टद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री लम्सालले खानेपानीको धारा खोल्दै सम्पन्न योजनाको उद्घाटन गर्नुभएको हो। उक्त अवसरमा मन्त्री लम्सालले प्रदेश सरकारको सिमित श्रोत र साधनबाट प्रदेश सरकारको ११० मध्येको पर्यटकीय स्थल गोरखा स्मारक निर्माण भईरहेको साल्मेडाडामा खानेपानीको आवाश्यकता महसुस गरी बजेट उपलब्ध गराएको बताउनुभयो। पर्यटकीय र गोरखासँगको लामो इतिहास जोडिएको पुण्यस्थल निर्माणमा सहज होस भनि प्रदेश सरकारले सहयोग गरेको उहाँको भनाई थियो। सबै मिलेर गोर्खा स्मारक निर्माण गर्दै साल्मेडाडालाई पर्यटकको गन्तव्य बनाउन जुट्न आग्रह गर्नुभयो। साल्मेडाडा गोर्खा हेरिटेज, कल्चर र नेचरको हिसाबले पर्यटकको आकर्षण केन्द्र बन्ने उहाँको दावी थियो। प्रदेश सरकारले गोर्खा स्मारक निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुहुदै उहाँले इतिहास र सँस्कृति मात्रै नभए लाखौ गोर्खाको भागनासँग जोडिएकोले आगामी दिनमा पनि केही न केही बजेट छुटाउने बताउनुभयो।
पुर्व माननीय प्राध्यापक डाक्टर गणेशमान गुरुङले साल्मेडाडामा निर्माणाधीन गोरखा स्मारक भुपूको मात्रै नभएर राज्यले पनि अभिभावकत्व दिनुपर्नेमा जोड दिनुभयो। यस अघि आफुले शहरी विकास मन्त्रालय मार्फट ५ करोड बजेट स्मारक निर्माणका लागि व्यवस्था गरिदिएको र गतवर्ष खानेपानी योजनाका लागि ५० लाख व्यवस्था गर्दा खानेपानीको करिब आधा रकम फ्रिज हुन पुग्दा दुख लागेको बताउनुभयो। गोर्खा भुपू, नेपालसरकार र संघ संस्था सबै मिलेर काम गरे साल्मेडाडा यस क्षेत्रकै गौरबको योजना पुरा हुने विश्वास व्यक्त गर्नुभयो।
फेदिखोला गाउपालिकाका अध्यक्ष धनश्याम सुवेदीले साल्मेडाडाको खानेपानी योजनाले गोर्खा स्मारक निर्माणका लागि साल्मेडाडा र दामगाडेबासीका लागि खानेपानीका लागि सुविधा भएको बताउनुभयो। उहाँले साल्मेडाडामा निर्माणाधीन गोर्खा स्मारक यस क्षेत्रकै गौरबको आयोजना भएकाले गाँउपालिकादेखि संघीय सरकार र सरोकारवाला गोर्खाहरुको सहकार्यमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले उक्त क्षेत्रका जनताका लागि कुबिण्डेदेखि मट्टिखानसम्म यसैवर्ष सडक कालोपत्रे बनाउन लागेको बताउनुभयो।
प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव विष्णु भण्डारीले साल्मेडाडामा निमार्णाधिन गोर्खा स्मारक नेपालका लागि अति नै महत्वपुर्ण योजना भएकाले सबैको सहयोगको जरुरी रहेको बताउनुभयो। साल्मेडाडाले विश्वभर गोर्खामा मात्रै नभएर नेपाली पहिचान दिलाउने उहाँको दावी थियो।
कार्यक्रममा गोर्खा स्मारक ट्रष्टका डा.चन्द्रबहादुर गुरुङले गोर्खा आन्दोलन, गेसोको भुमिका, साल्मेडाडामा निर्माणाधीन गोर्खा स्मारक योजना, खानेपानी योजना लगायत आगामी दिनमा गोर्खा स्मारक ट्रष्टका विविध योजनाका बारेमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा दोश्रो विश्वयुद्ध लडेका एक सय वर्षिय शताब्दी पुरुष क्या.कुलबहादुर गुरुङले गोर्खाको स्वाभिमान, विश्वयुद्ध लडाइको अनुभवका बारेमा मन्तव्य व्यक्त गर्नुहुदै गोर्खा स्मारक निर्माणका लागि सबैको सहयोगको आग्रह गर्नुभएको थियो।
गोर्खा स्मारक ट्रष्टका कार्यबाहक अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फेदिखोला गाउपालिका वडा नं. १ का सदस्य खरिकुमारी गुरुङले स्वागत र अबिलास गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए।
उद्घाटित साल्मेडाडा खानेपानी योजना ७७ लाख १२ हजार रुपैया लागतमा सम्पन्न भएको हो।करिब २ किमी तल रहेको साल्मे पँधेरोबाट लिफ्ट सिस्टमबाट २ वटा ट्याङ्की बनाइएको, साल्मे र दामगाडे गाँउमा २० वटा खानेपानी धाराको व्यवस्था गरिएको छ भने साल्मेडाडा गोरखा स्मारक परिसरमा १ वटा धारा राखिएको गोर्खा स्मारक साल्मेडाडा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर कामी थापाले जानकारी दिनुभयो।
यस अघि ५० लाख मध्ये ३१ लाख ६६ हजार ११५ रुपैयाबाट साल्मेडाडामा ७० हजार लिटरको पानीटंकी र पानीको श्रोत मुहानमा १८ हजार लिटरको रिजर्भवायर पानी टंकी निर्माण एवंम मुहान मर्मतमा केही खर्च भएको अध्यक्ष कामी थापाले बताउनुभयो।
साल्मेडाडामा हाल गोरखा स्मारकको पहिलो चरणको गोर्खा समाधि निर्माणका कार्यहरु क्रमिक रुपमा भईरहेको छ। गोर्खा समाधि पश्चात गोर्खा संग्रहालय, जातिय ग्राम, गोर्खा टावर र गोर्खा रेलको महत्वकांक्षी योजना रहेको छ। उक्त योजना सम्पन्न गर्नका लागि ब्रुनाई सरकारसँग प्रस्ताव गर्ने तयारी भई रहेको गोर्खा स्मारकका सचिव डा.चन्द्रबहादुर गुरुङले बताउनुभयो।