विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको नतिजा सहित दक्षिण कोरियामा भव्य रुपमा तमू ल्होसार मनाईयो
१९, पौष २०७८ | बोम्जन गुरुङ, सउल कोरिया । विगतको वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि सउलस्थित नाम्यङ्ग सागरीमा रहेको नेपाली चुल्हो रेष्टुरेन्टमा यस वर्षको तमू ल्होसार मनाईएको छ । तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भाषा, भेषभूषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित ल्वों ल्हो (गाई वर्ग) लाई विदाई र तो ल्हो (बाघ वर्ग) लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, मातृभाषाको कविता वाचन तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि उक्त ल्होसार सम्पन्न भएको हो ।
‘प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु’ अर्थात् ‘शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।’ भन्ने तमू (गुरुङ) समुदायको विश्वब्यापी नारालाई तमु धीं दक्षिण कोरियाले आत्मासाथ गर्दै आईरहेको छ । संस्थाका केन्द्रीय अध्यक्ष लेसन तमूको सभापतित्व र तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाण्डौका अध्यक्ष रेशम तमूको प्रमुख आतिथ्यतामा सो ल्होसार मनाईएको हो ।
सो कार्यक्रममा विशेष अतिथिको रुपमा तमू धीं नेपालका अध्यक्ष हुम बहादुर तमू, नेपाली राजदूतावास सउल कोरियाका श्रम सहचारी रमा भट्टराई, बौद्ध अर्घौ सदन पोखराका अध्यक्ष भुवनसिं तमू र सोही सदनका लामा प्रमुख खेन्पो शिर लामा तमू, प्ये ल्हु संघ नेपालका पच्यु चिवा ठौ बहादुर तमू, कवि तथा साहित्यकार तेज बहादुर च्हाक्ली तमू, तमू धीं ख्यसाङ्नाम्दो बुसान शाखाका अध्यक्ष कर्ण तमू, तमू धीं थेगु शाखाका अध्यक्ष गणेश तमू, तमू धीं जेजुदो शाखाका अध्यक्ष निरु तमू र अतिथिको रुपमा कोरियामा स्थित विभिन्न संघ संस्थाका अध्यक्षहरु, प्रवास शाखाका अध्यक्षहरु उपस्थित रहेका थिए ।
ल्होसारकै अवसर पारेर तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा आयोजित विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगितामा प्रतियोगी नं. १ तमू फ्रे छमी धीं (सोरठी नृत्य) स्याङ्जा वालिङले प्रथम स्थान, प्रतियोगी नं. ३ सिर्सेकोट समाज (घाँटु नृत्य) स्याङ्जाले द्वित्तीय स्थान र प्रतियोगी नं. १० पसगाउँ लमजुङले तृतीय स्थान हासिल गर्दै ट्रफी र प्रमाण पत्र सहित क्रमशः नगद पचास हजार, तीस हजार र पन्ध्र हजार प्राप्त गरे भने उत्कृष्ट भेषभूषाको रुपमा प्रतियोगी नं. ४ पैंयुखोला तमू समाज काजीपोखरी १४, कास्की पोखराका समूहले ट्रफी र प्रमाण पत्र सहित नगद दश हजार प्राप्त गरे । प्रतियोगितामा एकल वा सामूहिक रुपमा जम्मा १८ प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।
नेपालबाट जूम भर्चूअल मार्फत जोडिएर चर्चितद्धय गायिका ममता तमू र तिलक तमूले गीत प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए भने दक्षिण कोरियामा रहेका कलाकार लिलु तमूले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरिन् । संस्थाका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रुपा तमूको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव सन्तोष तमूले कार्यक्रम सञ्चालन गरेका थिए । तमू धीं दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसारलाई सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष र जूम भर्चुअल मार्फत जोडिएर सहयोग गरिदिनुहुने उपस्थित समस्त महानुभावहरुलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।