पोखरा- ‘प्रसिद्ध हुनुभन्दा इमान्दार हुनु जीवनको उत्तम गन्तव्य हो ।’ कुनै दार्शनिकको आदर्श वाक्य जस्तो यो हरफ सामाजिक अभियन्ता लक्ष्मी गुरुङको फेसबुक इन्ट्रोमा छ । आफ्नो फेसबुकको हरेक स्टाटसमा लक्ष्मीको सुरुवात हुन्छ, ‘कोरोना महामारीबाट हामी सबै मुक्त हुन सकौं यही कामना तर सुरक्षित बसौं, सामाजिक दूरी कायम गरौं ।’
आफूले गरेको काम र योगदानलाई मिडियामा बिस्कुन सुकाए झैं छरपस्ट पार्नु उनका लागि मान्य छैन् । उनी भन्छिन्, ‘ख्याति, प्रसिद्धी र चर्चाभन्दा माथि उठेर समाजसेवा गर्नुको मर्म फरक छ ।’
महामारीका बेला राहतको मलम बोकेर हिड्नु उनका लागि कठिन त छ, तर यसैमा सन्तुष्ट पनि छिन् । चुलोचौका र साँचोको झुप्पोले उनलाई अलमल पारेको छैन् । ‘खानु र लाउनु मात्रै जीवनको सार होइन, आफूसँग भएको अरूलाई बाँडेर खान सक्नुपर्छ, धन थुपारेर मात्रै के गर्नु, मनमा सेवाको भावना थुपार्नु सक्नुपर्छ ।’ भन्ने मान्तयतामा लक्ष्मी राहत चाहिनेहरू कै दैलोमा पुगेकी छन् ।
पहिलो चरणको राहतपश्चात् उनको माग समुदायमा ह्वात्तै बढ्यो । वृद्धा, सुत्केरी, अपाङ्ग र दैनिक ज्याला मजदुरी गरी खानेको जीवन लकडाउनले कष्टकर हुँदै जाँदा रासन खाँचो पुरा गर्न दोस्रो चरणको राहत सङ्कलन अभियानलाई निरन्तरता दिइरहेकी छन् ।
आफ्नै पहलमा राहत वितरण सुरु गरेकी उनलाई परदेशमा रहेका आफन्ती मन, सहयोगी प्रियजनले होस्टेमा हैँसे थपे । घरदेशको दुःखलाई उताकाले सहयोग गरे । राहत सङ्कलनमा सहयोग गर्ने दातालाई उनले फेसबुकबाटै आभार र धन्यवाद ज्ञापन पनि गर्छिन् । उनीहरूको तस्विर नै राखेर अन्यलाई समेत सहयोग गर्न हुट्हुटी प्रदान गर्छिन् ।
सहयोगी मनलाई उनले सुस्वाथ्य, दीर्घायु, र प्रगतिको कामना गर्न पनि छुटाउँदिनन् । राहतको रकमलाई पारदर्शी गर्नु उनको अभियानमा सुशासन छ भन्ने प्रत्याभूति हो । पारदर्शीताले विरोधका बतासलाई छेकेको छ । हजार दिनेलाई लाखको नमन गर्न उनी छुटाउँदिनन् ।
पीडितका नाममा राहत थुपार्नेलाई उनी घृणाले थुक्छिन् । सङ्कटको बेला दुखीको नाम भजाएर घरको सटरमा राहत थुपार्ने महामानवलाई पीडितको श्राप लाग्नेछ त्यस्तालाई उनी पापी र दैत्यको संज्ञा दिन्छिन् । बुद्धजयन्तीका दिन त्यसरी राहत लिन आउनेलाई उनले हकारेर पठाइन । कोरोना भाइरसको जगजगीमा जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी साथै सञ्चारकर्मीलाई सम्मान दिन पनि उनी पछि परेकी छैनन् ।
सरकारी राहतमा वितरणमा रमिता र खैलाबैला भईरहेको बेला लक्ष्मीको प्रभावकारी कामका कारण महानगरपालिकाले उनलाई खोज्यो । महानगर र वडा कार्यालय नपुगेका ठाउँमा उनी पुगेकी छन् । पोखराको लेकसाइड जरेवरमा कोपिला नेपालको आश्रममा रहेका मानसिक असन्तुलन, विक्षिप्त भएका, अपाङ्ग, सडकबालबालिका र सामाजिक तिरस्कारमा परेकालाई महानगरको सहजीकरणमा राहत पु-याउन तल्लिन रहिन् । वडा नं. १२ मा १४ परिवारको चुल्हो निभेको खबर पाउनसाथ लक्ष्मीका पाइला ३० बोरा चामल, मरमसला, तेल र सावुनसहित आवश्यक सामाग्री लिएर पुगे ।
