पोखरा, २४ असोज ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यसमिति अन्तर्गतको लोक संगीत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारणसभाबाट प्रतिष्ठानका पुर्व केन्द्रीय अध्यक्ष, लोक दोहोरी गायक एवं सर्जक चन्द्र शर्मा अध्यक्षमा निर्वाचित भएका छन् । आज मिति २०७७ असोज २४ गते सहकारीको कार्यालय तिलिङ्गाटार, काठमाडौंमा सम्पन्न प्रारम्भिक साधारणसभामा शर्मा सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । सहकारीको उपाध्यक्षमा निवर्तमान अध्यक्ष बद्री पंगेनी, सचिवमा वर्तमान अध्यक्ष रमेश बिजी, कोषाध्यक्षमा जनक प्रसाद श्रेष्ठ निर्वाचित भएका छन् भने सदस्यहरुमा अन्जन श्रेष्ठ, ध्रुव पोखरेल, भिम कुमार राना, सुवास केसी र मिना बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी सहकारी अन्तर्गतको लेखा समितिको संयोजकमा सुबास रेग्मी चयन भएका छन् भने सदस्यहरुमा राजन भुजेल र अजय थापा चयन भएका छन् । ऋण उप-समितिको संयोजकमा अन्जन श्रेष्ठ र सदस्यहरुमा पुरुषोत्तम थापा र रमेश लम्साल चयन भएका छन भने सदस्यता बिस्तार समन्वय समितिमा संयोजक दिपक खड्का र सदस्यहरुमा सुजन लम्साल र भिमसेन खतिवडा रहेका छन् ।
यसअघि लोक संगीत बहुउद्देश्यीय सहकारी संस्था लि., तदर्थ समितिका अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा भएको साधारणसभामा सहकारीको हालसम्मको प्रगति प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरी पारित गरिएको थियो ।