रोधीको दोश्रो भाग पैयुँखोलाले सम्पन्न गरे
असोज ५, पोखरा । मुनाल फिल्मस प्रा.लि.पोखराद्वारा आयोजित गीत/संगीतको मनोरञ्जनात्मक कार्यक्रम गुरुङ समुदाय भित्रको ज्ञान, सीप, गीत/संगीतको संगम स्थल “रोधी” को दोश्रो चरणको प्रस्तुति आज २०७७ असोज ५ गते पोखराको गैर्हापाटन स्थित गन्धर्व नाटक घरको स्टुडियोमा पैयुँखोला तमु समाज पोखराको प्रस्तुति सम्पन्न भएको छ ।
गण्डकी प्रदेश अन्तरगतका विभिन्न गाउँ बस्तीहरुको मौलिक गीत/संगीतहरुको संरक्षण एक सम्बर्द्धन गर्ने अभिप्रायले संचालित रोधीले आज पर्वत जिल्लाको दक्षिणी भेक पैयुँखोला सेरोफेरोमा पर्ने विभिन्न गाउँ बस्तीहरुमा गुन्जने रैथाने मौलिक ठेटर गीत, सालै जो, ठाडो भाकाहरु र ढिलो भाकाहरुलाई श्रव्य दृश्य मार्फत छायांकन गरिएको हो।यसरी छायांकन गरिएका ती लोक भाकाहरुलाई पोखराबाट प्रसारण गरिने रोधी डिजिटल टेलिभिजनको च्यानल मार्फत र स्ट्रीम नेपालको युट्युब च्यानल मार्फत प्रसारण गरिने कुरा रोधी कार्यक्रमका संयोजक एवं मुनाल फिल्मस प्रा.लि.पोखराका निर्देशक भोज गुरुङले बताउनु भएको छ ।
प्राचीन कालमा रोधी बसाईको प्रचलन अनुसार रोसे बा र रोसे आमाको भुमिका बारे स्मरण गर्दै आयोजकले आज पैयुँखोला तमु समाज पोखराका अध्यक्ष बल बहादुर कोने तमु र उहाँकै धर्मपत्नी कुमारी टु/कोने तमुलाई रोधी बसाईको प्रमुख व्यक्तित्वको रुपमा आसन गराएका छन ।यसैगरी आजको रोधी बसाईमा पुरुष गायन तर्फ कुमार तमु, सु.रत्न बहादुर तमु, ह.ले.प्रकाश तमु र सु.मन प्रसाद तमु रहेका छन त्यसैगरी महिला गायन तर्फ चनमाया तमु, निरु तमु, शिरमाया तमु, मनमती तमु र प्रेम कुमारी तमु रहेका छन भने नृत्य तर्फ बेल बहादुर तमु, लालमाया तमु, कुमारी तमु, मिलन तमु, रेनु तमु, सुकु तमु र पार्वती तमु रहेका छन ।
अत्यन्तै भब्य र सभ्य रुपमा सम्पन्न भएको यस रोधी कार्यक्रमको परिकल्पनाकार भोज बहादुर गुरुङ रहेको छ भने व्यवस्थापकमा चुनि माया गुरुङ रहेको छ । यसैगरी छायांकनमा खिम गुरुङ, भगत गुरुङ, टेक मान गुरुङ र केश गुरुङ रहेका छन भने साउण्डमा ओम प्रकाश गुरुङ र लाइटमा अमृत गुरुङ रहेका छन । यसरी सम्पन्न भएको उक्त रोधी कार्यक्रमलाई मुनाल फिल्मसका सञ्चालक बालकाशी गुरुङले सञ्चालन गर्दै आउनु भएको छ ।