{vsig}photos/laxmi-gurung/{/vsig}
कास्कीको मादी गाउँपालिका १ सिक्लेस स्थित कोङ्गीथरको सम्पन्न परिवारमा जन्मिएकी लक्ष्मी समाजसेवाको बगैंचामा हुर्किएकी हुन् । सिक्लेसको गुरुङ गाउँमा धान फल्ने प्रशस्त खेतबारी थियो । उनले वाल्यकालदेखि नै दिनेखाने मनको दैलो खोलेकी हुन् । घरकी एक्ली नातिनी आफ्ना दौँतरी र सँगीसाथीहरूलाई घरमा ल्याएर खुवाउनु उनको रुचि थियो ।
आफ्नी बज्यैले घरमा आउनेलाई केही दिनु भन्दा दोब्बर दिनु उनको आदत थियो । समाजसेवामा नै किन दिल दिनु भयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘सहयोगी भावना मेरो जिनमा रहेछ, परोपकारी काम नसाको रगतमा बगेको छ ।’
पचासको दशकदेखि शिक्षण पेशा अँगालेर ज्ञान बाँडेकी लक्ष्मीले आफूजस्तै अरू तीनजना महिला साथीको पहलमा पोखराको पूmलवारीमा कञ्चनजङ्गा बोर्डिङ स्कुल स्थापना गरेपछि महिलाहरूले खोलेको पहिलो स्कुलको जस पनि पाएकी छन् ।
उनी भन्छिन्, ‘जीवन सधैं सरल रेखामा नहिंड्ने रहेछ, विदेश भासिनु रहर थिएन वाध्यता भएर आयो ।’ ३५ वर्षको उमेरमा उनी सन् २००८ मा नर्वेको ओस्लो पुगिन् । त्यहाँ रहँदा पनि उनलाई समाजसेवाको रन्कोले छोडेन ।
एनआएनएमा आवद्ध भएर त्यहाँका नेपाली समुदायलाई सक्दो सहयोग गरिन् । आधिरातमा सूर्य देखिने देशका नाममा परिचित नर्वेमा हुँदा एक साँझ उनलाई आफ्नै देश फर्कने हुट्हुटी जाग्यो । ‘नर्वेजीयन क्रोन’ले गर्जो त टार्न सक्थ्यो तर सन्तोष दिएन । उनले खोजेको सन्तुष्टी समाजसेवामा थियो ।
ओस्लोमा उनले गड्वाली पण्डित भेटिन् जहाँ खाना दान गरिन्थ्यो । कुकको काम गर्ने लक्ष्मीले ३ सय जनालाई हरेक दिन खाना खुवाउँथिन् । दुःखमा परेका आफ्ना नेपाली दाजुभाई दिदीबहिनीलाई खाना पु-याउने उनको दैनिकी थियो । ओस्लोमा दरखाने कार्यक्रम आयोजना गरेर १ सय ५० जना जुटाउनु मात्रै ठूलो कुरा थिएन । आफन्ती मनलाई सहयोग गर्नु उनको कर्म थियो ।
ओस्लोमा हुँदा नै उनले रेडक्रसमा पुगेर निःशुल्क कानको उपचार गरिन् जहाँबाट उनले दान गर्नुपर्छ भन्ने ज्ञान ग्रहण गरिन् । श्रमको महत्व र समयको व्यवस्थापन नर्वेले उनलाई दिएको उपहार हो । ग्रिनकार्ड त्यागेर ६ वर्षपछि उनी सन् २०१४ मा घरदेश आइन् ।
लक्ष्मी भन्छिन्, ‘धनले, मायाले र शरीरले छोपेर मात्रै मान्छे आफ्नो हुँदैन् । असहाय र पीडितको दर्द महसुस गर्नु नै मानवीय भाव हो ।’ उनी आफ्ना जीवनका दुःख अरूलाई सुनाउन चाहन्नन् । अरूका दुःख सुनेर समाधान गरी आफ्नो पीडा भुल्न चाहन्छिन् । उनको अर्को विशेषता छ, आफूले गरेको सहयोगलाई उनी हल्लाखल्ला गर्न चाहन्नन् । गोरखाका मृगौला पीडित कमल गुरुङलाई गरेको सहयोग होस् या नहरमा खसेर मरेकी फुपू हुन् चुपचाप उनी सहयोगमा जुट्छिन् ।
अपाङ्गहरूलाई पैसा जोहो गर्नेदेखि उपचारका लागि रकम जुटाउनु उनको दैनिकी हो । चितवनका भरत गुरङलाई ८ लाख, थाककी मनिषा गुरुङलाई ६ लाख रकम सहयोग गर्दासम्म गणितले करोड छुन लागेको छ तर यसलाई उनी विगतको काम मान्छिन् । यो उनको स्वतःस्फुर्त अभियान हो । उनी भन्छिन् ‘समस्या बोक्ने होइन समाधान गर्ने हो । मरिजाने जिन्दगीमा आखिर रित्तै जाने हो । ’
२०७२ सालको भूकम्प पीडितलाई उनले एकल प्रयासमा मनग्य सहयोग गरिन् । गोरखाका ८ ओटा विद्यालयको छानो फेर्ने, बारपाक, लारपाकमा खाद्यान्न दिने लगायत धादिङ् हुँदै सिन्धुपाल्चोकसम्म उनी स्वयम् राहत बोकेर पुगिन् । लक्ष्मी पोखरा आसपासमा मात्रै होइन दुर्गममा पनि पुगेकी छन् । विकट ठाउँका बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुगोस भनेर मन फराकिलो बनाउँदै गएकी छिन् । उनले कामै नगरी नाम खोज्नेलाई तुरुन्तै चिनिहाल्छिन् । चुरीफुरी र तामझाम उनी स्वयम्लाई मन पर्दैन ।
लकडाउनको सास्ती खेपेका भुईंमान्छेको पीडा सुन्नसाथ उनका पाइला सहयोगका लागि अगाडि बढिहाल्छन् । उनी ज्यालामजदुरी गरि खानेको चिसो चुल्होमा आगो सल्काउन राहतको प्याकेज बोकेर घरमै पुगिन् । नानी कमला गुरुङ र मनु गुरुङसँग सहकार्य गरिन् ।
आफ्नो थैलीबाट नगद १ लाख झिकिन् र आफन्तीमनको सहयोग ६१ हजार जुटाएपछि उनीसँग १ लाख ६१ हजार रुपैंया भयो । यो रकमले उनी प्रति परिवार २५ किलोे चामलको बोरा र अन्य आवश्यक सामान सहित १ सय परिवारका दैलोमा पुगिन् । दीर्घरोगीलाई ओखतीका लागि नगद दिनु उनको अर्को महानता हो ।
नातागोता, इष्टमित्र, सञ्जिवनी दिदीबहिनी समूह र आमा समूहलाई आह्वान गर्दै दोस्रो चरणको राहत प्याकेजका लागि उनले ५ लाख ५५ हजार २ सय ३१ रुपैयाँ सङ्कलन गरिन् । राहत नपुगेको ठाउँमा उनी पुगिन् त्यसका लागि महानगरपालिकाले सहजीकरण गरिदियो । दोस्रो चरणमा उनले १ सय ५० बोरा चामल र खाद्यान्न वितरण गरिसकेकी छिन् ।
आवश्यकताको पहिचान गरेर मात्रै उनले राहत घरघरसम्म पु-याएकी छिन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपाचार गराइरहेका विरामीको बेडमै पुगेर उनको समूहले सुत्केरी, एचआईभी सङ्क्रमित, दूर्घटनामा परेकालाई जनही १०/१० हजार नगद दिएर मल्हम लगाइदिएको छ ।
राहत वितरणमा उनी आफ्नो वडा फूलबारी ११ मा मात्रै सीमित नरही मानव सेवा आश्रम, कोपिला समूह, लेखनाथको गन्धर्ववस्ती र महानगरभित्रका सबै वडामा पुगेकी छन् । वडाले सरकारी राहत प्याकेजमा दिएको छ तर नागरिकता नहुने, फोन घुमाउन नजान्ने राहत वितरण भएको थाहा नपाउनेलाई लक्ष्मीले सरकारी होइन ‘मनकारी राहत प्याकेज’ उपलब्ध गराएकी छिन् । उनले फोनमा घण्टी बज्नासाथ घरमै राहत पु-याउने चाँजोपाँजो मिलाएकी छन् ।
सादा र सरल शैलीकी लक्ष्मी भन्छिन्, ‘सेवा गर्छु भन्ने इच्छाशक्ति भयो भने केही कुराले पनि भाँजो हाल्न सक्दैन, मनमा आयो भने काममा कठिनाइ हुँदैन् ।’ महानगरको नामलिस्ट अनुसार राहत वितरण गर्दा सटरभित्र बोराका बोरा चामल लुकाएर राख्ने भेटेपछि उनले फर्जीलाई फकाईदिएकी छिन् ।
लक्ष्मी राहत वितरणको प्रदर्शनभन्दा माथि उठेकी छन् र भन्छिन्, ‘राहत वितरण राजनीतिक पार्टीलाई सहयोग गरेजस्तो हुँदा शक्ति प्रदर्शनको भान भयो, फोटो खिचाउने परिपाटीले अर्को आतङ्क सिर्जना भयो । त्यसैले सञ्चार माध्यम र चर्चाभन्दा माथि उठेर हामीले निरन्तर राहत बाँडिरहेका छौं ।’ ParichayaNetwork